सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
झापा-५ : स्थलगत रिपोर्ट

‘मत फेर्छु’ भन्नेकै दबदबा, पुराना पार्टीलाई सकस

सोमबार, २६ माघ २०८२, ११ : ३०
सोमबार, २६ माघ २०८२

सारांश

  • झापाको गौरादहका वृद्धवृद्धाहरू पुरानो दललाई भोट हाल्ने वा नयाँलाई दिने भन्नेमा विभाजित छन्।
  • कतिपय वृद्धवृन्दले विकास नभएको र कार्यकर्ता पोसेको भन्दै मत बदल्ने सोच बनाएका छन्।
  • गौरादह र कमल गाउँपालिकाका अधिकांश वृद्धवृद्धाहरू नयाँलाई भोट हाल्ने पक्षमा देखिएका छन्।

विराटनगर । झापा क्षेत्र नम्बर ५ मा पर्ने गौरादह नगरपालिका ३, गौरादह बजारका ७२ वर्षीय डिल्लीप्रसाद फुयाँलले पान पसल चलाएको वर्षौं भयो । एमालेको गढ भनेर चिनिने गौरादह बजारको चोकतिर अहिले पुरानालाई भोट हाल्छु भनेर उभिने कमै भेटिन्छन् ।

विगतमा पुराना दललाई नै मत दिँदै आएका फुयाँल पनि यस पटक मत बदल्ने सोचमा छन् । ‘यहाँका ठेउकेलाई तह लगाउनु पर्छ,’ उनले भने, ‘बाले हारेपछि तह लाग्छन् । गोबर गुइँठा भनेर किन बोल्नु ? सबै मत घट्यो । विकास केही गरेको छैन । कार्यकर्ता पोसेका छन् । झोलेलाई पालेका छन्,’ उनले भने ।

Matadata chhalfal (5)

ज्येष्ठ नागरिक वर्ग मत फेर्ने सवालमा विभाजित छन् । कतिपयले पुरानालाई मत नदिने बताइरहँदा कतिपयचाहिँ यो उमेरमा आएर अब मत फेर्न नसकिने बताउँछन् । युवामाझ खासै लोकप्रिय हुन नसकेका पुराना दल भने ज्येष्ठ नागरिकमा समेत मत फेर्नुपर्छ भन्ने सोच विकास हुन थालेपछि सकसमा छन् ।

गौरीगञ्ज–५ का खैखाटु ताजपुरिया या रवि कोईरी हुन् अथवा मानिकचन महतो हुन्, यस पटक मत बदल्न चाहन्छन् । तर, गौरीगञ्ज–३ ठेकीटोलाकी ५० वर्षीय फागुनी ताजपुरिया भने पुरानै पार्टीलाई मत दिने बताउँछिन् । ‘ट्वाइलेट बनाइदियो, टिना हाल्दियो, कल दियो, ग्यास दिने भन्दैछन्,’ म त पुरानैलाई भोट दिन्छु ।’

Matadata chhalfal (4)

गौरादह–८ शिवु ताजपुरिया र मंगल ताजपुरिया पनि यसअघि पुरानै पार्टीका मतदाता हुन् । अहिले नयाँलाई मत दिने उनीहरूको दाबी छ । ‘हामीले पुराना पार्टी हेरिसक्यौँ– एमाले पनि हेर्‍यौँ, कांग्रेस पनि हेर्‍यौँ, माओवादी पनि हेर्‍यौँ । अब बच्चाहरू र आफ्नो भविष्य सुधार्नु पर्छ, देशलाई जोगाउनु पर्छ,’ मंगलले भने, ‘हामीलाई विकास चाहियो ।’

सोही ठाउँका एमाले कार्यकर्ता भद्रसिंह ताजपुरिया भने नयाँको हल्ला धेरै भए पनि मत नआउने बताउँछन् । ‘चुनाव अघिका खेल भएकै छैन । अब हुन्छ खेल,’ उनले भने ।

तर, सोही ठाउँकी रामवती ताजपुरिया भने विगतमा एक प्याकेट चाउचाउमा पनि भोट बिकेको बताउँदै यस पटक मानिस सचेत भएको दाबी गर्छिन् ।

गौरादह–८ कै रूपनारायण घिमिरे ७१ वर्षका भए । उनलाई पनि मत फेर्नुपर्छ भन्नेहरू धेरै रहेको जस्तो लाग्छ । ‘मत फेर्छु भन्नेहरू धेरै छन्, तर आफ्नो त हात अन्त जाँदैन,’ उनले भने, ‘घरका छोराछोरी भने अर्कै कुरा गर्छन् ।’

Matadata chhalfal (7)

गौरादह–७ का गोविन्द राउत र सौरभ फुयाँल पनि मत बदल्ने सोचमा छन् । सोही ठाउँका विष्णु पराजुली भने आफ्ना घर परिवारका सबैले पुरानै पार्टीलाई मत दिने दाबी गर्छन् । सोही ठाउँका ७२ वर्षीय बलबहादुर राई, चन्द्रकला दर्जी, गौरादह–३ का भुपाल थापा नयाँलाई मत दिने बताउँछन् ।

दमक–९ का भानेश्वर चौधरी पुरानालाई यसअघि मत दिएको बताउँदै अब नयाँलाई दिने बताउँछन् । दमक–३ का दिपेन्द्र राई, दिलिप ताजपुरिया नयाँलाई मत दिने बताइरहँदा सोही ठाउँका पूर्ण धिमाल, बलभद्र धिमाल भने पुरानो छोड्न नसक्ने बताउँछन् ।

Matadata chhalfal (6)

गौरादह–९ का टीकाराम प्रसाईं हुन् या कमल गाउँपालिका–१ का गोपाल ताजपुरिया हुन् । सबै मत बदल्ने चाहनामा छन् । गौरीगञ्ज–५, दाङीटोलका मणिचन्द महतो पनि नयाँको माहोल रहेको बताउँछन् । ‘माहोल त नयाँको चल्दैछ । सबैलाई हेरेँ, अब नयाँलाई पाँच वर्ष हेर्ने हो ।’

गौरादह–८ का कालीप्रसाद ताजपुरिया पनि मत बदल्ने चाहनामा छन् । ‘यसपालि देखाएरै नयाँलाई भोट हाल्ने हो । यसअघि त हामीले आफ्नै ठाउँका नेता भनेर साथ दिएकै थियौँ नि । बाउ सरह थियो हाम्रो केपी । अब केपीबाट पार लाग्दैन,’ उनले भने ।

कमल–१ का ७८ वर्षीय डिल्ली बहादुर खड्का भने मत नबदल्ने बताउँछन् । ‘९५ प्रतिशत बुढापाकाहरूले पुरानै छोड्दैनन् । म पनि छोड्दिनँ । युवाहरूले भनेर हुन्छ ? उनीहरू कति नै छन् र ?,’ उनले भने, ‘यहाँ पुराना कै बाहुल्यता छ । ठुला नेताहरूलाई एकपटक अन्तिम मौका दिनुपर्छ र अर्को पटकचाहिँ बिदा हुनुपर्छ ।’

सोही ठाउँका ८४ वर्षीय तिलकबहादुर पोखरेल मत बदल्ने बताउँछन् । कमल–१ कै ७० वर्षीय छवि श्रेष्ठ आफूहरू लामो समयदेखि एमालेकै समर्थक रहेको बताउँछन् । पहिलेदेखि नै समर्पित रहेको बताउँदै उनी लहडमा मत नफेर्ने बताउँछन् ।

Matadata chhalfal (3)Matadata chhalfal (8)Matadata chhalfal (9)Matadata chhalfal (1)Matadata chhalfal (2)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप