वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण: के भएको थियो सोमबार बिहान ?
सारांश
- वीरगन्जमा भन्सार छलीका कपडा नियन्त्रण गर्ने क्रममा सशस्त्र प्रहरीमाथि आक्रमण भएको थियो।
- प्रहरीले घटनामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको छ, र अनुसन्धान जारी छ।
- आक्रमणमा एक असईसहित तीन जना सशस्त्र प्रहरी घाइते भए, र १२ लाख ७२ हजार रुपैयाँ बराबरको कपडा बरामद गरियो।
वीरगन्ज । वीरगन्जमा भन्सार छलीका कपडा नियन्त्रण गर्ने क्रममा सशस्त्र प्रहरीमाथि भएको आक्रमण प्रकरणमा पर्सा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।
घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका चारै जनालाई सिसिटिभी फुटेजको आधारमा स्क्रिनिङ गरी नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार घटनासम्बन्धी अनुसन्धान जारी रहेकाले अन्य विवरण हाल गोप्य राखिएको छ। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ।
सोमबार बिहान के भएको थियो ?
सोमबार बिहान करिब साढे ९ बजे सशस्त्र प्रहरी बल नेपाल, भन्सार कमान्ड पोस्ट वीरगन्जबाट डिएसपी विकास अधिकारीको नेतृत्वमा भन्सार कार्यालयका कर्मचारीसहितको टोली वीरगन्जको आदर्शनगर क्षेत्रमा खटिएको थियो। भन्सार छलीका कपडा भण्डारण गरिएको गोप्य सूचनाको आधारमा टोली मदन गुप्ताको घरमा पुगेको थियो ।
गोदाम सञ्चालकले ताल्चा खोलेपछि सबै कानुनी प्रक्रिया पूरा गरी प्रमोद साह कानुको नाममा रहेको गोदाममा सर्च अभियान सञ्चालन गरिएको सशस्त्र प्रहरी बल पर्साका प्रमुख एसपी मोहन क्षेत्रीले बताए ।
सर्चका क्रममा गोदामबाट गैरकानुनी रूपमा भण्डारण गरिएको १२ लाख ७२ हजार रुपैयाँ बराबरको भन्सार छलीका कपडा बरामद गरिएको थियो ।
कपडा लैजाँदै गर्दा एक्कासि आक्रमण
बरामद कपडा सशस्त्र प्रहरीको भ्यानमा लोड गरी वीरगन्ज भन्सार कार्यालय लैजाने क्रममा बाहिरबाट एक्कासि व्यापारीको हुल आएर प्रहरीमाथि आक्रमण थालेको एसपी क्षेत्रीले जानकारी दिए।
आक्रमणमा एक जना असईसहित तीन जना सशस्त्र प्रहरी घाइते भएका छन्। उनीहरूको सामान्य उपचारपछि कार्यालय फर्किएको सशस्त्र प्रहरीले जनाएको छ। आक्रमणका क्रममा सशस्त्र प्रहरीका एसपी चढ्ने गाडीसमेत दुई वटा सवारी साधनको सिसा फुटेको छ।
बरामद सबै कपडा आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइसकिएको छ ।
पूर्व प्रहरी अधिकारीको प्रतिक्रिया
वीरगन्जमा भएको घटनालाई पूर्व प्रहरी अधिकारीहरूले कानुनी राज्यको उपहासको रूपमा व्याख्या गरेका छन्। उनीहरूका अनुसार कानुनअनुसार भन्सार छलीका सामान नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीमाथि आक्रमण हुनु राज्य व्यवस्थामाथिको ठाडो चुनौती हो।
नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले तस्करी नियन्त्रणमा खटिएका सुरक्षाकर्मीमाथि भएको हमला कानुनको शासनमाथि गम्भीर प्रश्न उठाउने घटना भएको बताए। निर्वाचनको मुखमा प्रहरी कारबाहीका क्रममा व्यापारीको तर्फबाट यस्तो आक्रमण हुनु देशभित्र अराजकता मौलाउँदै गएको संकेत भएको उनको भनाइ छ।
उनले भने, ‘यदि छापामारी गलत थियो भने त्यस विरुद्ध कानुनी उपचार खोज्ने बाटो खुला थियो । अदालत जान सकिन्थ्यो। तर त्यसरी आक्रमण गर्नु एकदमै निन्दनीय हो । यो कानुनी राज्यको उपहास हो ।’
यसैबिच पर्सा जिल्ला प्रहरी प्रमुख सुधिपराज पाठकले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तीव्र बनाइएको जानकारी दिँदै दोषी जो–कोही भए पनि कानुनको दायरामा ल्याइने स्पष्ट पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण