शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
भ्रष्टाचार मुद्दा दायर

विदेशमा भएकालाई लाइसेन्स दिने तत्कालीन प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर

आइतबार, २५ माघ २०८२, १९ : २९
आइतबार, २५ माघ २०८२

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लामा लाइसेन्स परीक्षामा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेको छ।
  • मलेसियामा रहेका व्यक्तिलाई समेत लाइसेन्स जारी गरिएको र ट्रायलमा फेल भएकाहरूलाई पास गराइएको पाइएको छ।
  • तत्कालीन निमित्त प्रमुख मदनप्रसाद देवकोटासहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, जुम्लामा प्रयोगात्मक परीक्षामा फेल भएका र वैदेशिक रोजगारीका लागि विदेशमा रहेका व्यक्तिलाई समेत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गरेको अभियोगमा तीन जनाविरुद्ध विशेष अदालतमा आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले कार्यालयका तत्कालीन निमित्त प्रमुख मदनप्रसाद देवकोटा, मेकानिकल सुपरभाइजर शम्भु दाहाल र प्रहरी नायव निरीक्षक (सई) गंगाराम विश्वकर्माविरुद्ध आइतबार मुद्दा दायर गरेको हो ।

अख्तियारको अनुसन्धानका क्रममा मलेसियामा रोजगारीमा रहेका शालिकराम भण्डारीको नाममा जुम्लाबाट वर्ग ‘ब्’ को लाइसेन्स जारी भएको भेटिएको छ । भण्डारी २०७० भदौ १९ गते मलेसिया गएर २०७५ भदौ २३ गते मात्र नेपाल फर्केका थिए। तर, उनी मलेसियामै रहेको समयमा २०७५ साउन २० गते लिखित र प्रयोगात्मक परीक्षामा ‘पास’ भएको देखाई साउन २५ गते उनलाई लाइसेन्स (नं. १४–००४५२३) दिइएको पाइएको छ।

फेल भएका १७ जनालाई ‘सेटिङ’मा पास

अनुसन्धानका अनुसार भण्डारीबाहेक अन्य १७ जना परीक्षार्थी जो प्रयोगात्मक परीक्षा (ट्रायल) मा फेल भएका वा अनुपस्थित थिए, उनीहरूलाई पनि गैरकानुनी रूपमा उत्तीर्ण गराइएको छ। कम्प्युटर प्रणालीमा रहेको ‘फेल’ वा ‘अनुपस्थित’ नतिजालाई ‘युजर आईडी ४६७’ प्रयोग गरी अनाधिकृत रूपमा सच्याएर ‘पास’ बनाइएको अख्तियारको दाबी छ ।

लाइसेन्स पाउनेहरूमा फेल भएका शिवबहादुर क्षेत्री, अंकबहादुर शाही, शान्ता कुमारी चौलागाई, प्रेमप्रसाद उपाध्याय, मेघराज डाँगी, मीनबहादुर मल्ल, सरस्वती भुर्तेल, सबिका दाहाल, दीपक शाही, रेशम अधिकारी, नेत्रकला जैसी, आस्था भट्टराई, विकास खत्री, आरती न्यौपाने, लोकेन्द्र मल्ल, ताराबहादुर थापा र अनुपस्थित भएका हिमाल बोहोरा र कुङ सन्डुप लामा रहेका छन्।

यातायात व्यवस्था विभागको सूचना प्रविधि शाखाको प्राविधिक रिपोर्टका अनुसार तत्कालीन निमित्त कार्यालय प्रमुख मदनप्रसाद देवकोटाले आफ्नो युजर आईडी प्रयोग गरी परीक्षाको परिणाम फेरबदल गरेको पुष्टि भएको छ। राष्ट्रसेवक कर्मचारीहरूले बदनियत राखी सरकारी कागजात र विद्युतीय अभिलेखमा केरमेट तथा थपघट गरी भ्रष्टाचार गरेको आयोगको ठहर छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप