उपत्यकाका १५ सिटमा ‘नयाँ कांग्रेस’, टिकट नपाउने निस्केनन् चुनाव प्रचारमा
सारांश
- नेपाली कांग्रेसले काठमाडौं उपत्यकामा १५ मध्ये ८ सिटमा मात्रै उम्मेदवार उठाएको थियो, जसमा ७ जना निर्वाचित भए।
- गगन थापाको नेतृत्वमा कांग्रेसले उपत्यकाका १५ वटै सिटमा उम्मेदवार खडा गर्यो, तर अघिल्लो चुनावका ७ मध्ये ५ जनाले टिकट पाएनन्।
- प्रकाशमान सिंहलगायतका पुराना नेताहरूले टिकट नपाउँदा पार्टीभित्र असन्तुष्टि बढेको छ, जसले चुनावमा चुनौती थप्न सक्छ।
काठमाडौँ । नेपाली कांग्रेसले २०७९ सालको निर्वाचनमा काठमाडौँ उपत्यकाका १५ मध्ये केवल ८ ठाउँमा मात्र उम्मेदवार उठाएको थियो । त्यस चुनावमा देशैभर तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सँग कांग्रेसले तालमेल गरेको थियो । र ती ८ मध्ये ७ जना निर्वाचित भएका थिए ।
काठमाडौँमा १०, ललितपुरमा ३ र भक्तपुरमा २ सिट छन् । तीमध्ये कांग्रेसले काठमाडौँका ६ तथा ललितपुर र भक्तपुरका १/१ सिट गरी ८ सिटमा उम्मेदवार उठाएको थियो । उक्त चुनावमा काठमाडौँ–१ मा प्रकाशमान सिंह, काठमाडौँ–३ मा सन्तोष चालिसे, काठमाडौँ–४ मा गगन थापा, काठमाडौँ–५ मा प्रदीप पौडेल, काठमाडौँ–६ मा भीमसेनदास प्रधान, काठमाडौँ–१० मा राजेन्द्र केसी, ललितपुर– १ मा उदय शमशेर राणा र भक्तपुर २ मा दुर्लभ थापा क्षेत्रीलाई उम्मेदवार बनाएको थियो, प्रधानबाहेक सबैले जिते ।
काठमाडौँ–६ मा प्रधानले हारेनन् मात्र, तेस्रो भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शिशिर खनालले १४ हजार २२१ मत ल्याएर विजयी हुँदा एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ९ सय १७ मत ल्याएका थिए । प्रधानले भने ८ हजार ८१२ मत पाएका थिए ।
तीन दलको चुनावी तालमेलमा काठमाडौँ–२ मा तत्कालीन माओवादी केन्द्रकी ओनसरी घर्ती, काठमाडौँ–७ मा माओवादी केन्द्रकै मानुषी यमि भट्टराई, काठमाडौँ–८ मा नेकपा (एकीकृत समाजवादी)का जीवनराज श्रेष्ठ, काठमाडौँ–९ मा माओवादी केन्द्रकी कल्पना धमला, ललितपुर–२ मा नेकपा (एकीकृत समाजवादी)का कृष्णलाल महर्जन, ललितपुर–३ मा माओवादी केन्द्रकी पम्फा भुसाल र भक्तपुर–१ मा पनि माओवादी केन्द्रकै सुनिल गोठे उम्मेदवार बनेका थिए । तालमेलमा कांग्रेसबाहेक दलबाट उम्मेदवार बनेका ७ मध्ये कसैले पनि निर्वाचन जित्न सकेनन् ।
गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट चुनिएको कांग्रेसको गगन थापा नेतृत्वको नयाँ कार्यसमितिले उपत्यकाका १५ सिटमै पार्टीका उम्मेदवार उठाएको छ । तर, अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ जितेका ७ मध्ये ५ जनाले टिकट नै पाएनन् । दुई जना दोहरिँदा बाँकी सबै नयाँ उम्मेदवार छन् । एक जना समानुपातिक प्रणालीबाट ०७९ मा प्रतिनिधिसभामा प्रवेश गरिसकेकी उम्मेदवार छन् ।
२०७९ मा प्रत्यक्षतर्फ जितेकामध्ये काठमाडौँ–५ बाट जितेका पौडेल र ललितपुर–१ बाट जितेका राणा मात्रै दोहरिएका छन् ।
काठमाडौँ–१ का सिंह, काठमाडौँ–३ का चालिसे, काठमाडौँ–१० का केसी र भक्तपुर २ का थापाले टिकट पाएनन् । ०७९ मा काठमाडौँ–४ बाट जितेका हालका सभापति थापा भने अहिले मधेस झरेर सर्लाही–४ बाट उम्मेदवार बनेका छन् ।
केसीले नयाँलाई अवसर दिने भन्दै आफू निर्वाचन नलड्ने घोषणा गरेका थिए । केसीले काठमाडौँ–१० बाट तीन पटक निर्वाचन जितेका थिए । उनी ०७०, ०७४ र ०७९ मा विजयी भएका थिए । ०७० सालमा त उनले हाल नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हराएका थिए ।
भक्तपुर–२ बा विजयी भएका थापा अहिले बिरामी छन् । उनी गत वैशाखमा भारतको नयाँदिल्लीस्थित अपोलो स्पेक्ट्रा अस्पतालमा बायाँ पट्टिको हिप रिप्लेस्मेन्ट सर्जरी गरेर फर्किएका थिए । त्यसबाहेक उनमा अन्य स्वास्थ्य समस्या पनि रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
चालिसे र सिंहलाई भने सभापति थापाले यसपटक टिकट नै दिएनन् ।
चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । गत मंसिर २८ गते अख्तियार दुरुपयोग अनुस्न्धान आयोगले चालिसेविरुद्ध विशेष अदातलमा साढे ३ करोड बढीको अकुत सम्पत्ति आर्जन गरेको भन्दै मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएकाले विवादित व्यक्ति भन्दै सभापति थापाले नै उम्मेदवार नबनाएका हुन् ।
सिंहलाई पनि थापाले टिकट दिएनन् । सिंहले २०६४ सालबाट काठमाडौँ–१ बाट निर्वाचन लड्न सुरु गरेका थिए । २०६४, २०७०, २०७४ र २०७९ गरी ४ पटक प्रत्यक्ष निर्वाचित सिंह अहिले पनि लड्न चाहेका थिए । क्षेत्रीय समितिले उनको नाम उम्मेदवारका लागि सिफारिस गरेको पनि थियो, तर सभापति थापाले काटिदिए ।
अहिले थापाले उपत्यकामा १२ जना नयाँ उम्मेदवार बनाएका छन् । काठमाडौँ–१ मा प्रबल थापा क्षेत्री, काठमाडौँ–२ मा कबिर शर्मा, काठमाडौँ–३ मा रमेश अर्याल, काठमाडौँ–४ सचिन तिमल्सिना, काठमाडौँ–६ मा कृष्ण बानियाँ क्षेत्री, काठमाडौँ–७ मा प्रमोदहरि गुरागाइँ, काठमाडौँ–८ मा सपना राजभण्डारी, काठमाडौँ–९ नानुमैया बास्तोला, काठमाडौँ–१० मा हिमाल कार्की, ललितपुर–२ मा प्रेम कृष्ण महर्जन, ललितपुर–३ मा जितेन्द्रकुमार श्रेष्ठ, भक्तपुर–१ मा किरण न्यौपाने र भक्तपुर–२ मा कविर राणा उम्मेदवार छन् । यी सबै प्रतिनिधिसभा प्रत्यक्षतर्फका लागि नयाँ हुन् ।
नयाँमध्ये यसअघि प्रदेशसभा निर्वाचनमा पराजित भएका ३ जना छन् । काठमाडौँ–९ की उम्मेदवार बास्तोला ०७९ मा ९ को (१), ललितपुर–२ का उम्मेदवार प्रेम कृष्ण महर्जन ०७४ मा ललितपुर २ (२) र ललितपुर–३ का उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठ ०७९ को निर्वाचनमा ३(२) मा उम्मेदवार भएर पराजित भएका थिए ।
काठमाडौँ–८ बाट टिकट पाएकी सपना राजभण्डारी समानुपातिक प्रणालीबाट ०७९ मा प्रतिनिधिसभा सदस्य बनेकी थिइन् ।
उम्मेदवार बनेकामध्ये थापा तरुण दल केन्द्रीय सदस्य, कांग्रेस काठमाडौँ जिल्ला सदस्य र महासमिति सदस्य, शर्मा कांग्रेस काठमाडौँ–२ को क्षेत्रीय सभापति, अर्याल महाधिवेशन प्रतिनिधि, बानियाँ काठमाडौँ जिल्ला सभापति, गुरागाइँ केन्द्रीय सदस्य, राजभण्डारी र बास्तोला पार्टीका केन्द्रीय सदस्य हुन् । श्रेष्ठ कांग्रेस ललितपुर जिल्ला सभापति हुन् ।
नयाँ उम्मेदवार, नयाँ चुनौती
नयाँ उम्मेदवारलाई पूर्वसभापति देउवा र डा. शेखर कोइराला समूहले स्विकार्न सकेको छैन । यो समूहका टिकट पाउनेबाहेका शीर्ष नेता चुनाव प्रचार–प्रसारमा पनि संलग्न भएका छैनन् । कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघका काठमाडौँ अध्यक्ष अंशुल केसी अनुभवी नेताहरूसँग सल्लाह सुझाव लिएर अगाडि बढे नयाँ उम्मेदवारको पक्षमा नतिजा ल्याउन सकिने बताउँछन् । ‘निर्वाचनमा पार्टीभित्र मतैक्यता हुन आवश्यक छ,’ केसीले रातोपाटीसँग भने, ‘आन्तरिक एकता भयो भने सम्भावना राम्रो छ ।’
पूर्वकेन्द्रीय उपसभापति र महामन्त्री भइसकेका सिंह ४ पटक लगातार जितेको क्षेत्रमा फेरि पनि उम्मेदवार बन्न चाहेका थिए, तर पार्टीभित्रको सिनारियो बदलिएकाले क्षेत्रीय समितिले सिफारिस गर्दा पनि पनि उम्मेदवार बन्न सकेनन् । आफूले टिकट नपाएपछि उनी अहिलेसम्म चुनाव प्रचारप्रसारका लागि घरबाट बाहिरिएका छैनन् ।
सिंहलाई भेट्न २ पटक थापा घरमै पुगे, तर सिंह घरबाहिर निस्किएनन् । चुनावमा निस्किने कुनै कार्यक्रम तय नभएको सिंह निकट स्रोतले जानकारी दियो । सिंह प्रचार प्रसारमा नआए काठमाडौँ–१ मा जित निकाल्न गाह्रो हुने कांग्रेसकै नेताहरू बताउने गर्छन्, किनकि गणेशमान सिंह पुत्र प्रकाशमानको उपत्यकामा निकै राम्रो पकड छ । यसअघि उपत्यकामा उनकै सिफारिसमा टिकट वितरण हुने गरेको थियो ।
अर्कोतर्फ उपत्यका नेवारको बाहुल्य भएको क्षेत्र पनि हो । तर यस वर्ष कांग्रेसले १५ मध्ये २ जना नेवारलाई मात्रै टिकट दिएको छ, ललितपुर २ र ३ ।
काठमाडौँ कांग्रेसका पूर्वसभापति पूर्वमन्त्री भीमशेनदाश प्रधान पार्टीले टिकट वितरणमा जातीय र धार्मिक सन्तुलन नमिलाएको बताउँछन् । टिकट वितरणमा सन्तुलन मिलाउन नसकेकाले कांग्रेस उम्मेदवारहरूलाई मत माग्न जाँदा आधार देखाउन गाह्रो भएको प्रधानको भनाइ छ ।
प्रधानले रातोपाटीसँग भने, ‘काठमाडौँ नेवार जातीको बाहुल्यता भएको क्षेत्र हो । अझ काठमाडौँका ६, ७, ८, ९ र १० नेवारको बाहुल्यता छ, तर नेवार समुदायका पार्टीमा योगदान गरेका सिनियर नेताहरूले पनि टिकट पाएनन्, यसले पार्टीलाई अफ्ठ्यारो पार्छ ।’
प्राध्यापक संघका पूर्वसभापतिसमेत रहेका प्रधानले सबै पुराना नेता राम्रा नभए पनि राम्रो काम गरिरहेका नेताहरूलाई टिकट नदिइएकाले गाह्रो हुने बताए । ‘नयाँ र पुरानाको सन्तुलन मिलाएर टिकट दिनुपथ्र्यो, पार्टी नेतृत्वले बुद्धि पुर्याउन सकेन ।’
यता कांग्रेस नेता लोकेश ढकाल भने जेनजी आन्दोलनको भावनाअनुसार पार्टीले नेतृत्व परिवर्तन गरेको र उम्मेदवार पनि नयाँ उठाएको दाबी गर्छन् । ‘कांग्रेस जेनजी आन्दोलनको भावनाअनुसार अगाडि बढेको छ,’ ढकालले रातोपाटीसँग भने, ‘पार्टी नेतृत्व पनि नयाँ आएको छ । उम्मेदवार पनि नयाँ र युवालाई बनाएको छ । पार्टीको पक्षमा माहोल बनिरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण