बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन सबै राजनीतिक दलले आँट गर्नुपर्छ : अर्थशास्त्री थापा

नेपाली अर्थतन्त्रलाई केन्द्रमा राखेर विश्व अर्थतन्त्रमा जोड्न सक्ने दलका घोषणापत्र आउनुपर्छ
आइतबार, १८ माघ २०८२, ११ : २९
आइतबार, १८ माघ २०८२

सारांश

  • अर्थशास्त्री नरबहादुर थापाले दलहरूलाई घोषणापत्रमा नेपाली अर्थतन्त्रलाई केन्द्रमा राख्न आग्रह गरे।
  • उनले युवा विद्रोहलाई ध्यान दिँदै आर्थिक सुधार र प्रविधिको विकासलाई घोषणापत्रमा समावेश गर्नुपर्ने बताए।
  • थापाले कृषिमा लगानी भित्र्याउन र निजी क्षेत्रमैत्री ऐन बनाउनुपर्नेमा जोड दिए, साथै व्यापार घाटा कम गर्नुपर्ने बताए।

काठमाडौँ । अर्थशास्त्री नरबहादुर थापाले दलहरूले घोषणापत्र तयार गर्दा नेपाली अर्थतन्त्रलाई केन्द्रमा राख्नुपर्ने  बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौँमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै थापाले अबको युग सुहाउँदो र यथार्थतालाई केन्द्रमा राखेर घोषणापत्र तयार गर्नुपर्ने बताएका हुन् ।  

पछिल्लो समय नव युवाहरूले गरेको विद्रोहलाई ख्याल गर्नुपर्ने उनको भनाइ छ । दोस्रो पुस्ताको आर्थिक सुधारलाई घोषणा पत्रमा आत्मसाथ गर्नुपर्ने र अर्थतन्त्रका मुद्दा के–के हुन् ? यी कुरालाई स्पष्ट पार्नुपर्ने उनले बताए ।

‘यो पटकको निर्वाचनमा आर्थिक सुशासनको मुद्दाले प्राथमिकता पाएको स्थिति छ । प्रविधि क्षेत्रमा भइरहेको क्रान्ति, विश्व अर्थतन्त्रमा देखिएको परिवर्तन र जलवायु परिवर्तनका कारणले पनि प्रभाव पारेको छ । दलले घोषणापत्रमा यी सबै कुरा समेट्नुपर्नेछ,’ थापाले भने । 

दलहरूले जनताका चाहानालाई चुनौतीकै बिचमा समेट्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको पनि उनले बताए । 

कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउने एजेन्डा सबै दलले आट गरेर राख्नुपर्ने थापाले बताए । कृषि उत्पादन विश्व बजारमा पुर्‍याउन सके निजी क्षेत्रको विकास हुने उनको भनाइ छ । ऐन नियमहरू निजी क्षेत्रमैत्री हुनुपर्ने पनि उनले बताए । 

यसअघि दलहरूले घोषणा पत्रमा समेटेका बुँदाहरू पुरा भए पनि सन्तुष्ट हुनुपर्ने ठाउँ नरहेको उनले बताए । ‘सामाजिक सुरक्षा भत्ता, जलविद्युत क्षेत्र, स्वास्थ्य, शिक्षा लगायत क्षेत्रमा दलका घोषणापत्रमा राख्ने गरेका छन् । उनीहरूले राखेका लक्ष्य कतिपय पुरा पनि भएका छन् । तर,  असन्तुष्ट हुने धेरै ठाउँ छैन,’ उनले भने, ‘घोषणापत्रका बाचा यथार्थमा आधारित नहुनु, छोटो समयका लागि मात्र राज्य सत्तामा बस्न पाउनु लगायत कुराले उनीहरूका घोषणापत्रमा लेखिएका कुरा कार्यान्वयन नभएका हुन ।’ 

नेपालको अर्थतन्त्रको आकार सानो रहेको भन्दै यसलाई बढाउनुपर्ने बताए । रोजगारी सृजनाबिना अर्थतन्त्र सकारात्मक हुने भन्दै यसमा सबैले जोड दिनुपर्ने बताए । जीडीपीमा पुँजीनिर्माण अनुपात घटेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । ‘जीडीपीमा पुँजीनिर्माण अनुपात घट्दो क्रममा छ । जीडीपीमा निजी क्षेत्रको योगदान ६२ प्रतिशत मात्र छ । कुनै समय ८० प्रतिशतसम्म थियो । तर, अहिले घटिरहेको छ । किन यो देशमा निजी क्षेत्रले लगानी गरिरहेको छैन । दलहरूले यो कुरा स्पष्ट रूपमा राख्नुपर्छ,’ थापाले भने । 

वित्तीय क्षेत्रका मुद्दा दलका घोषणा पत्रमा समेटिनुपर्ने पनि उनको भनाइ छ । वित्तीय क्षेत्र अहिले भीमकाय अवस्थामा रहेको भन्दै यो कुरा समयमै सोच्न सकिएन भने अर्थतन्त्रमा ठुलो समस्या आइलाग्ने उनले बताए ।  

२५ प्रतिशत व्यापारघाटा यो देशले लामो समय थेग्न नसक्ने भन्दै विश्व अर्थतन्त्रलाई नेपाली अर्थतन्त्रसँग समेट्ने योजना छुट्न नहुने पनि उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप