बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भारतदेखि नेपालसम्म : सुनिल थापालाई यसरी गरियो स्मरण

आइतबार, २५ माघ २०८२, १३ : २८
आइतबार, २५ माघ २०८२

सारांश

  • वरिष्ठ अभिनेता सुनिल थापाको हृदयाघातका कारण निधन भएको छ।
  • उनले ३०० भन्दा बढी नेपाली र हिन्दी फिल्ममा अभिनय गरेका थिए, र उनी 'राते काइँला' को नामले परिचित थिए।
  • प्रियंका चोपडा र राजेश हमाल लगायतका कलाकारहरूले उनको निधनप्रति दुख व्यक्त गरेका छन्।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । वरिष्ठ अभिनेता सुनिल थापा अब हाम्रो सम्झनामा मात्र रहनेछन् । शनिबार बिहान उनले भौतिक शरीर त्यागेर हामीबाट सदाका लागि बिदा लिए । 

६८ वर्षीय थापाको हृदयाघातका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । शंखमूलस्थित अपार्टमेन्टमा बस्दै आएका थापाले ३ सयभन्दा बढी नेपाली र हिन्दी फिल्ममा अभिनय गरेका छन् ।

बलिउडमा व्यस्त रहेको समयमा नेपाली फिल्ममा भित्रिएका उनले ‘खलनायक’ को भूमिकालाई पनि नायक सरह चर्चा र सम्मान दिलाउन सफल भए । उनी फिल्म क्षेत्रमा ‘राते काइँला’ को नामले चर्चित थिए । उनले यो परिचय फिल्म ‘चिनो’ मा गरेको अभिनयबाट बनाएका थिए । थापा नेपालमा एक्लै बस्दै आएका थिए भने उनका परिवारका अन्य सदस्यहरू भारतको मुम्बईमा बस्छन् ।

बलिउड अभिनेत्री प्रियंका चोपडादेखि नेपाली अभिनेता राजेश हमालसम्मले थापालाई सम्झिएका छन् ।

बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाले उनलाई जीवनभर नबिर्सिने बताएकी छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै थापाको निधनप्रति भावुक श्रद्धाञ्जली अर्पण गरेकी छन् । ‘थापाको निधनले मलाई गहिरो पीडा पुगेको छ,’ उनले भनेकी छन्, ‘तपाईं सधैँ मेरा कोच सर नै रहनुहुनेछ । मैले बाबालाई गुमाएको त्यो कठिन समयमा तपाईंले मलाई सम्हालेर राख्नुभयो । थाहा नपाउँदै पनि तपाईंले मलाई माया गर्नुभयो र धेरै अप्ठ्यारो दिनहरू पार गर्न सहयोग गर्नुभयो ।’ उनले थापाको न्यानो अँगालो र हाँसो सधैँ आफ्ना सम्झनामा जीवित रहने धारणा राखेकी छन् ।

अभिनेता भुवन केसीले नेपाली फिल्म क्षेत्रले देशकै सबैभन्दा अब्बल कलाकार गुमाएको बताएका छन् । आफ्ना लागि सुनिल कलाकार मात्र नभएर असल साथी पनि भएको उनले बताए । सुनिलसँग फिल्म ‘चिनो’ मा पहिलोपटक सँगै काम गरेयता थुप्रै फिल्म सेटमा अन्तरङ्ग क्षण बिताएको उनले स्मरण गरे । उनी भन्छन्, ‘सुनिलसँग भेट हुँदा सधैँ ‘दोस्त’ भनेर सम्बोधन गर्थे । उनी मेरो मनमा सधैँ रहिरहने छन् ।’

अभिनेता राजेश हमालले दिवङ्गत कलाकार सुनिल थापा नेपाली फिल्मको इतिहासमा एउटा महत्त्वपूर्ण मोड भएको बताए । सामाजिक सञ्जालमार्फत उनले आफ्नो फिल्मयात्रा थापाप्रति समर्पित गरेको धारणा राखेका छन् । ‘थापा एक अद्भुत सहकर्मी थिए । उनको निधनले कहिल्यै भरिन नसक्ने शून्यता छाएको छ,’ उनले भने ।

बलिउड अभिनेता मनोज बाजपेयीले पनि उनको निधनमा दुःख व्यक्त गरेका छन् । सुनिलसँग चर्चित भारतीय सिरिज ‘द फ्यामिली म्यान’ मा अभिनय गरेका बाजपेयीले सामाजिक सञ्जालमा लेख्दै अनुभवी अभिनेताको निधनको खबरले आफूलाई निकै दुःखी बनाएको बताए । उनी भन्छन्, ‘‘द फ्यामिली म्यान’ का सम्झनाहरू सधैँ मनमा रहनेछन् ।’

वरिष्ठ निर्देशक तथा अभिनेता तुलसी घिमिरेले आफूले सबैभन्दा समीपको साथी गुमाएको बताएका छन् । थापाको निधन अझै पत्याउन नसकेको बताउँदै उनले थापालाई अद्भुत क्षमताका कलाकारको रूपमा चित्रण गरे । ‘सुनील आफैँमा धेरैका लागि ‘बेस्ट’ थिए,’ घिमिरे भन्छन्, ‘उनीजस्तो साथी जीवनमै पाउन सकिन्न ।’ सुनीलले साथी सम्बन्ध र काममा देखाएको संस्कार सधैँ खट्किरहने घिमिरेको भनाइ छ ।

अभिनेता नीर शाह आफ्नो असाध्यै मिल्ने साथी गुमाउँदाको पीडा असह्य भएको बताउँछन् । ‘छिट्टै भेट्छु भनेर वाचा गर्नुभएको थियो, तर वाचा नै पूरा गर्न पाउनुभएन,’ नीर भावुक बने । सुनीललाई हेरिरहने र पर्दामा पर्खिरहेका दर्शकलाई यो विस्मातले दुखाइरहने उनको भनाइ छ । रिलमा खलनायक भए पनि रियल (वास्तविक) जीवनमा उनी नायकको व्यवहार भएका कलाकार रहेको शाह सुनाउँछन् । ‘सुनील अब भौतिक रूपमा नभए पनि उनको न्यास्रो भने सारा फिल्म जगत्लाई सदैव भइरहनेछ,’ शाह भन्छन् ।

चलचित्र लेखक तथा समीक्षक प्रकाश सायमी सुनिल थापा चलचित्रका एक उत्कृष्ट कलाकार भएको बताउँछन् । आफ्ना लागि एक असल मित्रसमेत भएको बताउने सायमीले थापाको जीवनका नखुलेका पाटाहरू समेत सामाजिक सञ्जालबाट खुलाएका छन् । मुम्बईमा रहँदा पत्रकारितासमेत गरेका थापालाई पहिलो पटक देव आनन्दले चलचित्र ‘साहेब बहादुर’ मा ब्रेक दिएको सायमीले उल्लेख गरेका छन् । सायमी लेख्छन्, ‘‘एक दूजे के लिए’ जस्ता चर्चित हिन्दी फिल्ममा काम गरिसकेका थापाले प्रताप सुब्बाको निर्देशनमा बनेको ‘मशाल’ बाट नेपाली चलचित्रमा पाइला टेकेका थिए । देव आनन्दलाई निकै आदर गर्ने थापा फुटबल र पत्रकारितामा पनि रुचि राख्थे ।’ वरिष्ठ अभिनेता थापाको नेपाली चलचित्रमा रहेको योगदान जीवनभर बिर्सन नसकिने उनी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप