मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

प्रहरी प्रतिष्ठानको ७०औँ वार्षिकोत्सव : अवकाश प्राप्त निरीक्षक चौधरीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’

बिहीबार, २९ माघ २०८२, १४ : १६
बिहीबार, २९ माघ २०८२

काठमाडौँ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले आफ्नो ७०औँ वार्षिकोत्सव विशेष समारोहका साथ मनाएको छ। बिहीबार काठमाडौँको महाराजगन्जस्थित प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रशिक्षणको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएको भन्दै अवकाश प्राप्त प्रहरी निरीक्षक ठागा प्रसाद चौधरीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरेका छन्।

सोही अवसरमा प्रशिक्षण कार्यलाई प्रभावकारी बनाई दक्ष जनशक्ति उत्पादनमा उत्कृष्ट ठहरिएको नेपाल प्रहरी शिक्षालय भरतपुरलाई सर्वोत्कृष्ट तालिम केन्द्रको रनिङ्ग शिल्ड प्रदान गरिएको छ। शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाले उक्त पुरस्कार ग्रहण गरेकी छिन्।

समारोहमा प्रहरी महानिरीक्षक कार्कीले प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रेरणा–२०८२’ स्मारिकाको लोकार्पण गर्दै उत्कृष्ट कार्य गर्ने प्रहरी निरीक्षक उमेश गुरूङ श्रेष्ठ र सहयोग पुर्‍याउने रूप्से स्पोर्टस म्यानेजमेन्टलाई समेत पुरस्कृत गरे। सम्बोधनका क्रममा महानिरीक्षक कार्कीले नेपाल प्रहरीको आधारशीला नै अनुशासन र तालिम भएको उल्लेख गर्दै बदलिँदो सुरक्षा चुनौती र प्रविधिको विकास अनुसार तालिम प्रणालीलाई परिमार्जन गर्नुपर्नेमा जोड दिए। उनले सात दशकदेखि प्रतिष्ठानले गुणस्तरीय र अनुशासित जनशक्ति उत्पादन गरेर संगठनको गरिमा बढाएको भन्दै अग्रजहरूको योगदानको स्मरण गरे।

कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धि विक्रम शाहले धन्यवाद ज्ञापन गर्दै संस्थाको व्यावसायिकतालाई कायम राख्न आफूहरू प्रतिबद्ध रहेको बताए। त्यस्तै निर्देशक प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले प्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

 समारोहमा अवकाश प्राप्त उच्च प्रहरी अधिकारी, वरिष्ठ प्रहरी अधिकृत र विभिन्न पाहुनाहरूको उपस्थिति रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप