सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
ब्याटल ग्राउन्ड रौतहट–१

रौतहट–१ का मतदाताको गुनासो : २० वर्षदेखिको समस्या समाधान हुन सकेन

मङ्गलबार, २७ माघ २०८२, ११ : ५०
मङ्गलबार, २७ माघ २०८२

सारांश

  • रौतहट क्षेत्र नं. १ मा निर्वाचन नजिकिँदै गर्दा चुनावी चहलपहल बढेको छ।
  • मतदाताहरूले बागमती नदीमा पुल निर्माण नभएको र विकासका योजनाहरू पूरा नभएको गुनासो गरेका छन्।
  • स्थानीय बासिन्दाले पुराना दलका नेताप्रति असन्तुष्टि जनाउँदै नयाँ विकल्प खोज्ने कुरा गरेका छन्।
00:00 / NaN:NaN
Audio By AI

वीरगन्ज । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी चहलपहल बढ्दै गएको छ । देशको अन्य भूभागमा जस्तै रौतहट क्षेत्र नम्बर– १ मा पनि चुनावी सरगर्मी बढिरहेको छ ।

पूर्वप्रधानमन्त्रीदेखि लिएर पटक–पटक मन्त्री बनेका हेभीवेट उम्मेदवार रहेको यस क्षेत्रमा निर्वाचनलाई लिएर अझ रस्साकस्सी सुरु भएको छ ।

क्षेत्रमा दुई दशकदेखि अल्झिएका विकास निर्माणका योजना पूरा गर्न नसकेकोमा आक्रोशित मतदातालाई विश्वासमा लिने प्रयासस्वरुप भेटघाटमा विभिन्न उम्मेदवारले आफ्ना अभियान केन्द्रित गरेका छन् ।

सो क्षेत्रको स्थलगत रिपोर्टिङका क्रममा मतदाताले दुई दशकदेखि बागमती नदीको पुल निर्माण नहुँदा भोग्नु परेको सास्तीबारे गुनासो पोखे । खासगरी यमुनामाई, दुर्गा भगवती गाउँपालिका र राजदेवी नगरपालिकाका मतदाता पुराना दलका उम्मेदवारप्रति असन्तुष्ट देखिएका छन् ।

रौतहट क्षेत्र नम्बर–१ मा पर्ने राजदेवी नगरपालिका–३ निवासी राजाराम राउतले यो पटकको निर्वाचनलाई लिएर आफ्नो मनमा धेरै उत्साह जागेको बताए । यसपटकको निर्वाचनमा मतदान गरेर देशलाई सही बाटोमा लम्काउने उनको अठोट छ ।

राउतले भने, ‘यो क्षेत्रले ठुला नेतालाई नै निर्वाचित गर्दै आए पनि क्षेत्रको अवस्था दयनीय छ । बागमतीमा पुल नहुँदा आसपासका धेरै जनता आवतजावत गर्नका लागि डुङ्गा प्रयोग गर्नुपर्ने बाध्यतामा छन् । रोजगारी तथा कृषि क्षेत्रका समस्या पनि उस्तै छन् ।’

दुई छाक टार्नकै लागि यस क्षेत्रका युवा सिजनमा भारतको पञ्जाबतिर रोजगारीका लागि जाने गरेको राउतको भनाइ छ । बागमती नदीमा तटबन्ध नहुँदा बाढीले बर्सेनि ठुलो डुबान गर्नुका साथै कृषि बालीमा क्षति हुने गरेको उनले सुनाए ।

दुर्गा भगवती गाउँपालिका वडा नम्बर– ५ निवासी पार्वती देवीले निर्वाचनप्रति उत्साह नभएको बताइन् । ‘भोट दिएर के गर्नु ? हाम्रो समस्या कसले बुझेको छ र ?’ उनले भनिन्, ‘वर्षामा बाढी र डुबानको समस्या हुन्छ । अनुदान कसैले दिँदैन । रोजगारीको अभाव छ । हामीलाई कसरी छाक टार्ने भन्ने समस्या सधैँ भइरहन्छ । नेतालाई भोट दिएर हामीलाई अहिलेसम्म के उपलब्धि भएको छ र ?’

चुनावको समयमा गाउँ–गाउँमा नेताहरू आएर विकास निर्माणका सबै योजना पूरा गर्ने आश्वासन दिने तर जितेर गइसकेपछि मतदातालाई फर्केर पनि नहेर्ने परिपाटी रहेको उनले सुनाइन् ।

यमुनामाई गाउँपालिका र दुर्गा भगवती गाउँपालिकाको बिचमा पर्ने नदीमा माधवकुमार नेपालले पुलको शिलान्यास गरेको २० वर्ष भइसक्दा पनि निर्माण हुन नसकेको गुनासो मतदातामा छ । मुख्य सडक पक्की  बनाइए पनि अन्य सडकको अवस्था बेहाल रहेको स्थानीय बताउँछन् ।

यमुनामाई गाउँपालिका–७ निवासी रफिक मियाँले पनि पुराना दलका नेताहरूप्रति कुनै विश्वास नरहेको बताए । सडक, खानेपानी, कृषिका लागि बोरिङ जस्ता समस्या वर्षौंदेखि समाधान हुन नसकेको उनको गुनासो छ ।

गौर नगरपालिका वडा नम्बर– १ निवासी सुरेश ठेलावाल (भगतजी) ले जेनजी आन्दोलनपछि भएको परिवर्तनले केही आशा जगाएको बताए । गरिबका छोराछोरीहरूको रगतको बलिदानीले देशमा ठुलै उथलपुथल ल्याएको भन्दै उनले अब जनताले आफ्नो ब्यालेटबाट परिवर्तन ल्याउने दाबी गरे ।

उनले भने, ‘यो क्षेत्रले ठुला–ठुला नेता बनायो, तर क्षेत्रले भने केही पाएन । यहाँका मतदाता बेरोजगार छन्, सडक र नालाको बेहाल छ । शिक्षामा कसैको ध्यान छैन । महँगो बोर्डिङ स्कुलमा हामी पढाउन सक्दैनौँ ।’

पटक–पटक आश्वासन दिने तर काम नगर्ने नेताहरूको विकल्पमा अब जनताले निर्वाचनबाट नयाँलाई अवसर दिने सुरेशको भनाइ छ । ‘मैले ठेला चलाएकै भरमा छोराछोरीलाई पढाएँ तर पढेर पनि छोराछोरी बेरोजगार हुनु परेको छ,’ उनले भने, ‘हामी कहिलेसम्म यस्तो अवस्थामा बस्ने ? अब परिवर्तन हुनैपर्छ ।’

बडहर्वा निवासी छठु साहले पनि क्षेत्रको अवस्था कष्टकर रहेको सुनाए । अहिलेसम्म बाटोघाटो, नाला, पुल तथा किसानका लागि कुनै आवश्यक सामग्री सहज रूपमा वितरण नहुने गरेको उनले जनाए । यतिका वर्षसम्म निर्वाचित भएर पनि जनताका आधारभूत समस्या समाधान गर्न नसक्नेलाई अब फेरि विश्वास गरेर भोट दिनुको अर्थ नरहेको उनको भनाइ छ ।

रौटहट–१ मा एमालेबाट अजयकुमार गुप्ता, नेपाली कांग्रेसबाट अनिलकुमार झा, नेपाली कम्युनिस्ट पार्टीबाट माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजेश कुमार चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मदन शाह उम्मेदवार छन् ।

यस्तै, जसपा नेपालले योगेन्द्र राय यादव, जनमत पार्टीले देवेन्द्र मिश्र, प्रगतिशील लोकतान्त्रिक पार्टीले राजाराम मुखियालाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा २१ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अली असगर देवान
अली असगर देवान
लेखकबाट थप