शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
ब्याटलग्राउन्ड सुनसरी–३

मतदाताहरूको वितृष्णाको मारमा उम्मेदवार

भन्छन्, ‘भोट माग्न आउँदा ढोग्छन्, पानी खाने कल दिँदैनन्’
शुक्रबार, २३ माघ २०८२, ०९ : ०२
शुक्रबार, २३ माघ २०८२

सारांश

  • सुनसरीको बर्जु गाउँपालिकामा उखु किसान र स्थानीयको चुनावी वितृष्णा बढेको छ।
  • सजिला खातुनले एकल महिलाको संघर्ष र छोरीको शिक्षाको अभावबारे चिन्ता व्यक्त गरिन्।
  • युवा पुस्ता र वृद्धवृद्धाहरू नयाँ नेतृत्वको पक्षमा देखिएका छन्, पुरानो नेतृत्वप्रति असन्तुष्टि छ।

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरसँग जोडिएको सुनसरीको बर्जु गाउँपालिका–५ उखु उत्पादन क्षेत्र हो । बर्जु–५ को हुलाकी राजमार्ग छेउमा सुकेका उखु काट्ने मजदुरहरू प्रशस्तै भेटिन्छन् । कतिपय महिला उखुबारीको बिचमा बसेर हँसियाले उखु छिल्न व्यस्त छन् । तीमध्ये एक हुन् ४० वर्षीया सजिला खातुन । नाम सजिला भए पनि उनको काम अप्ठ्यारो छ । काम मात्रै होइन, उनको थाप्लोमा चार सन्तानको भविष्य बनाउने जिम्मेवारी पनि छ ।

फागुन २१ को निर्वाचनले सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ (बर्जु) मा चर्चा बढ्दै जाँदा सजिलालाई भने त्यो चुनावी रौनकले फिटिक्कै छोएको छैन । बरु चुनावी झन्डा बोकेर आउने नेताहरू देख्दा उनलाई आफ्नै अभाव र बाध्यताले गिज्याएजस्तो लाग्छ ।

सजिलाका श्रीमान् उनीबाट टाढिएको १० वर्ष भइसक्यो । त्यसयता चार सन्तानको भारी उनकै दुब्ला काँधमा छ । दिनभर उखुबारीमा पसिना बगाउँदा उनले जम्मा ४५० रुपैयाँ ज्याला पाउँछिन् । त्यही ४५० रुपैयाँले साँझको चुल्हो बाल्ने कि छोराछोरीको भविष्य सुरक्षित गर्ने ? सजिलाको सधैँको यो अप्ठ्यारो हो । ‘सर, मेरा चार जना छोराछोरी छन् । श्रीमान् गएको १० वर्ष भइसक्यो । एक्लैले चार जनालाई खुवाउँदै छु । दिनको साढे ४ सय पाउँछु, त्यसले के पुग्छ र ?’ उनले भनिन् ।

13-Sajila Khatun
सजिला खातुन

उनको छेउमै एक किशोरी पनि उखु छिल्न सघाइरहेकी छिन्, ती उनकी छोरी हुन् । उमेरले स्कुल जानुपर्ने ती छोरी आमाको अभाव मेटाउन उखुबारीमा पसिना बगाउन बाध्य छिन् । छोरीको पढाइ बिचैमा रोकिएकोमा सजिलाको मन भित्रभित्रै पोलिरहेको छ । ‘छोरीलाई ५ कक्षासम्म मात्र पढाउन सकेँ सर, त्यसपछि पैसा पुगेन । ड्रेस दिन सकिनँ, कापी–कलम किन्न सकिनँ,’ उनले भनिन्, ‘पढाउन सकेको भए छोरीले अहिले किन उखु छिल्न आउनुपथ्र्यो र ? अहिले छोरी जवान भइसकी, उसको बिहे गर्ने अलिकति पैसा पनि छैन । छोरी जवान भएपछि बिहेको चिन्ताले मलाई रातभर निद्रा आउँदैन सर, के गरूँ ?’

चुनाव नजिकिँदै गर्दा गाउँमा नेताहरूको लर्को लाग्न थालेको छ, तर सजिलालाई त्यसले कुनै मतलब छैन । उनी भन्छिन्, ‘अहिले त नेताहरू भोट माग्न थुप्रै आउँछन् । भोट माग्न आउँदा ‘दिदी–बहिनी’ भन्दै ढोग्दै आउँछन् । तर हाम्रो समस्या कसैले हेर्दैनन् । मेरो घरमा एउटा कल (ट्युबेल) सम्म छैन सर, पानी खानका लागि अर्काको कलमा जानुपर्छ । अहिलेसम्म एउटा कल दिन कोही आएन, अहिले चुनाव आएपछि चाहिँ हजुर–हजुर भन्दै आउँछन् ।’

08-Sunsari 3 (10)

सजिलाजस्ता भुइँतहका मतदाताहरूमा अहिले ठुलो वितृष्णा जागेको छ । उनीहरूलाई लाग्छ, जसले जिते पनि उनीहरूको जीवनमा कुनै परिवर्तन आउनेवाला छैन । ‘यसपालि त म भोट कसैलाई पनि दिन्नँ । नदिएपछि दिन्नँ,’ उनी आक्रोश पोख्दै भन्छिन्, ‘छोरी जवान भइसकी, उसको बिहेको लागि अलिकति पैसा जुटाइदिए त बिहे गरिदिन्थेँ । कसले दिन्छ र हामीलाई ! नेताहरू त आफ्नो काम बनेपछि फर्केर पनि हेर्दैनन् । जसले हाम्रो गाउँमा बाटो र पानी दिन्छ, उसैलाई मात्र सोच्न सकिन्छ, नत्र कसैलाई दिन्नँ ।’

युवाहरूको तरिकै फरक

बर्जु गाउँपालिका वडा नम्बर ६ चिमडीको सडक किनारामा १०–१२ जना युवाहरूको समूह उत्साहका साथ पोलमा ब्यानर टाँगिरहेका छन् । ब्यानरमा ‘अबकी बेर बालेन सरकार’ लेखिएको छ र छेउमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्न ‘घण्टी’ अंकित छ । काठमाडौँका मेयर बालेन शाहको तस्बिरअंकित यो ब्यानरले सुनसरी–३ मा चुनावी सरगर्मी विगतमा जस्तो नरहेको संकेत गर्छ । रास्वपाको प्रभाव बढ्दो छ ।

04-Sunsari 3 (2)

ब्यानर टाँगिरहेका २२ वर्षीय राहुल भगत उत्साहित देखिए । ‘यो देश अब ५ वर्ष ब्ल्याङ्केट र त्रिपालमा बस्दैन । दारु र मासुले मान्छे बिक्ने दिन गए । हामी आफैँ जाग्नुपर्छ, त्यसैले हामी परिवर्तनको पक्षमा उत्रिएका हौँ,’ उनले भने । उनीसँगै रहेका सुरज कुमार दास, चञ्चल दास, अभिषेक यादव, देवन चौधरी र विषय चौधरीजस्ता २१–२२ वर्षका युवाहरू पहिलो पटक मतदान गर्दैछन् । उनीहरूको एउटै स्वर छ, ‘हामीलाई आश्वासन होइन, काम गर्ने नेतृत्व चाहिएको छ ।’

युवाहरूले टाँगेको ब्यानरको प्रभाव ७८ वर्षीय वृद्ध रूपलाल दासलाई पनि परेको छ । जीवनभर कांग्रेस नेता विजयकुमार गच्छदारलाई रूख चिह्नमा मत दिएर जिताएका उनी यस पटक नातिहरूको कुरा सुन्न तयार देखिए । उनी भन्छन्, ‘विजय गच्छदार, भगवती चौधरी, रेशमलाल चौधरी सबैलाई हेरियो । अब नयाँलाई एकपटक हेर्नुपर्छ कि भन्ने छ । पुरानाले त पालैपालो मन्त्री हुने र खाने मात्र काम गरे ।’

यही सडकमा डेढ वर्षदेखि सिटी रिक्सा गुडाउँदै आएका लाल बहादुर राय (बर्जु–१) को अनुभव भने अलि फरक र तितो छ । २०७४ सालमा वडा सदस्य जितेका लाल बहादुर आफ्नो गुजाराका लागि रिक्सा चलाउँछन् । उनी भन्छन्, ‘नेताहरू चुनावको बेला मात्र जनताको घर–घर पुग्छन् । चुनाव सकिएपछि केन्द्रीय र प्रदेशका नेताहरू गाउँ नै फर्किँदैनन् । हामीजस्ता जनताको समस्या बुझ्न कोही आउँदैन ।’

02-Sunsari 3 (1)

उनले रिक्सा चलाउँदा खेप्नुपर्ने समस्या र परिवार पाल्न गर्नुपर्ने संघर्ष सुनाउँदै गर्दा यसपटकको भोट फेरिन सक्ने संकेत गरे । उनी थप्छन्, ‘म आफैँ २०७४ सालको निर्वाचित वडा सदस्य हुँ, तर म अरू नेता जस्तो गफ दिन्नँ, मिहिनेत गर्छु । अहिले गाउँतिर धेरैले नयाँकै चर्चा गरिरहेका छन् । पुराना पार्टीले पालैपालो मन्त्री खाए तर देशका लागि केही गरेनन् ।’

यता बर्जु–५ का उखु किसान टेकबहादुर कटुवालको आक्रोश भने सरकार र चिनी मिल सञ्चालकहरूमाथि छ । उखुबारीमा उखु काटिरहेका उनले १० कट्ठामा उखुखेती गरेका छन् । तर उखुबाट आफूहरू ठगिएको उनको गुनासो छ । ‘हामी किसानलाई मिलले दास बनाउन खोजेको छ । पुर्जी (सुगर मिलले दिने उखु खेतीको अनुमति पत्र) दिँदैनन्, सरकारले दिने अनुदानको पैसा पनि समयमा आउँदैन,’ उनी भन्छन्, ‘१० कट्ठामा उखु लगाउँदा ५० हजार ऋण लाग्छ, तर आम्दानी शून्यजस्तै छ । यस्तो बेला नेताहरू भोट माग्न आउँदा कुन मुखले आउँछन् ?’

12-Katwal
टेकबहादुर कटुवाल

उनले सरकारले दिने भनेको उखुको अनुदान प्रतिक्विन्टल ३५ रुपैयाँ अझै नपाएको गुनासो गरे । उनले पनि नयाँ पार्टीलाई नै मत दिनेबारे छलफल चलिरहेको बताए ।

सुनसरी क्षेत्र नम्बर ३ मा वर्षौँदेखि नेपाली कांग्रेसका विजयकुमार गच्छदार र नेकपा एमालेकी भगवती चौधरीले प्रतिस्पर्धा गर्दै आएको क्षेत्र हो । यस क्षेत्रमा यसपटक भने नयाँ राजनीतिक समीकरण र लहरको संकेत देखिएको छ । विशेषगरी पहिलो पटक मतदान गर्न लागेका युवाहरू र लामो समयदेखि एउटै अनुहारलाई भोट दिँदै आएका वृद्धवृद्धाहरूमा यसपटक परिवर्तनको तीव्र चाहना देखिएको छ । बर्जुको सीतागञ्जमा एमालेले बिहीबार नै उम्मेदवारसहित कार्यकर्ताको छलफल राखेको थियो । छलफलमा विगतको भन्दा कम सहभागिता भएको एमालेकै कार्यकर्ताले बताए । ‘गएका वर्षहरूमा भगवती आउनेभन्दा २/अढाई सय मानिस भेला हुन्थे, यस पटक ५० जना भेला भए । त्यो पनि गुनासोको थुप्रो मात्रै आयो,’ नाम नखुलाई एक कार्यकर्ताले भने ।

उता बर्जु–५ को वीरेन्द्र चोकमा कांग्रेसले ५ नम्बर वडाको कार्यक्रम राखेको थियो । एक सयजति मानिसहरूको सहभागितामा कार्यक्रम भएको र यो उत्साहजनक रहेको कांग्रेसका स्थानीय नेता रमेश चौधरी बताउँछन् । ‘हाम्रो भोट सुरक्षित छ । हामी जित्छौँ । यहाँ एमालेसँग हाम्रो प्रतिस्पर्धा हो । रास्वपा तेस्रो हो,’ उनले भने । यस्तै कांग्रेस सुनसरीका जिल्ला सचिवालय सदस्य रामप्रसाद चौधरीले रास्वपा प्रतिस्पर्धामा आए पनि चुनाव सो पार्टीले नजित्ने दाबी गरे । विजय गच्छदारलाई जिताएर सम्मानका साथ पठाउने आफूहरूको चाहना भएको उनको भनाइ छ ।

09-Sunsari 3 (8)

विगतको विरासत

थारू, चौधरी समुदायको बाहुल्य रहेको सुनसरी निर्वाचन क्षेत्र नम्बर–३ मा यसपटक पनि मुख्य प्रतिस्पर्धामा थारू समुदायकै उम्मेदवारहरूको बाहुल्य देखिएको छ । कांग्रेस नेता विजयकुमार गच्छदार आठौँ पटक चुनावी मैदानमा छन् ।

एकातिर २०४८ सालदेखि २०७४ सालसम्म ३० वर्ष एकछत्र राज गरेका गच्छदार छन् भने अर्कोतिर उनकै विरासत भत्काएर उदाएकी नेकपा एमालेकी भगवती चौधरी पनि प्रतिस्पर्धामा छिन् ।

चौधरी र गच्छदारबिचको यो चौथो चुनावी प्रतिस्पर्धा हो । २०७९ को आम निर्वाचनमा गच्छदारको अपराजित यात्रालाई पूर्णविराम लगाउँदा भगवतीले करिब ५ हजार मतले पराजित गरेकी थिइन् । भगवती फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा छिन् । यस क्षेत्रमा २२ जना प्रतिस्पर्धामा छन् । अहिले भने गच्छदार र भगवतीसहित रास्वपाका अशोक चौधरी पनि प्रतिस्पर्धामा रहेका एमाले र कांग्रेसकै नेताहरू स्वीकार गर्छन् ।

10-Sunsari 3 (9)

सो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुर्गेश चौधरी, श्रम संस्कृति पार्टीले रामप्रसाद सदा, समावेशी समाजवादी पार्टी नेपालले किशोरकुमार विश्वास, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले घनश्याम गुरुङलाई उम्मेदवार बनाएर चुनावी मैदानमा पठाएको छ ।

१२ पटकसम्म मन्त्री भएका गच्छदारले आफ्नो क्षेत्रमा धेरै विकास गरेको दाबी गर्दै आएका छन् । गच्छदार कांग्रेस छाडेर कहिले मधेसी जनाधिकार फोरमका नेता भए । २०७० मा फोरम फुटेपछि लोकतान्त्रिक जनाधिकार फोरमका नेता बने । फोरमबाट २०७० सालमा उनले चुनाव लडे । यो चुनावमा पनि उनले जिते । २०७४ सालमा भने उनी पुरानै राजनीतिक घर कांग्रेसमा फर्किए । २०७४ को चुनावमा पनि उनको प्रतिस्पर्धी भगवती नै थिइन् । त्यस पटक पनि उनले अत्यन्तै झिनो मतले जित हात पारेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप