बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

४ वरिष्ठ गायिकाले सार्वजनिक गरे बबिताको ‘कलियुगकी राधा’

शुक्रबार, २३ माघ २०८२, ०८ : २५
शुक्रबार, २३ माघ २०८२

काठमाडौँ । गायिका बबिता मानन्धरको नयाँ गीत ‘कलियुगकी राधा’ सार्वजनिक गरिएको छ । लोक आधुनिक शैलीको गीत बिहीबार साँझ  राजधानीमा आयोजित एक कार्यक्रमका बिच वरिष्ठ गायिकाहरू कुन्ती मोक्तान, सुक्मित गुरुङ, मोनिला सोताङ र देविका बन्दनाले संयुक्त रूपमा गीत सार्वजनिक गरे ।

गीतमा बबिता मानन्धरको स्वर, डिपी खनालको शब्द, शंकर थापा ‘स्माइल’को संगीत छ । कार्यक्रममा गीतको भिडियो समेत देखाइएको थियो । राजीव समरको निर्देशन रहेको भिडियोमा आश्मा विश्वकर्मा र अभिषेक श्रेष्ठको नृत्य छ । गीतमा आधुनिक समाजमा प्रेम, नारी भावना र सम्बन्धको यथार्थलाई समेटिएको छ । गायिका मानन्धर दुई दशक बढी समयदेखि संगीतकर्ममा सक्रिय छिन् ।

कार्यक्रममा वरिष्ठ गायिका कुन्ती मोक्तानले बबिताको स्वरको मुक्त कण्ठले प्रशंसा गरेकी छिन । उनले बबिताले जस्तो सुकै जनराको गीतलाई पनि न्याय गर्न सक्ने गायिका भएको बताइन् ।

यस्तै वरिष्ठ गायिका सुक्मित गुरुङले बबिताको गायकी उच्च कोटीको भएको बताएकी छिन । उनले ‘कलियुगकी राधा’को शब्द, संगीत र भिडियो समेत निकै राम्रो बनेको प्रतिक्रिया दिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ गायिका मोनिला सोताङले ‘कलियुगकी राधा’ले दर्शक श्रोताको मन जित्ने विश्वास राखिन । आफूलाई हरेक कोणबाट अडियो र भिडियो दुवै मन परेको उनको भनाई छ । यस्तै अर्की वरिष्ठ गायिका देबिका बन्दनाले चलचित्रका थुप्रै आइटम गीतमा बबिताकै स्वर सुन्दै आएको र आज पनि उनको स्वरको गुणस्तर उस्तै रहेको बताइन् ।

कार्यक्रममा बोल्दै संगीतकार थापाले नेपाली संगीतका सिद्धहस्त अग्रज गायिकाहरूको बाहुलीबाट गीत विमोचन गर्न पाउनु आफूहरूका लागि गर्वको क्षण भएको बताए । यस्तै मोडल आश्मा विश्वकर्माले दर्शकहरूले गीत तथा भिडियो मन पराउने विश्वास राखिन् ।

२०५७ सालमा प्रदर्शनमा आएको फिल्म ‘चलचित्र’बाट पाश्र्व गायन सुरु गरेकी गायिका मानन्धर चाहन्छु म तिमीलाई, बाउन्सर, मेरी आम्मै लगायत झण्डै २ दर्जन चलचित्रमा प्लेब्याक गरेकी छिन् । चलचित्र बाहेक अन्य जनरामा ५ दर्जन हाराहारीका गीतमा उनले स्वर दिएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप