बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

बालकृष्ण शिवाकोटी स्मृति पुरस्कार २०८२ प्रदान

बिहीबार, २९ माघ २०८२, २१ : २९
बिहीबार, २९ माघ २०८२

सारांश

  • काठमाडौंमा माध्यमिक विद्यालयस्तरीय कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भयो।
  • केएमसी स्कूलका विधान सापकोटाले प्रतियोगितामा प्रथम स्थान हासिल गरे।
  • वरिष्ठ साहित्यकार डा. तुलसी भट्टराईले साहित्यको महत्वबारे प्रकाश पारे।

काठमाडौँ । काठमाडौँमा माध्यमिक विद्यालयस्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ। बालकृष्ण शिवाकोटी मेमोरियल फाउण्डेशनले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले आफ्नो साहित्यिक प्रतिभा प्रदर्शन गरेका छन्। स्वर्गीय बालकृष्ण शिवाकोटीको स्मृतिमा आयोजित यस प्रतियोगिताको पुरस्कार वितरण तथा समापन समारोह बुधबार राजधानीमा भव्य रूपमा सम्पन्न भएको हो।

प्रतियोगितामा केएमसी स्कूलका विधान सापकोटाले उत्कृष्ट कविता सिर्जना गर्दै प्रथम स्थान हासिल गरेका छन्। उनले नगद २० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे। त्यसैगरी, नेपाल वेदविद्याश्रमका पंकज विनाडीले द्वितीय स्थान प्राप्त गर्दै १५ हजार रुपैयाँ पुरस्कार जिते भने रत्नराज्य माध्यमिक विद्यालयकी लक्षिता भण्डारीले तृतीय स्थान हासिल गरी १० हजार रुपैयाँ प्राप्त गरिन्। उत्कृष्ट प्रदर्शन गर्ने अन्य सात जना विद्यार्थीलाई समेत जनही एक हजार रुपैयाँका दरले सान्त्वना पुरस्कार प्रदान गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा प्राज्ञ डा. तुलसी भट्टराईले साहित्यले समाजको चेतना विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताए। युवा पुस्तामा सिर्जनशीलताको विकास गर्न यस्ता स्थलगत लेखन प्रतियोगिताहरू अत्यन्तै प्रभावकारी हुने उनको भनाइ थियो। उनले सहभागी विद्यार्थीहरूलाई पुरस्कारमा मात्र सीमित नभई निरन्तर अध्ययन र लेखन अभ्यासमा लाग्न प्रेरित गरे।

फाउण्डेशनकी अध्यक्ष शान्ता शिवाकोटीले स्वर्गीय बालकृष्ण शिवाकोटीको सम्झनालाई सिर्जनात्मक कार्यमार्फत जीवित राख्न यो कार्यक्रम आयोजना गरिएको जानकारी दिइन्। नयाँ पुस्तालाई साहित्यतर्फ आकर्षित गर्ने उद्देश्यले सुरु गरिएको यो अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने उनले प्रतिबद्धता व्यक्त गरिन्। साहित्यकार र शिक्षाविद्हरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रमले विद्यार्थीहरूमा लुकेको प्रतिभा प्रस्फुटन गर्न मद्दत पुगेको आयोजकको विश्वास छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप