बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
निर्वाचन चर्चा

बारामा पुराना दलसँग मतदाता वाक्क, नयाँप्रति अन्योल

आइतबार, ०३ फागुन २०८२, ०८ : २२
आइतबार, ०३ फागुन २०८२

सारांश

  • निर्वाचन नजिकिँदै गर्दा बाराका मतदाताहरूमा कस्ता उम्मेदवार छान्ने भन्ने अन्योल छ।
  • नयाँ दल र पुराना दलहरूको कार्यशैलीबाट दिक्क भएका मतदाताहरूले मत फेर्ने मानसिकता बनाएका छन्।
  • बारा क्षेत्र नं. १ मा विभिन्न पार्टीका उम्मेदवारहरूबीच चुनावी प्रतिस्पर्धा हुँदै छ, जसमा कांग्रेस र जसपाबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ।

बारा । निर्वाचन मिति नजिकिँदै जाँदा मतदाताहरूमा कस्तो उम्मेदवार चयन गर्ने भन्ने अन्योल देखिएको छ । पार्टी निकटका कार्यकर्ताबाहेक आम नागरिकहरू पुराना दलहरूको कार्यशैलीबाट दिक्दार छन् भने नयाँ दलका उम्मेदवारलाई विश्वास गरिहाल्ने/नगर्ने भन्ने विषयमा अन्योलमा छन् ।

जेनजी आन्दोलनपछि हुन लागेको निर्वाचनमा धेरै मतदाताहरू यसपटक मत फेर्ने मानसिकतामा देखिन्छन्, तर नयाँ दलभित्र पनि कसलाई मत दिने भन्ने निर्णय लिन सकेका छैनन् ।

कोल्हवी नगरपालिका वडा नं. ९ का गणेशप्रसाद चौधरीले नयाँ पार्टीको चुनावी एजेण्डा, सिद्धान्त र नीति के हो भन्ने कुरा जनताले थाहा पाउनुपर्ने बताए ।

‘भदौ २३ र २४ गते जेनजी आन्दोलन कहाँबाट सुरु भयो ? सिंहदरबार र सर्वोच्च अदालत कसले जलायो? जनतालाई जवाफ दिनुपर्छ,’ चौधरीले भने, ‘बालेनको पहिला कुर्सीको पछाडि ग्रेटर नेपालको नक्सा थियो, अहिले किन हटाइयो ?’

२०४८ सालदेखि बाराको चारवटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्व थियो । २०६४ पछि माओवादी केन्द्र र २०७० पछि मधेसवादी दलहरू नेतृत्वमा आए ।

अहिले जेनजी आन्दोलनपछि राष्ट्रिय स्वतन्त्र पार्टी ह्वात्तै चर्चामा आएको छ । ग्रामीण भेगका सामाजिक सञ्जाल प्रयोगकर्तामार्फत रास्वपा जनस्तरसम्म चर्चामा पुगेको हो ।

नयाँ दलहरूमध्ये बढी चर्चामा आएको रास्वपाको तडकभडक पनि पुराना दलहरूको भन्दा फरक नभएको चौधरीको भनाइ छ । आदर्शकोतवाल गाउँपालिका वडा नं. ५ का रामदत्त भगतले पुराना पार्टीहरूले जनताको समस्या नबुझ्दा गाउँमा नयाँ पार्टी जिताउने अभियान सुरु भएको बताए ।

‘पुराना पार्टीलाई धेरै पटक जितायौं, केही भएन । यसपटक नयाँ पार्टीलाई भोट दिने हो,’ भगतले भने, ‘सबै जनताको चित्त दुखेको छ । कांग्रेस र एमालेले विकास गर्ने भए अहिलेसम्म गरिसक्थे ।’

बारागढी गाउँपालिका वडा नं. ५ का अर्का स्थानीय श्यामबाबु यादवले किसानले मल र बिउका लागि भारतकै भर पर्नुपर्ने बाध्यता भएको सुनाए ।

2-20260213_120349

‘भारतबाट मल र बिउ आएन भने यहाँ खेती नै हुँदैन । के खान्छ मान्छेले? नेपाल सरकारबाट समयमा मल र बिउ पाइँदैन,’ उनले भने, ‘गाउँपालिकाले बिउ बाँड्छ, तर राम्रो फल्दैन ।’

अर्का स्थानीय हृदयनारायण यादवले यसपटक चुनावमा कसलाई भोट दिने भन्ने विषयमा स्थानीयहरूबिच अन्योल देखिएको बताए ।

‘भोट घन्टीलाई दिने भन्छन्, तर उम्मेदवार नै को हो ? यिनीहरूले जितेर के गर्छन्, थाहै छैन,’ उनले भने, ‘गाउँमा जितेपछि यो गर्छु/त्यो गर्छु भनेर आफ्नो एजेन्डा बताउन कोही नेता आएको छैन ।’

बारा–१ का किसानहरूले उत्पादन गरेको तरकारी बिक्री गर्ने निश्चित स्थान हुनुपर्ने र उचित मूल्य पाउनुपर्ने माग गरेका छन् ।

यहाँका किसानहरूले उत्पादन गरेको तरकारी तथा फलफूल वीरगञ्जका व्यापारीहरूले आफूखुशी मूल्य तोकेर लैजाने गरेका छन् ।

1-20260213_114429

जिल्लाबाट धेरै नेता सांसद जितेर मन्त्री तथा उपप्रधानमन्त्रीसम्म भए पनि यहाँका किसानहरूको उत्पादनले कहिल्यै उचित मूल्य नपाएको, मलखाद, बिउ र सिँचाइको सधैं समस्या भोग्नुपरेको यादवको भनाइ छ ।

कोल्हवी नगरपालिका वडा नं. १ बगनी टोलकी इन्द्र थरुनीले सामुदायिक विद्यालयमा पढाइ राम्रो नभएको, शिक्षकहरूले विद्यार्थीलाई समय नदिने र कक्षाकोठामा राम्रोसँग नपढाउने गरेको गुनासो गरिन् ।

उनले गाउँमा राम्रो अस्पताल नहुँदा उपचारका लागि वीरगञ्ज र भरतपुर धाउनुपर्ने बाध्यता रहेको बताइन् । कोल्हवी, बारागढी र आदर्शकोतवाल बारा निर्वाचन क्षेत्र नं. १ मा पर्छन् ।

२०७९ को निर्वाचनमा यस क्षेत्रमा जसपासँगको गठबन्धनबाट एमालेका अच्युत मैनाली निर्वाचित भएका थिए ।

मैनालीभन्दा अघि नेपाली कांग्रेसका नेता उमाकान्त चौधरी (२०५६, २०७४), रामअयोध्याप्रसाद यादव (२०७०), मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सरोजकुमार यादव (२०६४) र एमालेका मुकुन्दबहादुर क्षेत्री (२०४८, २०५१) निर्वाचित भएका थिए ।

बारा–१ क्षेत्र उत्तरमा चुरेसँग जोडिएको निजगढ नगरपालिका हुँदै कोल्हवी, बारागढी, आदर्शकोतवाल र दक्षिणमा भारतसँग सीमा जोडिएको ऐतिहासिक नगरी सिम्रौनगढसम्म फैलिएको छ ।

फागुन २१ गते हुने निर्वाचनका लागि बारा–१ मा नेपाली कांग्रेसका शम्भु बुढाथोकी, एमालेबाट अच्युत मैनाली, जसपाबाट रामबाबु यादव, नेकपाका सन्तोष दंगाल, रास्वपाबाट गणेश धिमाल, आम जनता पार्टीका विजय यादवलगायत डेढ दर्जन उम्मेदवार छन् ।

प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तथा तराई/मधेसलाई काठमाडौँसँग जोड्ने द्रुतमार्ग पनि यसै क्षेत्रमा पर्छ ।यो क्षेत्र उत्तरतर्फ घना वनजंगल, नदीजन्य पदार्थलगायत प्राकृतिक स्रोतसाधनले सम्पन्न छ । यहाँका किसानहरूले व्यवसायिक तरकारी खेती, माछापालन, उखु खेती र जडीबुटी खेती गर्दै आएका छन् ।

कृषि उत्पादनका लागि आवश्यक मल, बिउ र विषादीका लागि किसानहरू सीमावर्ती छिमेकी मुलुक भारत जाने गर्छन् । यस क्षेत्रमा निजी लगानीका ठूला उद्योगधन्दा छैनन् । सरकारी लगानीमा कोल्हवीमा जडीबुटी प्रशोधन कारखाना सञ्चालनमा छ ।

7-aa3

यस क्षेत्रमा एक लाख १६ हजार मतदाता छन् । सामुदायिक संरचनामा उत्तरतर्फ चौधरी समुदाय र दक्षिणतर्फ यादव समुदायको बाहुल्य छ । यो क्षेत्रमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबिच नै मुख्य प्रतिस्पर्धा हुने गरेको छ ।

फागुन २१ गते हुने निर्वाचनका लागि बारा–१ मा नेपाली कांग्रेसका शम्भु बुढाथोकी, एमालेबाट अच्युत मैनाली, जसपाबाट रामबाबु यादव, नेकपाका सन्तोष दंगाल, रास्वपाबाट गणेश धिमाल, आम जनता पार्टीका विजय यादवलगायत डेढ दर्जन उम्मेदवार छन् ।

बारागढी गाउँपालिका प्रमुख अशोककुमार जयसवालले बारा–१ मा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र जसपाबिच नै हुने दाबी गरे ।

4-20260213_134527

उनले पालिकाको बजेटले निर्माण गर्न नसकेको जमुनी खोलाको पुल, बारागढीदेखि रौतहटसम्म जाने १७ किलोमिटर सडक र बारागढी–४ देखि करैयामाई गढीमाई मन्दिरसम्म जाने ७ किलोमिटर सडक संघीय सरकारले निर्माण गरिदिनुपर्ने बताए ।

‘हाम्रो विकास बजेट जम्मा १०/११ करोड छ । यो पुल र सडक बनाउन ठूलो बजेट लाग्छ,’ गाउँपालिका प्रमुख जयसवालले भने, ‘पहाडमा ठूलो खर्च गरेर राम्रो बाटो बनेको छ, तर हाम्रो यति सुगम ठाउँमा सरकारको किन भेदभाव?’

उनले अस्थिर प्रदेश सरकारका कारण राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम बिचमै बन्द हुँदा ग्रामीण भेगका अधुरा विद्यालय भवन निर्माण कार्य अलपत्र परेको बताए ।

यता बारा–१ का जसपा उम्मेदवार रामबाबु प्रसाद यादवले यस क्षेत्रको मुख्य समस्या शिक्षा रहेको दाबी गरे ।

‘मधेसमा सबैभन्दा पहिले शिक्षालाई राम्रो अवस्थामा ल्याउनुपर्छ । त्यसपछि कृषिमा सिँचाइ र मलको ठूलो समस्या छ,’ उम्मेदवार यादवले भने, ‘हाम्रो भोट एमाले, कांग्रेस र माओवादीभित्र लुकेर बसेको छ । त्यो भोट मलाई आउँछ । अहिले हाम्रो मुख्य प्रतिस्पर्धा कांग्रेससँग हो ।’

बारा–१ मा सांगठनिक रूपमा बलियो भए पनि नेपाली कांग्रेसभित्रको किचलोका कारण कांग्रेस उम्मेदवार शम्भु बुढाथोकी कमजोर बन्दै गएका छन् ।

कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री उमाकान्त चौधरी बुढाथोकीको समर्थनमा खुलेर प्रचारमा देखिएका छैनन् । चौधरी कृष्ण सिटौला समूहका हुन् ।

गत स्थानीय तह निर्वाचनमा सुरेश खनाललाई पराजित गर्न एमाले उम्मेदवार सुरथ पुरीलाई सहयोग गरेका कारण बुढाथोकी क्षेत्रमा एक्लिएको कांग्रेसनिकट स्रोतले जनाएको छ ।

हाल बुढाथोकीको समर्थनमा सिम्रौनगढका पूर्व नगरप्रमुख विजयशंकर यादव मात्र सक्रिय छन् ।

उम्मेदवार बुढाथोकीले भने कांग्रेसभित्र कुनै विवाद नभएको र भएका विवाद छिट्टै समाधान गरी चुनावमा एकजुट भएर अगाडि बढ्ने बताएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप