शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
चुनावी चर्चा

जिताएर पठाएका जनप्रतिनिधिले जनपक्षीय काम नगरेको महोत्तरी–३ का मतदाताको गुनासो

बुधबार, २८ माघ २०८२, ०६ : ५६
बुधबार, २८ माघ २०८२

जनकपुरधाम । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा महोत्तरी–३ का मतदातामा खासै उत्साह देखिएको छैन । विगतका निर्वाचनमा आफूले जिताएर पठाएका जनप्रतिनिधिले जनभावना अनुसारका काम गर्न नसकेका कारण आसन्न निर्वाचनप्रति खासै उत्साह नभएको मतदाता बताउँछन् ।

महोत्तरी–३ अन्तर्गतकै पिपरा गाउँपालिका–७ का चन्द्रदेव कापरको बुझाइमा निर्वाचन भनेकै नेताहरूले जनतालाई झुक्याउने एउटा राजनीतिक पर्वमात्र हो । ‘विकास निर्माणका काम गरिदिन्छौँ, जनताको जीवनस्तरमा सुधार ल्याउँछौँ भनेर निर्वाचनमा नेताहरू भोट माग्न आउँछन्,’ उनले भने, ‘नेताहरूले भनेको कुरा पत्याएर जनताले भोट दिन्छन् तर चुनाव जितेर गएपछि कुनै काम हुँदैन । काठमाडौँमा बसेर उनीहरू सत्ताको भागबन्डा गर्छन् । जनताले भोगेका समस्यालाई बेवास्ता गर्छन् ।’

कापरले किसानहरू विभिन्न समस्या झेल्न बाध्य रहेको गुनासो गरे । ‘न सिँचाइको राम्रो प्रबन्ध छ, न न मलखादको । डीप बोरिङ गाड्छन् तर पानी आउँदैन । त्यसको मर्मत सम्भार पनि भएको छैन,’ उनले भने ।

chandar dev kapar
चन्द्रदेव कापर

संविधान सभाबाट नयाँ संविधान जारी भएपछि सम्पन्न दुई वटा संसदीय निर्वाचनमा यस क्षेत्रबाट महन्थ ठाकुर निर्वाचित भएका थिए । आसन्न निर्वाचनमा उनले आफ्नी छोरी मिनाक्षी ठाकुरलाई जसपा नेपालका तर्फबाट यस क्षेत्रबाट उम्मेदवारका रूपमा अघि सारेका छन् भने आफू केहीअघि राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित भएका छन् ।

दुई वटा निर्वाचनमा मतदाताले जिताएर पठाए पनि ठाकुरले जनताका समस्या समाधान गर्ने दिशामा कुनै भूमिका निर्वाह गर्न नसकेको कापरको आरोप छ । ‘उहाँको ध्यान परिवारवादमै छ,’ उनले भने, ‘आफू राष्ट्रिय सभामा जानुभयो, छोरीलाई यहाँ उम्मेदवार बनाउनुभएको छ । जनताको समस्या बुझ्ने फुर्सद नै उहाँमा भएन ।’

पिपरा गाउँपालिका– ६ का ७० वर्षीय सत्यनारायण यादव पनि महोत्तरी–३ मा विकास निर्माणको अवस्था दयनीय रहेको बताउँछन् । ‘नेताहरूले चुनावको मुखमा बाचा त धेरै गरे तर त्यसअनुसार विकास गर्न सकेनन् । जनतालाई मुर्ख बनाउने काममात्रै भयो,’ उनले भने ।

sat narayan yadav
सत्यनारायण यादव

कृषि पेसामा निर्भर आफूजस्ता हजारौँ किसान विभिन्न समस्या झेल्न बाध्य रहेको यादवले बताए । उनले भने, ‘यसपटक बेमौसमी वर्षाका कारण धान बाली राम्रो हुन सकेन । पिउने पानीसम्मको हाहाकार भयो, तर हाम्रा नेता फर्केर आएनन् । चुनावको बेलामा ठुलठुला आश्वासन दिएर फकाउन आउँछन् तर जितेर गइसकेपछि काम गर्दैनन् ।’

महोत्तरी–३ अन्तर्गत जलेश्वर नगरपालिकासमेत पर्दछ । जलेश्वर नगरपालिका वर्षामा डुबान हुने गर्दछ । डुबानबाट जोगाउन तटबन्ध र पानी निकासको ठोस योजना नभएको स्थानीयवासी बताउँछन् । यी समस्या समाधानका लागि पटक–पटक नेताहरूले आश्वासन दिए पनि पूरा गर्न नसकेको मतदाताको गुनासो छ ।

जलेश्वर–६ निवासी रन्जित मण्डलले भने, ‘हामीलाई कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रमा धेरै असुविधा छ । नेपालको सबैभन्दा पुरानो अस्पतालमध्येको एउटा मानिने जलेश्वर प्रादेशिक अस्पतालको दुरावस्था छ । जनतालाई आधारभूत सेवा उपलब्ध गराउन कसैले अहिलेसम्म ध्यान दिएनन् ।’

ranjeet malah
रन्जित मण्डल

जलेश्वरबाट मटिहानी जाने बाटोमा भेटिएका कामेश्वर मलिकसँग पनि प्रशस्त गुनासो छ । बाँसको कलात्मक सामग्री बनाएर विक्री गर्दै गुजारा चलाउने उनले निर्वाचनबारे कुनै चासो नभएको बताए । ‘मेहनत गरेर गुजारा चलाउने हामीजस्ता मानिसका लागि कुन नेताले के गरिदिने हो र ?’ उनले भने, ‘महँगी छ । दिनभरि काम गरेर कमाएको पैसाले दुई छाक टार्न मुस्किल हुन्छ । छोराछोरी पढाउने, बिरामी हुँदा उपचार गर्ने, चाडपर्व धान्ने पैसा हुँदैन । दशकौँदेखि हामी यस्तै अवस्थामा छौँ ।’

kameswar malik
कामेश्वर मलिक

भोट दिएर जीवनस्तरमा कुनै सुधार आउँछ भन्ने भरोसा नै हराएको मलिकको भनाइ छ । ‘नयाँले अब केही गर्छन् भनेर गाउँमा चर्चा भएको सुन्दैछु,’ उनले भने, ‘हेरौँ, भोट हाल्ने दिनसम्म के हुन्छ !’

महोत्तरी–३ मा नेपाली कांग्रेसले बजरंग नेपालीलाई उम्मेदवार बनाएको छ । नेकपा एमालेले मनोज सिंह, जसपा नेपालले मिनाक्षी ठाकुर, राष्ट्रिय स्वतन्त्र पार्टीले उज्ज्वल झा र नेपाली कम्युनिस्ट पार्टीले राजकिशोर साहलाई उम्मेदवार बनाएको छ । यहाँ विभिन्न दल र स्वतन्त्र गरी ४१ जना उम्मेदवार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नवीन प्रियदर्शी
नवीन प्रियदर्शी
लेखकबाट थप