भ्रष्टाचार अन्त्य गर्ने पहिलो पार्टी हाम्रै पार्टी हुन्छ : अमिताभ बच्चन दास
सारांश
- अमिताभ बच्चन प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पर्सा क्षेत्र नं २ मा उम्मेदवार छन्।
- उनले माओवादी केन्द्रबाट राजनीति सुरु गरी पार्टी परिवर्तन गरेर चुनाव लड्दै छन्।
- उनले भ्रष्टाचार अन्त्य, रोजगारी सिर्जना र वीरगञ्जलाई आर्थिक नगरी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
बारा । अमिताभ बच्चन दास प्रगतिशील लोकतान्त्रिक पार्टी पर्सा क्षेत्र नं २ का उम्मेदवार हुन् । जेनजी आन्दोलनपछि गठन भएको यो पार्टीमा दास पर्सा जिल्ला इन्चार्ज र केन्द्रीय सदस्यसमेत छन् ।
उनी तत्कालीन नेकपा माओवादी केन्द्र निकट भ्रातृ संगठन अखिल क्रान्तिकारीमा करिब २ दशक राजनीति गरेपछि मूलधारको राजनीतिमा आएका हुन् ।
वीरगञ्जस्थित ठाकुरराम क्याम्पसबाट गणित विषयमा स्नातकोत्तर गरेका दास अहिले पीएचडी अध्ययनरत छन् । माओवादीमा लामो राजनीतिक योगदान गरेका दाससँग पछिल्लो समय प्रगतिशील लोकतान्त्रिक पार्टी प्रवेश गर्नुको कारण र पर्सा–२ को चुनावी गतिविधिबारे कुराकानी गरिएको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–
- प्रगतिशील लोकतान्त्रिक पार्टीमा कसरी आवद्ध हुनुभयो ?
मैले २०५७ सालमा अखिल क्रान्तिकारीको सदस्यता लिएको हुँ । ठाकुरराम क्याम्पसको एकाइ सदस्यबाट सचिव, अध्यक्षसम्म भएँ । माओवादीको विद्यार्थी राजनीतिको क्रममा २०५९ सालमा म पक्राउ परेँ । १५ महिना जेल जीवन बिताउनुपर्यो । त्यसपछि शान्ति प्रक्रिया सफल भएपछि बाहिर निस्कियौँ । पार्टीको मूलधारको राजनीतिमा आएपछि म अखिल क्रान्तिकारी पर्सा जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, सचिवालय सदस्यसमेत भएँ ।
माओवादी पार्टीभित्र अन्तरसङ्घर्ष चल्दै गएपछि जनार्दन शर्माले पार्टी रुपान्तरणका लागि बहस चलाउनु भयो । त्यसमा हाम्रो समर्थन रह्यो । माओवादी पार्टीको महाधिवेशन गरेर नयाँ ढंगले संगठनलाई जनस्तरमा लैजाने, नयाँ रक्तसञ्चार गर्ने भनेर निर्णय भयो, तर महाधिवेशनपूर्व अध्यक्ष प्रचण्डले माधव नेपालको पार्टीसँग एकता गरेपछि जनार्दन शर्मा लगायतका नेताहरूले विद्रोह गर्नुभयो । त्यो विद्रोहमा हाम्रो पनि साथ थियो ।
शर्माले प्रगतिशील अभियान बनाउनु भयो । त्यसमा बाबुराम भट्टराईले नेतृत्व गर्नुभएको नेसपाले पनि पार्टी एकता गर्यो । प्रगतिशील लोकतान्त्रिक पार्टीको म केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्र्चाजको जिम्मेवारीमा छु । अहिले चुनावी कार्यक्रम तय भएपछि पार्टीले मलाई पर्सा–२ मा उम्मेदवार बनाएको हो ।
_9yBgO3E4Ml.jpg)
- जेनजी आन्दोलनको प्रभावकै कारण तपाईंहरूले माओवादी छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गर्नुभएको हो ?
जेनजी आन्दोलनले भ्रष्टाचार अन्त्यका लागि आवाज उठायो । त्यसमा हाम्रो समर्थन रह्यो । जेनजी आन्दोलनको जगमै हाम्रो पार्टी निर्माण भएको हो । भ्रष्टाचार अन्त्यमा लागि, वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूलाई रोक्न र देशमै रोजगारी सिर्जना गर्नका लागि हामीले यो पार्टी गठन गरेका हौँ ।
जनस्तरमा राजनीतिक नेताहरूप्रति असन्तुष्टि छ । त्यसलाई हटाउन, जनतासँग रक्त सञ्चार कसरी हुन्छ, जनतासँग कसरी जोडिन सकिन्छ र आम जनताको समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर हामी जनतासामु जान यो पार्टी स्थापना भएको हो ।
यो पार्टीले पहिचानको मुद्दाहरू अगाडि बढाउने, समानुपातिक, समावेशी कुराहरूलाई व्यवहारमै उतारेको छ । हाम्रो अध्यक्ष प्रणाली हेर्नुहुन्छ भने जनजाति, महिला, दलित, जेनजी समूहका युवा पुस्ता अध्यक्ष हुनुहुन्छ । मधेसको क्लस्टरबाट अशोक जैसवाल अध्यक्ष हुनुहुन्छ । समानुपातिक, समावेशी हाम्रो पार्टीमा व्यवहारमै लागु भएको छ ।
- पर्सा–२ का जनतामाझ जानका लागि तपाईंको चुनावी एजेन्डा के के छन् ?
भ्रष्टाचार अन्त्यका साथै रोजगारीका लागि युवाहरू विदेश जानुपर्ने स्थिति अन्त्य गरी नेपालमै रोजगारी सिर्जना गर्न मेरो उम्मेदवारी हो ।
तेस्रो कुरा, वीरगञ्ज आर्थिक गतिविधिमा देशभरमै पहिलो नम्बरमा पर्छ । यहाँ साना, मझौला, ठुला गरी विभिन्न उद्योग छन् । वीरगञ्जले ठुलो राजस्व सङ्कलन गरेर देशको अर्थतन्त्रमा टेवा पुर्याइरहेको छ । वीरगञ्जलाई आर्थिक नगरी र औद्योगिक करिडोर घोषणा गर्नका लागि मेरो उम्मेदवारी हो ।
कृषिमा मल, बिउ खाद, सिँचाइ उपलब्ध गराउने र उब्जनी भएको तरकारी, अन्नबाली सही समयमा उचित मूल्यमा बजारीकरणका लागि पर्सा जिल्लालाई कृषि हव बनाउन मैले उम्मेदवारी घोषणा गरेको छु । निःशुल्क शिक्षा, स्वास्थ्य, सुकुमवासीहरूका लागि जग्गा प्राप्ति र घर बनाउन पहल गर्ने छु ।
- निर्वाचनका लागि पर्साको २ नम्बर क्षेत्र नै तपाईंले रोज्नुको कारण के हो ?
म पहिलेदेखि राजनीतिक र सामाजिक रूपमा जनतासँग जोडिएको ठाउँ भएकाले यही क्षेत्र रोजेको हुँ ।
- भर्खरै गठन भएको पार्टीबाट उम्मेदवारी दिनुभएको छ, ठुला दलका उम्मेदवारहरूसँग कसरी प्रतिस्पर्धा गर्नुहुन्छ ?
पर्सा–२ मा कांग्रेसबाट अजय चौरसिया, एमालेबाट रिमा यादव, रास्वपाबाट सुशिल साह कानु, नेकपाबाट मनोज चौधरी, राप्रपाबाट बिना जैसवाल उम्मेदवार छन् । हामीले आफ्नो क्षेत्रमा संगठन बनाउन पाएका छैनौँ, यो सही कुरा हो । समय नपाएर हो ।
हामीले जनतामा सामाजिक, राजनीतिक हिसाबले सुझबुझका साथ पुगेर उहाँहरूको समस्या समाधानमा पहल गरेका छौँ । म जनतासँग पहिलेदेखि जोडिएको छु । जनस्तरमा मेरो राम्रो सम्बन्ध छ ।
दोस्रो कुरा, भ्रष्टाचारलाई अन्त्य गर्ने पहिलो पार्टी हाम्रै पार्टी हुन सक्छ । मेरो राजनीतिक एजेण्डा अरुभन्दा फरक छ । बारा–पर्सालाई औद्योगिक करिडोर, पर्सा जिल्लालाई कृषि हव, निःशुल्क प्राविधिक शिक्षा, निःशुल्क स्वास्थ्य सेवा पूर्ण रूपमा व्यवहारमा कार्यान्वयन गर्ने खालको लिडर अमिताभ बच्चन दास नै हो भनेर जनताले विश्वास गर्नुभएको छ ।
म व्यावहारिक र सैद्धान्तिक हिसाबले जनपक्षीय छु । मेरो सामाजिक, राजनीतिक लगानीको कारणले गर्दा आम जनसमुदायले मलाई सहयोग गर्नुहुन्छ । युवा भएको र जनतामाझ परीक्षण नभएको उम्मेदवार भएकाले पनि म आफूलाई योग्य उम्मेदवारका रूपमा ठान्छु ।
_2qZIgMeB75.jpg)
पुराना पार्टीहरूको जमाना गयो । सबै रिटायर भइसके । यिनीहरूले देशमा खाली समस्यामात्रै थुपारे । जनताको काम केही गर्न सकेनन् ।
५ वर्षमा एक पटक भोट माग्न आउँछन् । त्यसपछि मुख देखाउँदैनन् भन्ने जनगुनासो छ । संगठन बलियो भएका पार्टीप्रति जनगुनासो र व्यापक असन्तुष्टी छ । जनताले तिनीहरूलाई नकारिरहेको अवस्था छ ।
मलाई युवा भएको नाताले सबैले सहयोग गर्नुहुन्छ । म जित्न उत्सुक छु र जित्छु पनि । घरदैलोमा जादाँ जनताले एकपटक मौका दिने बाचा गर्नुभएको छ । पढे–लेखेको कर्मठ युवा हुनुहुन्छ भन्नुभएको छ । जनस्तरबाट लिडर बनेर चुनाव जित्ने आत्मविश्वास जागेको छ ।
- तपाईंले मधेसमा मुख्य समस्या के देख्नुभएको छ ?
यहाँको मुख्य समस्या भ्रष्टाचार नै हो । दोस्रो, बेरोजगार र तेस्रो कुरा समयमा मलखाद, बिउ बिजन, सिँचाइको नपाउने समस्या हो । कृषिमैत्री वातावरण सिर्जना गरेको भए यो अवस्था आउँदैनथ्यो । शिक्षामा राज्यको ठुलो लगानी छ, तर यहाँ अहिले पनि झन्डै ३० प्रतिशत नागरिक निरक्षर छन् । स्वास्थ्यमा पनि व्यापक समस्या छ । राम्रो अस्पताल छैन् । नारायणी अस्पताल छ, तर ठुलो रोग लाग्यो भने अन्त उपचार गर्न जानुपर्छ ।
- प्रगतिशील लोकतान्त्रिक पार्टीको भविष्य कस्तो देख्नुहुन्छ ?
पुराना पार्टीहरू चुनावपछि सकिँदैछन् । जनताले अब उहाँहरूलाई पहिलाको जस्तो महत्त्व दिनेवाला छैनन् । तिनीहरू एकदम तल जानेवाला छन् । राम्रो स्थान लिएर हाम्रो पार्टी अगाडि आउँछ । एकदम कम समयमा निर्वाचनमा भाग लिनुपरेको छ । नेता बाबुराम भट्टराईको विचार र जनार्दन शर्माको सांगठनिक योग्यताले हाम्रो पार्टी धेरै छिटो राष्ट्रिय पार्टी बन्छ ।
- राष्ट्रिय स्वतन्त्र पार्टीप्रति तपाईंको टिप्पणी के छ ?
रास्वपाबाट टिकटको लागि प्रस्ताव आएको थियो, तर मलाई रास्वपा पार्टी आफैँमा ठिक लागेन । मेरो राजनीतिक लगानी माओवादी पार्टीमा भएर पनि होला । रवि, बालेनभन्दा कैयौँ गुणा राम्रो जनार्दन शर्मा हुनुहुन्छ । उहाँ पार्टीमा कार्यकारी पदमा हुनुहुन्न । युवाहरूलाई नै पार्टी चलाउने जिम्मेवारी दिनुभएको छ । उहाँको विचार राम्रो लागेर अरु पार्टीको टिकट लिन मन लागेन ।
रवि लामिछाने र बालेन शाहको क्रेज छ तर त्यो धेरै दिन टिक्दैन । भारतमा आम आद्मी पार्टी तीव्र गतिमा अगाडि आयो र तीव्र गतिमा तल झर्यो । रास्वपा पनि बर्खाको भेलजस्तै हो भन्ने मलाई लागेको छ । जनतामा पुराना पार्टीहरूको नकारात्मक कार्यशैलीले गर्दा नयाँ को हुनसक्छ भनेर खोज्दै जाँदा रास्वपाप्रति जनसर्मथन देखिएको छ, तर उहाँहरूले पनि पुराना पार्टीहरूले भन्दा राम्रो गर्नुहुन्छ भन्ने विश्वास छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण