सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
चुनावी चर्चा

सिराहा–३ : रास्वपाको लहरले काम गर्ला कि ‘लो–प्रोफाइल’ उम्मेदवारको फाइदा उठाउलान् पुराना दलले ?

बुधबार, २१ माघ २०८२, १४ : ४७
बुधबार, २१ माघ २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन शाहलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्दै मधेसमा प्रभाव बढाउने रणनीति बनाएको छ।
  • सिराहाका विभिन्न क्षेत्रमा रास्वपाका उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन्, तर क्षेत्र नम्बर ३ मा पार्टी केही कमजोर देखिएको छ।
  • विभिन्न दलका नेताहरू रास्वपामा प्रवेश गरिरहेका छन्, जसले मधेसमा परिवर्तनको लहर ल्याएको छ।

काठमाडौँ । ०७९ को संसदीय निर्वाचनमा तराई मधेसमा खासै प्रभाव देखाउन नसकेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको आसन्न निर्वाचनमा बालेन्द्र (बालेन) शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर मधेसमा आफ्नो प्रभाव बढाउने रणनीति बनाएको छ । यसले केही हदसम्म मधेसमा रास्वपाको पक्षमा माहोल पनि बनाएको छ ।

तराई–मधेसकै छोरा बालेनलाई प्रधानमन्त्री बनाउन भन्दै मधेसी समुदाय उत्साहित देखिँदा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी लगायत पुराना दललाई मधेसी समुदायको मत जोगाउन चुनौती बढेको छ ।

चार निर्वाचन क्षेत्र रहेको सिराहाका तीन वटा क्षेत्रमा रास्वपालाई उम्मेदवारहरूको व्यक्तिगत प्रभावले सहज तुल्याउने देखिन्छ । क्षेत्र नम्बर ३ मा भने तुलनात्मक रूपमा कमजोर उम्मेदवार अघि सारेका कारण केही प्रतिकूल अवस्था रहेको स्थानीयको भनाइ छ ।

सिराहा–१ मा पूर्वमन्त्री बब्लु गुप्ता, क्षेत्र नम्बर २ मा शिव यादव, सिराहा–४ मा तपेश्वर यादव उम्मेदवार छन् । बब्लु गुप्ता र शिव यादव स्थानीयस्तरमा परिचित नाम हो । सिराहा ४ मा उम्मेदवार रहेका तपेश्वरको व्यक्तिगत प्रभाव कम रहे पनि रास्वपाको समानुपातिक बन्द सूचीमा रहेका जेनजी अभियन्ता पुरुषोत्तम यादव सोही क्षेत्रका बासिन्दा भएका कारण त्यसको लाभ तपेश्वरलाई पनि हुने देखिन्छ ।  

सिराहा–३ मा रास्वपाले शम्भु कुमार यादवलाई उम्मेदवार बनाएको छ । स्थानीय स्तरमा शम्भुको प्रभाव खासै नभएका कारण यो क्षेत्रमा पुराना दललाई केही राहत मिलेको छ । यद्यपि रास्वपाका समानुपातिक उम्मेदवार पुरुषोत्तम यादव जिल्लाको चार वटै निर्वाचन क्षेत्रमा रास्वपाको अवस्था मजबुत रहेको दाबी गर्छन् ।

उनले विभिन्न पार्टीबाट रास्वपामा आउने लहर नै चलेको भन्दै दिन प्रतिदिन रास्वपाको पक्षमा लहर बढ्दै गएको जिकिर गरे । जसपा नेपाल, कांग्रेस र जनमत पार्टीका नेताहरू धमाधम रास्वपामा आइरहेका कारण सिराहा–३ मा अनुकूल परिस्थिति बन्दै गएको उनको भनाइ छ ।

सिराहामा रहेर पत्रकारिता गर्दै आएका बद्री यादवले पनि रास्वपा र बालेनको चर्चाले सिराहामात्र नभएर मधेसका सबैजसो जिल्लामा परिवर्तनको लहर देखिएको बताए । उनले भने, ‘रास्वपाले अन्य क्षेत्रभन्दा सिराहा–३ मा कमजोर उम्मेदवार अघि सारेको छ, तर लहर र चर्चा सबैतिर उस्तै छ । त्यो लहर र चर्चालाई सिराहा–३ का रास्वपा उम्मेदवार शम्भु कुमार यादवले कति क्यास गर्नसक्छन् भन्ने कुरा उनीमै भर पर्छ ।’

रास्वपाका उम्मेदवार शम्भु यादव चीनबाट चिकित्सा विज्ञान पढेर आएका हुन् । उनी चिकित्सा पेसामै छन् । उनका बुवा पञ्चायतकालमा प्रधानपञ्च थिए । पछि उनीहरू कांग्रेस निकट भएका थिए ।

सिराहा–३ मा जसपा नेपालबाट रास्वपामा प्रवेश गरेका पप्पु मरवैता यादवलाई रास्वपाले उम्मेदवार बनाउने चर्चा रहे पनि पछि शम्भु यादवलाई टिकट दिइएको हो ।

यस क्षेत्रमा कांग्रेसबाट सुभाषचन्द्र यादव उम्मेदवार छन् । उनी कांग्रेस नेतृ सीता यादवका छोरा हुन् । जसपा नेपालबाट अशेश्वर यादवले उम्मेदवारी दिएका छन् । २०७९ को चुनावमा जसपा नेपालले एमालेलाई यस क्षेत्रमा सघाएको थियो । २०७४ मा अशेश्वर यादवले उम्मेदवारी दिएका थिए । उनी सो निर्वाचनमा दोस्रो स्थानमा रहेका थिए ।

संगठनको हिसाबले सिराहा–३ मा कम्युनिस्टको बाहुल्यता छ । त्यसमा पनि सबैभन्दा बलियो एमाले देखिएको छ । २०७४ र २०७९ मा एमालेका लिलानाथ श्रेष्ठ यो क्षेत्रबाट निर्वाचित भएका थिए । २०७४ मा तत्कालीन माओवादीले एमालेलाई सघाएको थियो भने २०७९ मा जसपा नेपालले सघाएको थियो ।

यो क्षेत्रमा पर्ने दुई वटा पालिका सिराहा नगरपालिका र गोलबजार नगरपालिका दुवैमा एमालेले जितेको छ । सिराहा क्षेत्र नम्बर ३ मा यी दुई पालिकासहित अन्य पालिकाका गरी कुल ४१ वटा वडा रहेकोमा एमालेले १५ वटा वडामा जितेको छ । यो हिसाबले सबैभन्दा बलियो एमाले देखिएको छ ।

दोस्रो स्थानमा नेपाली कम्युनिस्ट पार्टी देखिएको छ । गत चुनावमा नेकपा (तत्कालीन माओवादी) दोस्रो स्थानमा थियो । एमालेका लिलानाथ श्रेष्ठले २८ हजार ६४ मत ल्याउँदा नेकपाका विश्वनाथ साहले २६ हजार ८८२ मत ल्याएका थिए । नेकपाले सिराहा–३ अन्तर्गतका पालिकामा नजिते पनि विभिन्न ९ वटा वडा जितेको छ । यसपटक पनि एमालेबाट लिलानाथ श्रेष्ठ र नेकपाबाट विश्वनाथ साह सो क्षेत्रमा उम्मेदवार छन् ।

विगतको स्थानीय तथा प्रतिनिधि सभाको चुनावको आधारमा सो क्षेत्रमा कांग्रेस र जनता समाजवादी पार्टी नेपालको संगठन उस्तैउस्तै देखिएको छ । सिराहा–३ अन्तर्गत जसपा नेपाल र कांग्रेसले ८–८ वटा वडा जितेका छन् ।

गत स्थानीय चुनावमा जसपा नेपालले अर्नमा गाउँपालिका जितेको छ । तर सो पालिकाको तीन वटा वडामात्र यो क्षेत्रमा पर्दछ ।

शैक्षिक क्षेत्रका लागेका रामप्रकाश महतो भन्छन्, ‘अहिले नै नतिजाबारे आकलन गर्न गाह्रो छ, तर जनलहर रास्वपाको छ भने संगठन एमाले, नेकपा, कांग्रेस, जसपा नेपालको छ ।’

संगठनको हिसाबले एमाले र नेकपाबिच प्रतिस्पर्धा हुने देखिए पनि कांग्रेसका सुभाष चन्द्रलाई पनि कमजोर मान्न नसकिने सिराहाका प्रध्यापक अनिरुद्र ठाकुर बताउँछन् ।

सिराहा नगरपालिकामा चुनाव एमालेले जिते पनि प्रभाव कांग्रेसको छ । यहाँबाट कांग्रेसकी नेतृ सीता देवी यादव पटक–पटक निर्वाचित भएकी थिइन् । उनका श्रीमान चन्द्रनारायण यादवको पनि त्यतिकै प्रभाव थियो । यद्यपि यस पटक कांग्रेसका सुभाषचन्द्र यादवलाई आफ्नै पार्टीबाट खतरा रहेको धेरैको बुझाई छ । उनी कांग्रेसका सभापति गगन थापाको टिममा छन् । पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेताहरूले उनलाई कति सहयोग गर्छन् भन्ने कुराले कांग्रेसको मतमा प्रभाव पार्ने स्थानीयको भनाइ छ ।

तर कांग्रेसका नेता संजय यादव भन्छन्, ‘अब कांग्रेसमा कुनै पनि गुटबन्दी छैन, सबै एकजुट भएर सुभाष यादवका लागि चुनावमा खटिनुभएको छ ।’ कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको रूपमा अघि सारिसकेपछि मधेसमा पार्टीप्रति लहर चलेको बताउँदै उनले गगन सर्लाहीबाट चुनाव लडेका कारण मधेसमा कांग्रेसको राम्रो प्रभाव परेको दाबी गरे ।

जसपा नेपाल सिराहाका अध्यक्ष अशोक यादव आफ्नो पार्टीको प्रभाव राम्रै रहेको दाबी गर्छन् । एमालेले २०७४ को चुनाव माओवादीको बलमा र २०७९ को चुनाव जसपा नेपालको बलमा जितेको जिकिर गर्दै उनले यस क्षेत्रमा एमालेको खासै संगठन नरहेको दाबी गरे । उनले भने, ‘२०७४ को चुनावमा जसपा नेपालले यहाँ दोस्रो मत ल्याएको थियो । २०७९ को चुनावमा हामीले एमालेलाई सघाएका थियौँ । यसपटक हामी चुनाव जित्छौँ ।’

सिराहा–३ मा जनमत पार्टीबाट रोहत महतो, राप्रपाबाट देव दयाल सिंह, आम जनता पार्टीबाट ज्ञानु देवी दनुवार, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पुजनकुमार सिंह, श्रम संस्कृति पार्टीबाट दीपकुमार लामा, नेकपा (माओवादी)बाट कमल राय, उज्यालो नेपाल पार्टीबाट श्रवण पासवानले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, दुष्यन्त कुमार कर्ण, प्रदिप कुमार श्रेष्ठ, सतीश चन्द्र सिंह सुमित श्रेष्ठ, रामचरित्र प्रसाद साह, दीपेन्द्र कुमार यादव, आनन्द विश्वकर्मा, उमेश कुमार बराल, विजय कुमार राम, बैजनाथ कामी, राम पुकार कामती, अरविन्द कुमार यादव, दिलीप कुमार पासमान, मन्चन महतो, जिवछ कुमार यादव, दिनेश यादव, अर्जुन कुमार यादव, राकेश कुमार यादव, अशिष कुमार मण्डल, अंकित कुमार यादव से.जहुर, सोभित कुमार यादव, रमेशचन्‍द्र शर्मा, इन्दिला कुमारी यादव, राजेश्‍वर यादव, सूर्य देव यादव, कृष्णा कुमार यादव, बब्लु कुमार यादव, नवीन कुमार यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप