सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
चुनावी चर्चा

कुनै पनि उम्मेदवार भोट माग्न नजाने बागलुङको एउटा गाउँ

बिहीबार, २९ माघ २०८२, १४ : २७
बिहीबार, २९ माघ २०८२

सारांश

  • बागलुङको दुर्गम निसेलढोरमा निर्वाचनको रौनक देखिएको छैन, जहाँ उम्मेदवारहरू भोट माग्न जाँदैनन्।
  • विद्युत सेवा नपुगेको र सडकको दुरावस्थाका कारण स्थानीयवासी आधारभूत सुविधाबाट वञ्चित छन्।
  • स्थानीयहरू विकास र सुविधा दिने नेतालाई भोट दिने प्रतीक्षामा छन्, तर सिकार आरक्षका कारण वनजंगल र खोलामा पनि समस्या छ।

बागलुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिएसँगै देश निर्वाचनमय बनेको छ । सहरदेखि गाउँसम्म चुनावी नारा घन्किन थालेका छन् । उम्मेदवार भोट माग्दै घरदैलो गरिरहेका छन्, तर बागलुङको सबैभन्दा विकटमा रहेको निसेलढोर सुनसान छ ।

यस गाउँमा कुनै पनि निर्वाचनमा चहलपहल हुने गरेको छैन । भौगोलिक हिसाबले टाढा रहेको हुँदा उम्मेदवारसमेत भोट माग्न पुग्दैनन् ।

यहाँका मतदाता भोट हाल्न पनि एक दिन लगाएर निसी गाउँमा झर्नुपर्छ । निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोरमा हिउँदमा अत्यधिक चिसो हुने हुँदा अधिकांश स्थानीय घुम्ती बसाइँ गर्छन् । बर्खामा निसेलढोर (लेक) बस्ने स्थानीय हिउँदमा निसी (बेसी) गाउँमा झर्छन् ।

यो गाउँमा पछिल्लो समय स्थायी रूपमा बाह्रै महिना बस्नेको संख्या बढ्दो छ । यो सिजनामा पनि ७० घर परिवार निसेलढोरमा बस्छन् ।

निसेलढोर  0

बेसी क्षेत्रमा बिस्तारै चुनावको चर्चा हुन थाले पनि यहाँ भने कुनै राजनीतिक गतिविधि हुन सकेको छैन । बेसी झरेका बेला नेता–कार्यकर्ताले भेटेर भोट मागे पनि गाउँमै भने कोही पुग्दैनन् । उम्मेदवार नै मत माग्न नजाने हुँदा स्थानीयलाई निर्वाचनबारे चासो नै छैन । गरिबी, अशिक्षा र अन्धकारले पिल्सिएको निसेलढोरवासी विकासको पर्खाइमा छन् । विद्युत्, खानेपानी, शिक्षा र स्वास्थ्य सुविधा दिने नेतालाई भोट दिने स्थानीयवासी बताउँछन् ।

  • विद्युत् छैन, टुकी र दियालोको भर

निसेलढोर गाउँमा अहिलेसम्म विद्युत् सेवा पुगेको छैन । विद्युत् नपुग्दा स्थानीयवासी अन्धकारमा बस्न बाध्य छन् । करिब ३०० घर परिवार बसोबास गर्ने निसेलढोरमा हिउँदमा ७० परिवार बस्छन् । पछिल्लो समय फाट्टफुट्ट केही घरमा सोलार प्यानलमार्फत विद्युतीय सुविधा लिए पनि यहाँका अधिकांश घर–परिवार टुकी र दियालोकै भरमा छन् ।

पहिले बर्खाको समयमा मात्रै निसेलढोर पुग्ने निसीवासी अहिले स्थायी रूपमै यहाँ बस्न थालेका हुन् । निसेलढोरमा बस्ती विस्तार भए पनि राज्यले विद्युत् पुर्‍याउन नसकेका कारण मटीतेलले टुकी बाल्नु परेको स्थानीय सम्झना विकले बताइन् । मटीतेल ल्याउनका लागि पनि घण्टौँ लगाएर ढोरपाटन पुग्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

सम्झनाले भनिन्, ‘बेसी झर्दा त बिजुली बलेको देखिन्छ । यहाँ त अहिलेसम्म लाइन आएको छैन । नेताहरूले बेला–बेला विद्युत् ल्याउँछौँ त भन्नुहुन्छ, तर कहिले आउँछ भन्ने अत्तोपत्तो छैन । हामी पनि यही देशका जनता हौँ । बिजुलीको सुविधा कहिले पाउने ?’

निसेलढोर  गाउँ

गाउँमा विद्युत् नहुँदा रेडियो सुन्न, टेलिभिजन हेर्न र मोबाइल चार्ज गर्नसमेत समस्या हुने स्थानीय कुलबहादुर घर्ती मगरले बताए । तीन वर्ष अगाडि नेपाल टेलिकमले टावर राखेपछि फोन गर्न सुविधा पाए पनि विद्युत् नहुँदा मोबाइल चार्ज गर्न नपाइने उनको भनाइ छ । अहिले दुई घण्टा हिँडेर मोबाइल चार्ज गर्नका लागि ढोरपाटन नगरपालिका–९ स्थित भुजी गाउँमा पुग्नु पर्ने बाध्यता रहेको घर्तीले बताए ।

‘दुई÷तीन वर्ष अगाडि त यहाँ टावर पनि थिएन । बेसीतिर आफन्तलाई फोन गर्नु परे गाउँमाथिको डाँडामा पुग्नु पर्थ्यो । अहिले टावर त बन्यो, तर बिजुली आएन,’ उनले भने, ‘टावर पनि हिउँदमा चल्छ । बर्खामा चल्दैन, लाइन आए त धेरै सुविस्ता (सुविधा) हुने थियो ।’

  • व्यवस्थित छैनन् सडक

नेपालकै एकमात्र सिकार आरक्ष ढोरपाटनभित्र पर्ने निसेलढोर २०७६ सालमा सडकले जोडिएको थियो । ढोरपाटनदेखि निसेलढोर जोडिएको उक्त सडक व्यवस्थित छैन । यद्यपि निसीखोला गाउँपालिकाले यस वर्ष सडक स्तरोन्नति गर्न थालेको छ । मसखोलादेखि निसेलढोरसम्मको सडक निकै साँघुरो र अव्यवस्थित हुँदा सवारी साधन जोखिमपूर्ण रूपमा चल्ने गर्छन् ।

सडक खुलेदेखि अहिलेसम्म बर्खामा गाडी सञ्चालन हुन नसकेको स्थानीय थमसरा विकले बताइन् । हिउँदमा जसोतसो गाडी गुड्न सक्ने भए पनि बर्खाको करिब चार महिना ठप्प हुने उनको भनाइ छ । बिरामी हुँदा गाडी नपाइएपछि कैयौँ पटक डोलामा बिरामी बोकेर अस्पताल पुर्‍याएको विकले स्मरण गरिन् ।

उनले भनिन्, ‘निसीमा बस्दा नेताहरू भोट माग्न आउँथे । तपाईंहरूका लागि निसेलढोरमा राम्रो सडक, बिजुली र खानेपानीको सुविधा ल्याउँछौँ भन्थे । उनीहरू चुनाव जितेपछि कहाँ–कहाँ पुगे, हाम्रो दुःख पीडा यहीँ छ । यसपालि पनि चुनाव आउँदै छ रे ! गफ दिने नेतालाई होइन, काम गर्नेलाई भोट दिने हो ।’

निसेलढोर  सडक

निसेलढोर पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको भए पनि अप्ठ्यारो सडकका कारण पर्यटक फाट्टफुट्टमात्रै पुग्ने गरेका छन् । बर्खामा यातायात सञ्चालन नहुँदा हिउँदमै खाद्यान्न जोहो गरेर राख्नु पर्ने बाध्यता छ । निसेलढोरमा आलु, स्याउ र सिमी लगायतका कृषिजन्य उत्पादन राम्रो हुने तर सडकको दुरावस्थाका कारण बजारीकरणका लागि समस्या हुने गरेको स्थानीय बताउँछन् ।

  • काठ काट्न र माछा मार्दा सिकार आरक्षको अङ्कुश !

निसेलढोरका स्थानीयले वन जङ्गलबाट घाँस–दाउरा ल्याउन र खोलामा माछा मार्न नपाएपछि जीविका चलाउन समस्या छ । ढोरपाटन सिकार आरक्षले घर नजिकैको जङ्गल र खोलाबाट आवश्यक वस्तु ल्याउन नदिँदा दैनिकी प्रभावित हुने गरेको छ । सयौँको सङ्ख्यामा पशुपालन गर्ने र खेतीपाती गरी दैनिकी चलाउँदै आएका स्थानीयलाई वन–जङ्गल र खोलामा जानसमेत सिकार आरक्षले रोक लगाउने गरेको छ ।

स्थानीय सुरबहादुर घर्तीले पहिले काठ काटेर घर बनाउँदा कतैबाट रोक नलगाएको भन्दै अहिले नेपाली सेनाले नै अवरोध गर्न थालेको गुनासो गरे । वन–जङ्गलबाट एक भारी दाउरा ल्याउँदा पनि दुःख दिने गरेको घर्ती मगरको भनाइ छ । नागरिकमैत्री नियम कानुन बनाएर यहाँका जनतालाई स्वतन्त्र भएर बस्ने वातावरण बनाउने नेतालाई निर्वाचनमा मत दिनुपर्ने उनी बताउँछन् ।

‘यहाँ बस्ने हरेक स्थानीयले वस्तुभाउ पालेका छन् । एउटा होइन, दर्जनौँ वस्तुभाउ पाल्ने किसानले जङ्गलबाट घाँस–दाउरा नलिएर कहाँ लिन जाने ? राज्यले राम्रो समस्या बुझेको छैन, खोलामा माछा मार्न पनि दिँदैन, यहाँका जनताले सास्तीमात्रै भोग्नु पर्ने हो ?’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डम्मर बुढामगर
डम्मर बुढामगर
लेखकबाट थप