सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दैनिक उपभोग्य वस्तुको भाउ बढेको हो ?

बिहीबार, २९ माघ २०८२, १६ : १६
बिहीबार, २९ माघ २०८२

काठमाडौं । आम निर्वाचन नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न थालेको छ। पछिल्ला केही सातायता खानेतेल, चामल र दालमा मूल्यवृद्धि देखिएको छ भने एलपीजी ग्यासको आपूर्तिमा समेत असहजता देखिएको छ।

बजारमा खानेतेलमा प्रतिलिटर २५ देखि ३० रुपैयाँसम्म मूल्य बढेको छ। चामल र दालको भाउ पनि उकालो लागेको व्यवसायीहरू नै स्वीकार गर्छन्। यसले उपभोक्ताको भान्सासम्म असर पर्ने देखिएको छ।

नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरका अनुसार केही दिनयता दाल, चामल र तेलमा एमआरपी नै बढेर आएको छ। उनका अनुसार उत्पादक वा आयातकर्ताले नै एमआरपी बढाएर पठाएका कारण खुद्रा व्यापारीले सोही मूल्यमा बिक्री गर्नुपर्ने अवस्था आएको हो।

उनले भने, ‘तेल र चामलमा मूल्यवृद्धि भएको छ। एक–डेढ महिनाअघि २४५ रुपैयाँमा बिक्री गर्ने सामान अहिले ३ सय रुपैयाँसम्ममा बेच्नुपर्ने अवस्था आएको छ। अधिकांश सामानमा एमआरपी राखेर आउँछ। एमआरपी निर्धारण गर्ने काम उत्पादक वा आयातकर्ताको हो। खुद्रा पसलेले २४० रुपैयाँको एमआरपी भएको सामान २९० मा बेच्न मिल्दैन र त्यस्तो गरिएको छैन।’

तुलाधरका अनुसार मूल्यवृद्धिको कारणबारे सोध्दा उत्पादक र आयातकर्ताले डलरको भाउ बढेको र कच्चा पदार्थ महँगिएको बताएका छन्। आपूर्तिमा केही असहजता हुँदा पनि बजार भाउ बढ्ने गरेको उनले बताए। मूल्यवृद्धि किन र कसरी भइरहेको छ भन्नेबारे वाणिज्य विभागले चासो देखाउनुपर्ने उनको भनाइ छ।

यता, सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले भने आफूले बिक्री गर्ने वस्तुमा हालसम्म मूल्यवृद्धि नगरेको जनाएको छ। सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेशकुमार झाले साल्टसँग मौज्दात रहेका नुन, दाल र चामलमा मूल्य नबढाइएको बताए।

उनका अनुसार हाल १ लाख २७ हजार ४६३ मेट्रिक टन नुन स्टकमा रहेको छ, जसले ६ महिनाभन्दा बढी समय धान्न सक्छ। काठमाडौं कार्यालयअन्तर्गत ६ हजार ४४३ क्विन्टल चिनी मौज्दात छ भने अन्य कार्यालयमा पनि स्टक उपलब्ध छ। ती वस्तु पुरानै मूल्यमा बिक्री भइरहेको उनले बताए।

उनका अनुसार साल्टले बजारबाट खरिद गरेर ल्याउने वस्तुमा मूल्य बढेर आए भविष्यमा भाउ समायोजन गर्नुपर्ने अवस्था आउन सक्छ। हाल खरिद प्रक्रियामा रहेका तेल र चामलमा मूल्य बढेर आउने सम्भावना रहेको उनले बताए।

एलपीजी ग्यासका विषयमा उनले हाल साल्टमार्फत आपूर्ति सहज रहेको दाबी गरे। उनका अनुसार कोटेश्वर डिपोमा करिब १८ सय सिलिण्डर स्टकमा छन् र वितरण भइरहेको छ। पाँचवटा ग्यास बुलेट (करिब ९० टन) नेपाल आउँदै छन् भने अन्य बुलेट भारत गइरहेका छन्।

उता, बजारमा मूल्यवृद्धि र ग्यास अभावको गुनासो बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन तीव्र बनाएको जनाएको छ। विभागका निर्देशक नरहरी तिवारीका अनुसार तेल, चामल र ग्यासमा गुनासो आएपछि सघन अनुगमन गरिएको छ।

उनले भने, ‘खानेतेलमा मूल्यवृद्धिको धेरै गुनासो आयो। त्यसपछि सघन अनुगमन गरियो। चामलमा पनि अनुगमन गरेका छौं। बजारमा उपलब्धता छ। ग्यास अभावबारे गुनासो आएपछि दैनिक चारवटा टोली परिचालन गरेर अनुगमन गरिरहेका छौं।’

तिवारीका अनुसार जाडो मौसममा ग्यासको माग करिब १५ प्रतिशतसम्म बढ्ने भएकाले आपूर्तिमा केही दबाब परेको छ। कालोबजारी र आपूर्ति श्रृंखलामा असर पार्ने गतिविधिविरुद्ध कारबाही तीव्र बनाइएको उनले बताए। पछिल्ला दिनमा करिब ९० उद्योग तथा फर्ममा अनुगमन गरिएको विभागले जनाएको छ।

विभागले बजारको अवस्था निगरानीमा राख्दै उपभोक्तालाई सहज आपूर्ति सुनिश्चित गर्ने प्रयास जारी राखेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप