शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

बजेटको अर्धवार्षिक समीक्षा मङ्गलबार सार्वजनिक गरिँदै

सोमबार, २६ माघ २०८२, १९ : ०३
सोमबार, २६ माघ २०८२

काठमाडौँ । सरकारले भोलि (मङ्गलबार) चालु आर्थिक वर्ष (२०८२/८३) को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने भएको छ ।

अर्थ मन्त्रालयले मङ्गलबार दिउँसो १ बजे पत्रकार सम्मेलनमार्फत बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्न लागेको हो । मन्त्रालयले बजेट समीक्षाका लागि पछिल्लो दुई महिनादेखि बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाललाई संयोजक तोकेर काम गरिरहेको थियो ।

मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले मन्त्रालयले पत्रकार सम्मेलन गरेर बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्न लागेको बताए । प्रवक्ता पाण्डेयले बजेट समीक्षा माघ २० देखि २५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य भए पनि ढिला गरी भोलि सार्वजनिक गर्न लागिएको बताए ।

चालु आर्थिक वर्षको ६ महिना (साउनदेखि पुससम्म) को यथार्थ विवरण प्राप्त भइसकेपछि मन्त्रालयले बजेट कार्यान्वयनको अवस्था, राजस्व सङ्कलन र खर्चको स्थितिको मूल्याङ्कन गर्दै अर्धवार्षिक समीक्षा तयार गरिएको मन्त्रालयले जनाएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी ऐनमा बजेट तथा कार्यक्रमको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन हरेक वर्षको माघ मसान्तभित्र सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था छ  । अर्थ मन्त्रालयले यस्तो प्रतिवेदन सार्वजनिक गर्ने मितिभन्दा कम्तीमा १५ दिन अगावै तयार गर्ने ऐनमा व्यवस्था छ  ।

चालु आर्थिक वर्षमा पनि विगतमा जस्तै बजेट अनुमान संशोधन गरेर आकार घटाउने निश्चितप्रायः देखिएको छ । सरकारले ल्याएको बजेटपछि भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण बजेट कार्यान्वयन सहज रूपमा भएको छैन । आन्दोलनका कारण अन्य वित्तीय भार थपिएको छ । बजेटमा नराखिएका दायित्व वर्तमान सरकारलाई थपिएको छ ।

त्यसैले पनि सरकारले ल्याएको बजेट कार्यान्वयनदेखि बजेट कटौती हुने निश्चित देखिएको हो । जेनजी आन्दोलनपछि २१ फागुनमा हुने निर्वाचनका लागि ३० अर्बसम्म बजेट सरकारले परिचालन गर्नुपर्ने अवस्था छ । जसका लागि विकास बजेट कटौती गर्नुपर्ने बाध्यता छ ।

अर्थ मन्त्रालयले फागुन २१ मा हुने निर्वाचन र जेनजी आन्दोलनका क्रममा ध्वंश भएका सरकारी संरचनाको पुनर्निर्माणका लागि खर्चको जोहो गर्न ५३ आयोजनाका १ खर्ब २० अर्ब रुपैयाँ बजेट रोक्का गरेर निर्वाचनका लागि खर्च गर्ने रणनीतिका साथ काम भइरहेको छ ।

तत्कालीन अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएका थिए  । विगत पछिल्ला १० वर्षदेखि निरन्तर रूपमा बजेटको अर्धवार्षिक समीक्षामा बजेटको अनुमान संशोधन गरेर आकार घटाउने गरिएको छ  ।

कुल विनियोजित बजेटमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात् २०.८ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९.१ प्रतिशत बजेट छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप