शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
चुनावी सरगर्मी

म्याग्दीका गाउँ–गाउँ पुगेर मतदातालाई महावीरको अपिल– मन लागे भोट देऊ, नलागे नदेऊ

आइतबार, ०३ फागुन २०८२, ०९ : ५६
आइतबार, ०३ फागुन २०८२

सारांश

  • महावीर पुन म्याग्दीको विकट बस्तीहरूमा चुनावी प्रचारमा छन् र मतदाता भेटघाट गरिरहेका छन्।
  • उनले शिक्षा प्रणालीमा सुधार ल्याउने एजेण्डा लिएर चुनाव लड्दै छन्, र मतदाताहरू मत बदल्ने मुडमा देखिएका छन्।
  • मतदाताहरूले पहिले जितेका नेताहरूले काम नगरेको गुनासो गरेका छन्, र नयाँ उम्मेदवारलाई अवसर दिन चाहेका छन्।

बागलुङ । यतिबेला म्याग्दीको विकट बस्तीहरूमा चुनावी प्रचारमा छन् महावीर पुन । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा म्याग्दीबाट उम्मेदवार बनेका पुन बिहान सबेरैदेखि राति अबेरसम्म गाउँ बस्तीमै भेटिन्छन् ।

माघ ६ गते मनोनयन दर्ता गरे लगत्तै मतदाता भेटघाटमा लागेका पुन अहिले गाउँ बस्तीमा पुगेर मत मागिरहेका छन् ।

मतदाता भेट्न गाउँ–गाउँ पुगेका महावीरका साथमा न कार्यकर्ता छन्, न त बडेमानका पर्चा वा तामझाम नै छ । उनका साथमा छन् त केवल सवारी चालकसहित एक सहयोगी र केही थान सुशासन स्थापना गर्ने सपना ।

त्यही सपना बोकेर महावीर जनताका घर र बस्तीमा पुगिरहेका छन् । पुनले हरेक दिन सामाजिक सञ्जालमार्फत भोलिपल्टको कार्यक्रमको समय तालिका सार्वजनिक गर्छन् । सोही अनुसार टोल–टोलमा मान्छेहरू जम्मा भएर महावीरलाई पर्खिएर बस्छन् । पुनले हरेक टोलमा एक घण्टाभन्दा बढी समय बिताउँदैनन् ।

उनले एकै दिनमा दर्जनभन्दा बढी बस्तीमा पुगेर मतदाता भेट्छन् । भौगोलिक रूपमा विकट रहेको म्याग्दीमा एक ठाउँदेखि अर्को गाउँ पुग्न घण्टौँ लाग्छ । यद्यपि पुनले अधिकांश बस्तीमा पुगेर मतदाता भेटिसके । बाँकी बस्तीमा पुग्ने यात्रामै छन् उनी ।

‘मन लागे भोट देऊ, नलागे नदेऊ’

महावीरको हिजोआज बस्ने, खाने र सुत्ने ठेगान छैन । उनी प्रचारको क्रममा जहाँ पुग्छन्, त्यही बास माग्छन् । त्यहीँ खान्छन् र त्यहीँ सुत्छन् । साथमा कार्यकर्ता नभएको हुँदा पुनलाई बास दिने र एक छाक खाना खान दिने धेरै भेटिन्छन् ।

साँझपख नै भोलिपल्टको मतदाता भेट्ने स्थान र समय फेसबुकमा राख्ने हुँदा गाउँ–गाउँका मतदाता जम्मा भएर बस्छन् । जम्मा भएर बसेका मतदाताकहाँ पुगेर महावीरले आफ्ना कुरा सुनाउँछन् । पुनको स्वभाव पनि अलि फरक नै छ । उनी हरेक नागरिकसँग झुकेर बोल्दैनन् । ठाडो स्वभावका उनी कसैलाई पनि ‘मलाई मत देउ’ भन्दैनन् । बरु ‘मन लागे भोट देऊ, नलागे नदेऊ’ भन्छन् ।

5-IMG_3118

पुनलाई भेट्न जम्मा भएकाहरूले मत दिने आवश्वासन मात्रै दिँदैनन् । धेरै थोरै आर्थिक सहयोगसमेत गर्छन् । कतिपय ठाउँमा त पुनलाई पैसाकै माला लगाइदिने गर्छन् भने कतिपय गाउँमा लाख–लाख रकमनै थमाइदिने गरेका छन् । यद्यपि पुनले सहयोग रकम कति सङ्कलन भयो भन्ने सार्वजनिक गरेका छैनन् ।

शिक्षा प्रणालीमा सुधार ल्याउने धोको

गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि बनेको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेका महावीर पुन माघ ५ गतेसम्म चुनाव लड्ने/नलड्ने निश्चित थिएन । मन्त्रीसमेत अनिच्छाले भएको बताउँदै आएका महावीरले एकाएक मन्त्री पदबाट राजीनामा दिएर उम्मेदवारी मनोनयन दर्ता गर्दा धेरैलाई आश्चर्य लागेको थियो ।

पुन अहिले सार्वजनिक शिक्षा सुधार्ने विषयलाई प्रमुख एजेण्डा बनाएर प्रचारमा छन् । शिक्षामा भएको भ्रष्टाचार, अनियमितता, मनपरीतन्त्र र राजनीतिकरणलाई अन्त्य गर्न चाहेको पुनले बताए ।

मन्त्री हुँदा शिक्षासम्बन्धी ऐन तथा नियमावली ल्याउन असफल भएको भन्दै अब त्यसलाई पूरा गर्न संसदमा पुग्नु पर्ने हुँदा चुनावमा होमिएको उनले सुनाए ।

6-IMG_3135

पुनले गत पुस महिनामै शिक्षा नियमावली, विश्वविद्यालयसम्बन्धी ऐन, उच्च शिक्षा ऐन र अनुसन्धान तथा नवप्रवर्तन कोष सम्बन्धी ऐन ल्याउन खोजेका थिए । आफू संलग्न सरकारबाटै असहयोग भएको हुँदा ऐन ल्याउन नसकेको उनले सुनाए ।

पुनले भने, ‘मैले शिक्षामन्त्री भएर तीन वटा कानुन ल्याउन खोजेको थिएँँ । शिक्षामा राजनीतीकरण कम गर्नको लागि, अर्को मनपरीतन्त्र कम गर्नको लागि र शिक्षाको सुधारको लागि तीन वटा कानुन ल्याउन खोजेको थिएँ, तर कसैबाट सहयोग पाइनँ । अहिले चैँ समयले दिएन ।’

उनले चुनाव लडेर आफैँ सांसद भएर नगएसम्म कानुन सुधार्न नसक्ने देखेपछि मन्त्री पद त्यागेर चुनाव लड्न गाउँ फर्किएको सुनाए ।

मत फेर्ने ‘मुड’मा देखिए मतदाता

म्याग्दीको विभिन्न क्षेत्रका मतदाता यस पटकको निर्वाचनमा मत बदल्ने ‘मुड’मा देखिए । पटक–पटक मत दिएर संसदमा पठाएका नेताले काम नगरेको उनीहरूको गुनासो छ । बेनी नगरपालिका–७ की सायजा बेगमले चुनावका बेला भूमिहीन, गरिब र सुकुमबासीका पक्षमा काम गर्ने बाचा गरेका नेताले सांसद बनेपछि फर्किएर नआएको बताइन् ।

2-सायजा बेगम
सायजा बेगम

‘चुनावमा भोट माग्न आउँछन् । भोट माग्न आउँदा रोजगार सिर्जना गर्छौं, लालपुर्जा दिलाउने छौँ भन्छन् तर चुनाव जितेपछि फर्किएर पनि आउँदैनन्’ उनले भनिन्, ‘तिनै गफाडीलाई त अब किन मत दिनु पर्‍यो ?’

मालिका गाउँपालिका–५ दाङा की ६२ वर्षीया सूर्यकुमारी सिउठानीले यसअघि जिताएका प्रतिनिधिहरूले जनचाहना अनुसार काम नगरेको गुनासो पोखिन् । गाउँमा व्यवस्थित सडक, खानेपानी, स्वास्थ्य र गुणस्तरीय शिक्षाको अभाव रहेको हुँदा त्यसतर्फ ध्यान नदिएको उनको भनाइ छ । आगामी निर्वाचनमा गाउँमा एक पटक नयाँलाई मत दिने सल्लाह भएको उनले सुनाइन् ।

1-सूर्यकुमारी सिउठानी
सूर्यकुमारी सिउठानी

सिउठानीले भनिन्, ‘पहिले त झण्डा बोकेरै प्रचारमा हिँडियो । भोट हालेर पनि धेरैलाई जिताइयो । तर उनीहरूले जनताको काम गर्न सकेनन् । चुनावमा गरेको बाचा पनि बिर्सिए । अब हामीले पुरानालाई जिताएर हुँदैन । नयाँलाई अवसर दिनुपर्छ ।’

बेनी–६, अर्थुङ्गेका ८० वर्षीय सम्मरबहादुर केसीले गाउँमा रोजगार नहुँदा धेरै युवा परदेशिनु परेको सुनाए । आफू धेरै पटक निर्वाचनमा सहभागी भएर नेतालाई जिताएको सुनाउँदै उनले रोजगारको अवसर नहुँदा बसाइसराइ र विदेश पलायनले गाउँ रित्तिन थालेको बताए ।

4-सम्मरबहादुर केसी
सम्मरबहादुर केसी

‘हरेक चुनावमा रोजगार स्थापना गर्छौं भन्छन् । गाउँमा मान्छे सकिन लागे । तर त्यो रोजगार अझै आएन । गाउँमा मान्छे सकिएपछि आउने रोजगार किन चाहियो ?’ केसीले भने, ‘हामी बुढाबुढी भए पनि हाम्रा सन्ततिलाई राम्रो सुविधा दिए हुन्थ्यो, अब पुराना नेताबाट पार लाग्ने देखिएन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डम्मर बुढामगर
डम्मर बुढामगर
लेखकबाट थप