धनुषा ४ मा एमाले र कांग्रेसका सदाबहार प्रतिस्पर्धीका बिचमा ‘बालेन फ्याक्टर’ले कस्तो पार्ला प्रभाव ?
सारांश
- धनुषा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेस र एमालेले पुरानै उम्मेदवार दोहोर्याएका छन्।
- राष्ट्रिय स्वतन्त्र पार्टीको बढ्दो प्रभाव र 'बालेन फ्याक्टर'ले निर्वाचनमा कस्तो प्रभाव पार्ला भन्ने चासो बढेको छ।
- अघिल्ला निर्वाचनमा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा देखिए पनि यसपटक अन्य दलको पनि प्रतिस्पर्धा छ।
जनकपुरधाम । प्रतिनिधि सभाको आसन्न निर्वाचनमा धनुषा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेस र नेकपा एमालेले साविककै उम्मेदवारलाई मौका दिएका छन् । एमालेले रघुवीर महासेठ र नेपाली कांग्रेससले महेन्द्र यादवलाई उम्मेदवार बनाएको हो । यी दुई जना यस क्षेत्रका सदाबहार प्रतिस्पर्धीका रूपमा चिनिन्छन् ।
एमालेबाट उम्मेदवार बनेका महासेठ पार्टीका उपमहासचिव हुन् भने कांग्रेसबाट उम्मेदवार बनेका यादव पूर्व सहमहामन्त्री हुन् । यी दुई उम्मेदवार यस क्षेत्रमा ०७४ को निर्वाचनदेखि नै आमने–सामने हुँदै आएका छन् । यी दुई जना तेस्रो पटक आमने–सामने हुँदैछन् ।
०७४ को निर्वाचनमा यस क्षेत्रबाट एमालेका रघुवीर महासेठ २२ हजार ५३२ मतसहित निर्वाचित हुँदा कांग्रेसका महेन्द्र यादव १९ हजार ९९१ मतसहित दोस्रो स्थानमा रहे । ०७९ को निर्वाचनमा पनि यस क्षेत्रबाट एमालेका महासेठ नै झिनो मतान्तरले निर्वाचित भए । उनले ३२ हजार २३६ मत पाउँदा कांग्रेसका यादवले ३२ हजार ११२ मत पाए ।
यस आधारमा पनि यो क्षेत्रमा एमाले र कांग्रेसबिच नै मुख्य प्रतिस्पर्धा हुँदै आएको देखिन्छ । तर आसन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको बढ्दो लहरले धनुषा–४ मा कस्तो प्रभाव पार्ला भन्नेबारे चासो बढेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेर चुनाव अभियानलाई अघि बढाएको छ । बालेन मधेसकै छोरा भएको र धनुषाकै छिमेकी जिल्ला महोत्तरी उनको पुर्ख्यौली थलो रहेका कारण मधेसमा ‘बालेन फ्याक्टर’ले कति प्रभाव पार्छ भन्ने हेर्न बाँकी नै छ ।
यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजकिशोर महतो उम्मेदवार छन् । यस्तै, नेपाली कम्युनिस्ट पार्टीबाट इन्जिनियर सञ्जयकुमार महतो, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट इन्जिनियर डा. कृष्णचन्द्र साह उम्मेदवार छन् । धनुषा क्षेत्र नं. ४ मा विभिन्न राजनीतिक दलका तर्फबाट १२ जना र स्वतन्त्र २५ जना गरी जम्मा ३७ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिँदै छन् ।
अघिल्ला दुई संसदीय निर्वाचनको परिणाम हेर्दा एमालेका महासेठ धनुषा क्षेत्र नम्बर ४ का बलिया उम्मेदवारका रूपमा देखिन्छन् । एमाले उपमहासचिव महासेठ पटक–पटक मन्त्री भइसकेका छन् । उनी आफ्नो क्षेत्रमा पार्टीका नेता–कार्यकर्तालाई एकताबद्ध गर्न सक्ने नेताका रूपमा चिनिन्छन् ।
महासेठको संसदीय राजनीतिक यात्रा २०६५ सालको उपनिर्वाचनबाट सुरु भएको हो । डा. रामवरण यादव राष्ट्रपति बनेपछि भएको संविधान सभा उपनिर्वाचनमा उनी धनुषा क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका थिए । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा भने उनी राष्ट्रपति पुत्र चन्द्रमोहन यादवसँग पराजित भए । त्यसपछि २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा लगातार जित हात पार्दै आएका उनी यसपटक पनि मुख्य प्रतिस्पर्धीका रूपमा चुनावी मैदानमा छन् ।
धनुषा–४ का मतदाता राकेश झाका अनुसार एमालेका अध्यक्ष केपी शर्मा ओली र अन्य नेताले मधेसप्रति हालै गरेको टिप्पणीका कारण मधेसमा एमालेको छवि कमजोर हुँदै गएको छ । ‘रघुवीरजीले केही काम त गर्नुभएको छ, तर एमालेका शीर्ष नेताहरूले मधेसी समुदायप्रति देखाउने व्यवहार र अभिव्यक्तिले चित्त दुखाएको छ,’ उनले भने, ‘यसले एमालेको मतमा क्षति हुन सक्छ ।’
बटेश्वर–५, शान्तिपुर निवासी सुनिल साहले लगातार दुई पटक यस क्षेत्रबाट जितेर पनि विकास निर्माण र शिक्षा तथा स्वास्थ्यजस्ता आधारभूत कुरामा सुधार गर्न नसकेका कारण जनतामा निराशा देखिएको बताए । ‘चुनावी बाचाअनुसार शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा सन्तोषजनक काम भएको छैन,’ उनले भने ।
यता नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादव पनि मतदाता रिझाउन सक्रिय छन् । यसअघि दुई पटक यही क्षेत्रबाट पराजित भएका उनी यस पटक मतदाताको विश्वास जित्न प्रयासरत देखिएका छन् । यद्यपि, कांग्रेसभित्रको गुटबन्दी छिचोलेर सिङ्गो पार्टी र कार्यकर्ताको साथ जुटाउन उनका सामु चुनौती छन् ।
मधेसका जिल्लाहरूमा संगठन कमजोर भए पनि राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै मधेसको जनमत तान्ने रणनीति बनाएको छ । सो पार्टीका उम्मेदवार राजकिशोर महतो २०७४ सालमा तत्कालीन संघीय समाजवादी फोरमबाट प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका थिए । उनी धनुषा–४ (२) बाट प्रदेश सभा निर्वाचनमा दोस्रो स्थानमा सीमित रहेका थिए । यसपटक उनी फरक राजनीतिक पहिचानसहित राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावी मैदानमा छन् ।
माघ ५ गते बलिदान दिवसको अवसरमा जनकपुरधाममा आयोजित परिवर्तन उदघोष सभामा बालेन शाहको उपस्थिति र मैथिली भाषामा उनको सन्तुलित भाषणपछि रास्वपाप्रति आकर्षण बढेको देखिन्छ । यद्यपि मतदान गर्ने दिनसम्म त्यो आकर्षण कायम रहेर मतमा कति रूपान्तरण हुन्छ भन्ने प्रश्न अनुत्तरित नै छ ।
मधेसमा पार्टीभन्दा पनि रास्वपाको ‘बालेन फ्याक्टर’ हाबी भएको देखिएको छ । विशेषगरी जेनजी उमेर समूहका युवाहरू रास्वपाप्रति आकर्षित छन्, तर मधेसमा देखिने चुनावी माहोल र अन्तिम नतिजाबिच प्रायः फरक पर्ने गरेको अनुभव पनि छ ।
धनुषा–४ मा जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट इन्जिनियर कृष्णचन्द्र साह उम्मेदवार छन् । उनले २०७९ सालको निर्वाचनमा नेपाल लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दिँदा २०४ मत प्राप्त गरेका थिए । यता नेपाल कम्युनिस्ट पार्टीबाट सञ्जयकुमार महतो उम्मेदवार छन् । अखिल क्रान्तिकारी विद्यार्थी संगठनबाट उदाएका उनी युवापुस्ताको प्रतिनिधित्व गर्ने यस क्षेत्रका सबैभन्दा कान्छा उम्मेदवार हुन्, तर संगठनात्मक रूपमा पार्टी कमजोर देखिन्छ ।
धनुषा क्षेत्र नम्बर ४ अन्तर्गतका पाँच स्थानीय तहमध्ये मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका र मिथिला बिहारी नगरपालिकामा स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितेको छ भने एमालेले मिथिला नगरपालिकाको उपमेयरसहित बहुमत वडा जितेको छ । क्षिरेश्वर नगरपालिकाको मेयर एमालेले जितेको छ ।
यस क्षेत्रमा पर्ने ४२ वडाका वडा अध्यक्षहरूले प्राप्त गरेको मतका आधारमा कांग्रेस र एमालेको शक्ति लगभग बराबरी देखिन्छ । यद्यपि कांग्रेस पहिलो दल भए पनि आन्तरिक द्वन्द्व व्यवस्थापन गर्न नसक्दा अघिल्ला निर्वाचनमा आफ्नो पक्षमा परिणाम ल्याउन असफल भएको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण