मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
योगेश भट्टराईसँग 'वारपार'

‘पाँच वर्षपछि केपी ओली संसदीय र पार्टी राजनीतिबाट घर फर्किनुहुन्छ’

आइतबार, ०३ फागुन २०८२, २० : ००
आइतबार, ०३ फागुन २०८२

सारांश

  • नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई यसपटक निर्वाचन प्रतिस्पर्धाबाट बाहिर छन्।
  • भट्टराईले आफू दर्शक नभई टिम व्यवस्थापक भएको बताए, तर पार्टीले औपचारिक जिम्मेवारी दिएको छैन।
  • भट्टराईले निर्वाचनपछि पार्टीमा गम्भीर समीक्षा हुने र केपी ओलीको पुनरोदय हुने सम्भावना रहेको बताए।

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई यसपटक निर्वाचन प्रतिस्पर्धाबाट बाहिर छन् । उनी लामो समयदेखि ताप्लेजुङबाट निर्वाचन लड्दै आएका थिए । 

चुनावी मैदान बाहिर भएपछि अहिले उनको भूमिका के त ? ‘म दर्शक होइन, टिम व्यवस्थापक भन्दा हुन्छ,’ रातोपाटीको ‘वारपार’मा अन्तर्वार्ताका क्रममा उनले भने । तर पार्टीले औपचारिक रुपमा उनलाई त्यो भूमिका  दिएको छैन । विगतका भन्दा मुद्दाका हिसाबले यो निर्वाचन फरक रहेको भट्टराईको बुझाइ छ । 

पार्टीको एघारौं महाधिवेशनमा केपी शर्मा ओलीलाई पुनः अध्यक्षमा रोक्न प्रयास गर्ने प्रमुख नेतामध्ये भट्टराई एक थिए । यस पटक टिकट नपाउने प्रमुख कारण नै त्यही बनेको अनुमान लगाउन सकिन्छ । तर पनि यसमा आफ्नो चित्त दुखाइ नभएको र पार्टीका उम्मेदवारलाई जिताउन लागिपर्ने उनी बताउँछन् । यद्यपि टिकट वितरणदेखि निर्वाचनका समग्र विषयमा निर्वाचनपछि पार्टीमा गम्भीर समीक्षा हुने पर्खाइमा उनी छन् । 

चुनावकै विविध पक्षमा केन्द्रित रहेर उपमहासचिव भट्टराईसँग गरिएको कुराकानीको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न सकिन्छ) :

लामो समयपछि यो निर्वाचनको दौडमा हुनुहुन्थ्यो । तपाईं अहिले दर्शकको भूमिकामा हुनुहुन्छ, कस्तो अनुभव हुँदोरहेछ दर्शकको भूमिकामा हुँदा ?

म सिधै खेल मैदानमा छैन, तर दर्शक पनि होइन ।

के हो त ?
 
म्यानेजर भन्नुस् वा व्यवस्थापक । म्यानेजरको पनि ठुलो भूमिका हुन्छ नि त ।

तपाईंलाई कहाँ जिम्मा दिएको छ त म्यानेजरको ? 

जुन पदमा छु त्यो नै एउटा जिम्मा हो नि । यो त पार्टी महाधिवेशनले दिएको जिम्मा हो मलाई । त्यसकारण देशैभरिको अनुकूलताको आधारमा चुनाव प्रचारप्रसारमा भाग लिने, जाने, बोलाएको ठाउँमा जाने ।

Yogesh Bhattarai

अब केही दिन पछाडि आफ्नै निर्वाचन क्षेत्रमा जाने, त्यहाँको उम्मेदवारलाई जिताउने, त्यसका लागि वातावरण बनाउने । केन्द्रीय कार्यालयमा जाने, केन्द्रीय कार्यालयमा हुने कतिपय कामहरू गर्ने । यी त सबै चुनावसँग सम्बन्धित नै हुन् । त्यसो हुँदा उम्मेदवार नहुँदैमा फुर्सदिलो अवस्थामा म छैन ।

फुर्सदिलो त निश्चित हुनुहुन्न, तर दर्शकको भूमिका हुँदा अलिकति भूमिका फरक हुन्छ कि ? परिभाषित जिम्मेवारी चाहिँ भएन भन्न खोजेको ।

भूमिका त नि:सन्देह फरक हुन्छ किनभने उम्मेदवार हुँदाको तनावबाट म केही मुक्त छु । उम्मेदवार हुँदा त्यहाँको परिचालन, त्यहाँको व्यवस्थापन, आर्थिक व्यवस्थापनदेखि कार्यकर्ता मोबिलाइजेसन, मान्छेको भेटघाट, अन्तरविरोधहरूको व्यवस्थापन धेरै कुरामा उम्मेदवारले आफैँ गर्नुपर्छ । त्यो हिसाबले कामबाट म अलि हलुका त छु नै ।
 
निर्वाचनमा पार्टी होमिइराख्दा तपाईंजस्ता नेताहरूलाई कहीँ न कहीँ परिभाषित जिम्मेवारी दिएको भए पार्टीलाई राम्रो हुन्थ्यो, ती उम्मेदवारलाई राम्रो हुन्थ्यो भन्ने लाग्दैन ?
 
हामीले बैठकमा त्यो कुरा भनेकै छौँ । उम्मेदवार नभएकाहरूलाई पनि परिभाषित ढंगले कहीँ न कहीँ खटाउनुपर्छ । अहिलेको कमिटीमा भएका मात्रै होइन, पुराना, हाम्रा पाका नेताहरू पनि थुप्रै हुनुहुन्छ । उहाँहरूलाई पनि कुनै एउटा खास ठाउँमा यो काम गरिदिनुस्, त्यो ठाउँको चुनाव प्रचारमा लागिदिनुस्, त्यहाँको व्यवस्थापनमा लागिदिनुस् भन्दा राम्रो हुन्थ्यो । केन्द्रीय निर्वाचन परिचालन कमिटी बनेको छ, त्यो कमिटीले यसरी तोकेर पठाएको छैन । तर अझै पनि समय छ, हामी ७ गते घोषणापत्र जारी गर्दैछौँ । त्यो भन्दा अगाडि अथवा पछाडि सम्भवतः सबै नेताहरूलाई कुनै न कुनै ठाउँको जिम्मेवारी तोकिन्छ होला जस्तो लाग्छ ।

ताप्लेजुङको चाहिँ अब अहिले परिस्थिति फरक छ, पहिला पनि अलि साँघुरो मतले हारजित भयो, सेन्टिमेन्ट पनि अलि जनजाति यस्तै–यस्तै छ । तपाईंकै हितको लागि तपाईं झापा वा काठमाडौँ कुनै क्षेत्रबाट लड्नुस् भनेर अध्यक्षले भन्नुभएको थियो भन्ने कुरा कति सही हो ?
 
पहिलो कुरा अध्यक्षसँग मैले आफ्नो वा कुनै पनि साथीहरूको उम्मेदवारीको बारेमा कुनै अनौपचारिक कुरा गरेको छैन । माघ ३ गतेको सचिवालय बैठक करिब ६ घण्टा जति बसेको थियो । त्यहाँ एक–एक उम्मेदवारको बारेमा छलफल भयो । १६५ वटै निर्वाचन क्षेत्रको बारेमा यो ठीक छ, यो बेठिक छ, यो गर्नुपर्छ, त्यो गर्नुपर्छ भन्ने सबै छलफल भयो ।

त्यहाँ मेरो बारेमा पनि केही कुराहरू छलफल भए । सुरेन्द्र पाण्डेजीको बारेमा पनि छलफल भयो, गोकुलजीको बारेमा पनि छलफल भयो, गणेश पहाडीजीको बारेमा पनि छलफल भयो, अरु थुप्रै नेताहरूको बारेमा पनि छलफल भयो, नभएका होइनन् । तर त्यसबाहेक कुनै अनौपचारिक भेटघाट मैले अध्यक्षसँग त्यस मामलामा गरेको छैन, गरिनँ र उहाँले पनि मलाई छलफल गर्न बोलाउनुभएन । 

तपाईंकै बारेमा चाहिँ भएको के हो भनेर सोधेको ।

तपाईंले अघि भन्नुभएको जस्तो कुरो भएको होइन । अध्यक्षले बैठकमा मेरो उम्मेदवारी र जित्ने सम्भावनाको बारेमा केही शंका गर्नुभएको थियो । मैले त्यसमा आफ्नो प्रतिवाद पनि गरेको थिएँ । मैले अरु नेताहरूको बारेमा पनि प्रतिवाद गरेको हो, नगरेको होइन । अब मसँग भन्दा त अध्यक्षसँग धेरै नै कोणबाट रिपोर्टिङ भएको होला नि, मलाई त एउटा कोणबाट रिपोर्टिङ भएको होला । तर कतिपय रिपोर्टिङहरू एकपक्षीय थिए र ती पूर्वाग्रहपूर्ण पनि थिए । त्यसमा मैले प्रतिवाद पनि गरेको हो, नगरेको होइन । 

तपाईं, गोकुल बाँस्कोटाजी लगायत नेताहरूलाई एउटा चुनौती चाहिँ अहिले के देखिन्छ भने यदि तपाईंहरुका क्षेत्रमा एमालेले हारिहाल्यो भने तपाईंहरुले हराएको हुने, जित्यो भने असहयोग गर्दागर्दै पनि एमालेले जित्यो भन्ने सन्देश लैजान देखिन्छ । त्यो खतराबाट कसरी मुक्त हुने होला ?

म यस्ता सामान्य कुराभन्दा धेरै माथि पुगिसकेँ ।

तपाईंहरूलाई उम्मेदवारहरूले आइदिनु भन्ने, तर जानका लागि पार्टीले अनुमति पनि दिएको छैन । अप्ठ्यारो छ है ?

त्यस्तो त्यो लिखित अनुमति केही चाहिँदैन, त्यो आवश्यक पनि छैन । यस्तो बेलामा त्यही पनि महाधिवेशनमा, अधिवेशनमा कहीँ यसो फलानो उम्मेदवारलाई जिताउन जाने पार्टीभित्रको भनौँ न, पार्टीभित्रको प्रतिस्पर्धामा जाने भए पो किन आइस्, कसो आइस्, यहाँ गुटबन्दी गर्न किन आइस् भन्ने हुन्छ । अहिले त खुल्लमखुल्ला भोट माग्न जाने हो, एमालेलाई भोट माग्न जाने हो । भनेपछि कहीँ पनि नआइज भन्ने कुरै हुँदैन । मलाई लाग्छ कि एमालेका कुनै पनि साथीहरूको मन चित्त तपाईंले भने जस्तो सानो छैन ।

यसअघिको निर्वाचनका एजेन्डाहरू जे हुन्थे, अहिलेको निर्वाचनको एजेण्डा एउटै छन् कि फरक हुनुपर्छ भन्ने लाग्छ तपाईंलाई ?

यसपटकको चुनाव बेग्लै परिस्थितिमा हो । संविधान लगभग कोल्याप्स गर्न खोजिएको हो नि त । बालबाल बचेको छ र त्यसमा राष्ट्रपति र सेना प्रमुखको भूमिकाको म प्रशंसा गर्छु । जसले यो संविधानलाई जोगाउन निम्ति भूमिका खेल्नुभयो अन्तिम आवरमा । रिलेटिभ्ली एउटा सेफ ल्यान्डिङ गर्नुभयो, यद्यपि यो सरकार कुन संविधानको धाराबाट बन्यो ७६ को कुन धारामा बन्यो, बनेको त छैन नि त । तर पनि त्यो बाहेकका अन्य कुरामा त्यसपछिका गतिविधिमा संविधान मिच्ने गरी कुनै काम भएको छैन । त्यसको मतलब संविधान जीवित छ तर केही न केही घाइते भएको छ । त्यो संविधानलाई फेरि परिष्कृत ढंगले अगाडि बढाउनुपर्ने छ, गतिशील बनाउनुपर्ने छ । संविधानका कतिपय कुराहरूलाई संशोधन गरेर पनि जानुपर्ने छ । 

Yogesh Bhattarai1

अर्को अब हाम्रो नेसनल सेक्युरिटीको बारेमा अहिलेसम्म चुनावी एजेन्डा बनेन । आगामी दिनमा संसद्मा एउटा राम्रो राष्ट्रिय सुरक्षा नीतिको बारेमा बहस हुनुपर्छ सन्तुलित खालको बहस हुनुपर्छ भन्ने मलाई लाग्छ । तेस्रो, हामीले एकदमै कम छलफल गरेको हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध हो, परराष्ट्र सम्बन्ध हो । निर्वाचनपछि बन्ने सरकारले कसरी फास्ट डेलिभरी गर्न सक्छ, त्यो कुराको हामीले उपायहरू खोज्नुपर्छ । अर्को जियोपोलिटिक्सका असरहरू नेपालभित्र कम परून् । 

जियोपोलिटिक्सका असरहरू नत्र जियोपोलिटिक्सको भुमरीमा पर्‍यो भने हामी चाहिँ धेरै नराम्ररी फस्न सक्छौँ । किनभने हामीले एमसीसीसँग पनि डिल गर्नुपर्ने छ,  बीआरआईसँग पनि डिल गर्नुपर्छ । 

कोही आएर हामीलाई जोगाउँछ त, जोगाउँदैन नि । त्यसैले हामी आफैँ जोगिने हो । तर त्यसका निम्ति हाम्रो ब्यालेन्स विगतमा अलिअलि बिग्रियो कि भन्ने लाग्छ ।

अहिलेको निर्वाचनका लागि एमाले मुद्दाविहीन छ भनिँदैछ । एमालेले के भनेर भोट माग्छ ? 

अघि मैले भने नि मुद्दाहरू त तिनै हुन् नि । नेसनल सेक्युरिटीको मुद्दा हो, संविधान संशोधनको मुद्दा हो । भू–राजनीतिक शक्ति सन्तुलनको मुद्दा हो, अन्तर्राष्ट्रिय सम्बन्धको मुद्दा हो । त्यसपछि विकास निर्माणका मुद्दाहरू जो हामीले पहिलेदेखि उठाउँदै आएका छौँ, ती मुद्दाहरू हुन् । सुशासनको मुद्दा हो, भ्रष्टाचार अन्त्यको मुद्दा हो । 

तपाईंहरूले भनेका यी मुद्दा सुन्ने अवस्थामा छन् त अहिले मतदाता ?

सुनाउनुपर्छ । 

तपाईंले भनेका यी मुद्दा त एमाले उम्मेदवारले त्यति उठाएको सुनिँदैन । बरु आफ्नो प्रतिस्पर्धीलाई जेलेन्स्की भनेको मात्र सुनिन्छ नि ? 

अनौपचारिक बोलेका शब्दहरूको पछाडि नजाऔं । एमालेको औपचारिक भाषा त्यो होइन । त्यसरी जानु पनि हुँदैन हामी । एमालेमाथि अलिकति बायस भएर नियोजित रूपमा पनि आक्रमण छ, तर त्यसबाट एमाले विचलित भएर आफैँ आक्रोशित भएर आफैँ उत्तेजित भएर जानु हुँदैन । एमाले त सम्झाउने पार्टी हो नि । कांग्रेस पनि सम्झाउने पार्टी हो । यी दुइटा पार्टीले त सम्झाउनुपर्छ । भिडलाई उतारेर मात्रै हुँदैन । यी दुइटा पार्टीले, भिडलाई बैठाउनुपर्छ । कांग्रेस र एमाले सिंह माथि चढेका छैनन् । सिंहमाथि चढ्नेहरूलाई एकदम गाह्रो हुन्छ ।

२०७४ र २०७९ को चुनावमा तपाईंहरूले ब्रान्डिङ गरेका केपी ओलीको लोकप्रियता कहाँ पुग्यो ? सुनिन्छ, कुनै पनि उम्मेदवारले उहाँलाई लैजान मान्दैन । त्यस्तो व्यक्ति भावी प्रधानमन्त्रीको रुपमा बोकेर कहाँ पुग्नुहोला ? 

एकपटक चुनाव हारेका ट्रम्प फेरि आए त । नेतृत्वको पुनरोदय हुँदैन भन्ने मलाई लाग्दैन । आजको दिनमा स्वाभाविक रूपमा एमालेमाथि प्रश्न छन् । केपी ओलीमाथि अझै ज्यादा प्रश्न छन् । यो चुनाव केपी ओलीलाई पनि पुनरोदय हुने एउटा मौका हो ।

Yogesh Bhattarai2

उहाँमाथिका जति प्रश्न छन् तिनको उहाँले सानका साथ जवाफ दिनुभयो, इमानका साथ जवाफ दिनुभयो, त्यस अनुसार आफुलाई प्रस्तुत गर्नुभयो भने केपी ओलीको पुनरोदय पनि हुन्छ ।

त्यो अझै आश छ है ?

संसदीय राजनीतिमा र पार्टी राजनीतिमा अबको पाँच वर्ष केपी ओलीको निम्ति अन्तिम मौका हो । त्यसकारण म झापाका मतदाताहरूलाई पनि के भन्छु भने तपाईंको २५–३० वर्ष सेवा गरेको एउटा नेतालाई सम्मानका साथ बिदाई गर्नुपर्छ, जिताउनुपर्छ । पार्टीले पनि उहाँलाई अर्को पाँच वर्षपछि सम्मानका साथ बिदाई गर्छ । पाँच वर्ष उहाँलाई राम्रो काम गर्ने वातावरण हामीले मिलाइदिनुपर्छ । संसदीय फाँटमा पनि उहाँलाई पाँच वर्ष सम्मानजनक काम गर्ने वातावरण मिलाइदिनुपर्छ । त्यसपछि उहाँ आनन्द साथ अवकाश लिनुहुन्छ भन्ने आशा गरौँ । आफ्नो घरमा फर्किनुहुन्छ ।

तपाईंले बारम्बार भनेको सुनिन्छ कि फागुन २१ गतेपछि निर्वाचनअघि र पछिका विषयमा गम्भीर समीक्षा हुन्छ । मानौं २१ गतेपछि एमालेमा योगेश भट्टराईले चमत्कारै गर्न लाग्नुभयो कि क्या हो भनेर भन्छन् मान्छेहरू । केही त्यस्तो चमत्कार हुँदैछ एमालेमा ?

मलाई दिने र नदिने होइन, यो कुरा पार्टी प्रणालीले माग गर्छ । हामीले महाधिवेशनको पनि समीक्षा गरेका छैनौँ, भ्याएका छैनौँ । चुनावी प्रक्रियामा पनि धेरै कुरा मान्छेले चित्त बुझाएका छैनन् । तर पार्टीको हितमा मान्छे लागिरहेका छन्, काम गरिरहेका छन् । चुनावपछि हामीले निर्मम समीक्षा गर्नुपर्छ । कमजोरी कहाँ भयो ? प्रक्रियागत मिस्टेकहरू कहाँ भए ? नीतिगत मिस्टेकहरू कहाँ भए ? नेतृत्वको मिस्टेकहरू कहाँ भए ? त्यसलाई हामीले सुधार्नुपर्छ । निर्वाचनपछि त हाम्रो पार्टी पंक्तिले स्वतः माग गरिहाल्छ नि । त्यहाँ स्वतः त्यो एजेन्डा प्रवेश गरिहाल्छ नि । 

परिणामबारेमा अहिले नै अनुमान नगरौँ । तर निर्वाचनमा एमाले शर्मनाक पराजित हुन्छ । पराजित भइसकेपछि अध्यक्षको राजीनामा त स्वतः माग भइहाल्छ भन्ने तपाईंको कुरा हो ?
 
त्यस्तो हतारो विश्लेषण गर्नुहुँदैन । हामीलाई त्यो ठाउँमा पुग्न हतार पनि छैन । त्यसरी जानु पनि हुँदैन । त्यो अपेक्षा पनि गर्नु हुँदैन । केपी ओलीले आफूले जितेर, पार्टीलाई धुमधाम जिताएर संसद्मा इज्जतपूर्ण ढंगले संसदीय अभ्यासमा हाम्रो पार्टीको उपस्थिति होस् भन्ने म चाहन्छु ।

बंगलादेशको निर्वाचन परिणामले एमाले, कांग्रेसहरूलाई अलि उत्साहित बनाएको हो ?

बंगलादेशको चुनाव चाहिँ बडा गजबको छ । एउटा पार्टी आउँछ, अर्कोलाई प्रतिबन्ध लगाएर चुनाव गर्छ । यो पटक पनि त एउटालाई त प्रतिबन्ध लगाइयो । त्यो पार्टीलाई पनि चुनाव लड्न दिएको भए परिणाममै फरक पर्न सक्थ्यो कि ? त्यसो हुनाले त्यहाँ कसैलाई जिताउन प्रायोजित खालको चुनाव हो कि ? सत्ता पलट भएपछि निर्वासनमा बसेको मान्छेलाई निकालेर ल्याइयो । आफ्नो पक्षमा परिणाम निकाल्नका निम्ति कुनै पूर्व योजना छ कि ? आशंका त हुन सक्छ नि ।

रास्वपाको पक्षमा आएको लहरलाई कसरी हेर्नुभएको छ ?

नेपाली जनताले कत्तिको विश्वासिलो छ भनेर हेरिरहेका छन्, जाँचिरहेका छन् । सबै ब्याकअप गर्न मात्रै आएका होइनन् छाम्न पनि आएका हुन् । देशै हाँक्ने, सार्वभौमसत्तालाई यिनीहरूले तलमाथि गर्दैनन् भन्ने कन्फिडेन्स चाहिँ मतदातामा देखिँदैन । मत दिनु भनेको त हाम्रा मौलिक हकहरू, हाम्रो सामाजिक सम्बन्ध, धार्मिक एकता, अन्तर्राष्ट्रिय सम्बन्धमा भोलि बेइजिङमा जाँदा, दिल्लीमा जाँदा, वासिङ्टनमा जाँदा नेपाली भएर तैँले त्यहाँ सही गर्नुपर्छ है नेपाली भएर भनेको हो नि । यी सबै कुरामा मतदाताले छामिरहेका छन्, जाँचिरहेका छन् ।
 
लामो अनुभव भएको, पटक–पटक प्रधानमन्त्री, बारम्बार छामेकोलाई पनि त सुइँको समेत भएन नि । अनि फरक केही पनि रहेनछ नि त ?

त्यसलाई त मान्नुपर्‍यो, स्वीकार्नुपर्‍यो हामीले । पूर्वानुमान गर्न सकिएन । प्रधानमन्त्रीले सक्नुभएन । गृहमन्त्रीले सक्नुभएन । त्यसको मतलब पार्टीले सकेन । म पनि त पार्टीको मान्छे हुँ, मैले पनि सकिनँ । ठुलो घटना घट्न सक्छ, ठुलो जनधनको क्षति हुन सक्छ भन्ने पूर्वानुमान एमालेलाई थियो भने त पार्टीले आफ्नो प्रधानमन्त्रीलाई यस्तो छ,  भोलिको सतर्कता अपनाउनुस् भनेर राति २ बजेसम्म बैठक बस्नुपर्थ्यो नि । 

भिडियो/फोटो : मनोज खड्का

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप