शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आयरल्यान्डसँग पराजित ओमान समूह चरणबाटै बाहिरियो

शनिबार, ०२ फागुन २०८२, १४ : ५२
शनिबार, ०२ फागुन २०८२

काठमाडौँ । आयरल्यान्डसँग पराजित हुँदै ओमान आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत समूह चरणबाटै बाहिरिएको छ । 

शनिबार भएको खेलमा आयरल्यान्डसँग ९६ रनले पराजित हुँदै ओमान बाहिरिएको हो । ओमानमाथि जित निकालेको आयरल्यान्डको भने सुपर आठको सम्भावना जीवित नै छ । सिंहली स्पोर्टस क्लब ग्राउन्ड, कोलम्बोमा आयरल्यान्डले दिएको २३६ रनको विशाल लक्ष्य पछ्याएको ओमान १८ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १३९ रनमा सीमित भयो । 

ओमानका लागि अमिर कलिमले ५० रनको अर्धशतकीय पारी खेले, २९ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे । त्यस्तै हमद मिर्जाले ४६ रन बनाउँदा सुफियानले १० रन जोडे ।

बलिङतर्फ आयरल्यान्डका लागि जोस लिट्सलेले सर्वाधिक तीन विकेट लिए । त्यस्तै म्याथ्यु हम्फ्रेज र ब्यारी म्याकार्थीले दुई–दुई विकेट लिँदा जर्ज डकरेलले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २३५ रन बनाएको थियो । आयरल्यान्डका लागि कप्तान लोर्कन टकरले सर्वाधिक ९४ रनको अर्धशतकीय पारी खेले । शतक बनाउन ६ रनले चुकेका उनले ५१ बलमा १० चौका र ४ छक्का प्रहार गरे । 

त्यस्तै ग्यारेथ डेलानीले ३० बलमा ३ चौका र ४ छक्काको सहयोगमा ५६ रनको अर्धशतकीय पारी खेले, जर्ज डकरेलले ३५ रन जोडे । 

बलिङतर्फ ओमानका लागि सकिल अहमदले सर्वाधिक तीन विकेट लिए । त्यस्तै शाह फैज र अमिर कलिले एक एक विकेट लिए । 

तर आयरल्यान्डले सुपर आठमा प्रवेश गर्न अन्तिम खेल जितेर मात्र पुग्दैन, अन्य टोलीको नतिजाको पनि भर पर्नुपर्छ । 

यता ओमान भने प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको छ । तीन खेलमा तीन वटै हार बेहोरेको उसको अब एक खेल मात्र बाँकी छ ।

यसै समूह ‘बी’ मा रहेका श्रीलंका र जिम्बावे समान चार–चार अंकसहित तालिकाको शीर्ष र दोस्रो स्थानमा छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप