आगो लगाउने होइन, देश सम्हाल्ने शक्ति चाहिएको छ : गगन थापा
सारांश
- गगनकुमार थापाले देशलाई सम्हाल्ने शक्तिको खाँचो औंल्याए, कांग्रेसले धैर्यपूर्वक निकास दिनुपर्ने बताए।
- उनले नागरिकमा गहिरो रिस र राज्य संयन्त्रप्रति चरम अविश्वास रहेको र यसलाई कांग्रेसले सम्हाल्नुपर्ने बताए।
- उनले भ्रष्टाचार मुलुकको मुख्य समस्या भएको र कांग्रेस भ्रष्टाचारविरुद्ध लड्ने योद्धा बन्ने बताए।
पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले चरम निराशा र अविश्वासको भुमरीमा रहेकाले देशलाई सम्हाल्ने शक्तिको खाँचो रहेको बताएका छन् । कांग्रेस कास्कीको सभालाई सम्बोधन गर्दै उनले उत्तेजना फैलाउने भन्दा पनि धैर्यपूर्वक देशलाई निकास दिने शक्तिको रूपमा कांग्रेसले भूमिका खेल्नुपर्ने बताएका हुन् ।
अहिले समाजमा नागरिकहरूबिच गहिरो रिस र राज्यका संयन्त्रहरूप्रति चरम अविश्वास रहेको भन्दै उनले यस्तो संवेदनशील अवस्थामा जिम्मेवार राजनीतिक शक्तिको खाँचो रहेको बताएका हुन् ।
‘देश सम्हाल्ने शक्ति चाहिएको छ अहिले । आगो जसले पनि लगाउन सक्छ, निभाउनलाई धैर्यता चाहिन्छ, क्षमता चाहिन्छ । त्यो तागत हामीले राख्नुपर्ने छ,’ उनले भने, ‘उत्तेजना जसले पनि फैलाउन सक्छ, तर चेतनाको राजनीति गर्ने शक्ति चाहिएको छ हामीलाई । त्यो कांग्रेस हो । हामीले मिलाउँछौँ, हामीले सम्हाल्छौँ’ सभापति थापाले नागरिकमा गहिरो असन्तुष्टि रहेको भन्दै आगामी दिनमा सुधारबाटै उनीहरूलाई जवाफ दिनुपर्ने बताए ।
‘नागरिकहरूमा रिस छ । त्यो रिस गहिरो छ । राज्यका संस्थाहरू, संविधान, अदालत, राजनीतिक दल र नेतृत्वप्रति चरम अविश्वास छ,’ उनले अघि थपे, ‘यो अविश्वास झाँगिँदै गएर सिङ्गो देशले नै आत्मविश्वास गुमाएको जस्तो अवस्था छ । समाजमा एउटा ठुलो कोलाहल छ, भित्रभित्र आगो बलिरहेको छ । यो बेलामा नेपाली कांग्रेस पार्टीको जिम्मेवारी हो यसलाई सम्हाल्ने ।’
मुलुकमा देखिएको निराशाको मुख्य जड भ्रष्टाचार रहेको उनको तर्क छ । ‘सबैभन्दा ठुलो शत्रु नेपालको को हो भनेर सोध्यो भने नागरिकले भन्छ ‘करप्सन’ । भ्रष्टाचार विरुद्धको सबैभन्दा ठुलो योद्धा बदलिएर आएको नेपाली कांग्रेस हो,’ उनी भन्छन्, ‘जसको टाउको देखि पुच्छरसम्म प्रत्येक नेता एउटा सङ्कल्प गरेर आएको छ । नेपाललाई जसरी हिजो हिंसाको आहालबाट बाहिर निकाल्यौँ, अब भ्रष्टाचारको आहालबाट हामी बाहिर निकाल्छौँ ।’
उनले घरदैलोमा जाँदा कांग्रेसले देश सम्हाल्छ र सुधार्छ भन्ने सन्देश लिएर जान पार्टीका नेता कार्यकर्ताहरूलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण