मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
निर्वाचन चर्चा

के चाहन्छन् मकवानपुर–२ का मतदाता ?

पुराना दल तथा उम्मेदवारप्रति गुनासो
सोमबार, ०४ फागुन २०८२, २० : ३०
सोमबार, ०४ फागुन २०८२

सारांश

  • निर्वाचन नजिकिँदै गर्दा मकवानपुरमा दल र स्वतन्त्र उम्मेदवारहरूले अभियान सुरु गरेका छन्।
  • मतदाताहरूले विगतका आन्दोलनबाट परिवर्तनको अपेक्षा राखेका छन्, र जेनजी आन्दोलनलाई असन्तुष्टिको विद्रोह मानेका छन्।
  • मतदाताहरू पुरानो दल र नेताहरूसँग असन्तुष्ट छन्, र देशलाई समेट्ने एजेन्डा बोकेका व्यक्तिलाई समर्थन गर्नुपर्ने बताउँछन्।

हेटौँडा । आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मकवानपुरमा दल तथा स्वतन्त्र उम्मेदवारहरूले अभियान सुरु गरेका छन् । उम्मेदवारहरू मतदाता समक्ष पुग्दा मतदाता पनि उत्सुकतापूर्वक निर्वाचनको माहोल मूल्याङ्कन गरिरहेका छन् । 

मकवानपुरका दुई क्षेत्रका मतदाताहरू विगतका आन्दोलन र आसन्न निर्वाचनबाट परिवर्तनको अपेक्षा राखेका देखिन्छन् । 

मकवानपुर क्षेत्र नम्बर–२ का मतदाता युवा पुस्तासँगै विचार, सिद्धान्त र एजेन्डामा केन्द्रित भएर मतदान गर्नुपर्ने बताउँछन् । उनीहरूको पुराना राजनीतिक दल तथा उम्मेदवारप्रति गुनासो स्वाभाविक छ । तर, नयाँ शक्तिप्रति आकर्षणसँगै विकास निर्माण र सुशासनको एजेन्डा मूल्याङ्कन गर्नुपर्ने उनीहरूले औँल्याएका छन् । 

जेनजी आन्दोलनः असन्तुष्टिको प्रस्फुटन

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई हेटौँडा–१ का हरिशरण अधिकारी ‘असन्तुष्टिको विद्रोह’ मान्छन् । टौँडा बजार क्षेत्रको सडक विस्तारको क्रममा भत्काइएको घरको सटरमा तरकारी बेच्दै गरेका उनी विशेषगरी सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध र सरकारको कार्यशैलीप्रति युवा पुस्ताको आक्रोश स्वाभाविक भएको तर्क गर्छन् । यद्यपि आन्दोलनका क्रममा भएका भौतिक पूर्वाधारको क्षति र मन्त्रालयहरूमा लागेको आगोप्रति भने उनको गुनासो छ । 

‘जेनजी मुभमेन्ट एक खालको असन्तुष्टिको विद्रोह हो । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरुद्धको प्रतिक्रिया हो । पछिल्ला दिनमा हरेक व्यक्तिको हातमा मोबाइल सुविधा छ, अब त्यो मोबाइल डिस्कनेक्ट गरियो भने विद्रोह सुरु हुन्छ,’ उनले भने । ‘सबैभन्दा पीडाचाहिँ भाटभटेनीको क्षत–विक्षत अवस्था र ठुल्ठुला संस्थाहरू जलेको देख्दा भयो, त्यतिखेर सुरक्षा निकाय पनि असक्षम देखियो ।’ 

चौकीटोल सडक किनारमा चटपटे व्यापार गरिरहेकी रुपा न्यौपानेले जेनजी मुभमेन्ट सही भए पनि सरकारी संरचना जलेको उचित नभएको बताइन् । ‘परिवर्तनका लागि त्यो आन्दोलन धेरै सही थियो । युवाले चाहे भने जे पनि गर्न सक्छन् भन्ने देखियो, तर भत्काउने र आगो लगाउने काम राम्रो होइन । सबैलाई घाटा भयो,’ उनले भनिन्, ‘यो देश सबैको हो । तर सरकारले काम गर्न नसक्दा भएको आक्रोशले परिवर्तनको आन्दोलनसँगै भौतिक संरचना भत्काउने काम भयो, जसले राज्यलाई नै घाटा पुर्‍यायो ।’ 

मकवानपुरगढी–५ का कृषक बद्री प्रसाद अधिकारीका अनुसार जेनजी आन्दोलन शासकीय प्रणालीविरुद्धको अनिवार्य आवाज थियो । जेनजी आन्दोलनपछि नागरिकको मनोकांक्षा परिवर्तन भएको उनले बताए । तर, राज्य संयन्त्र अझै पनि टालटुले रहेको अनुभव उनले साझा गरे । जेनजी आन्दोलन वास्तवमा सुशासनको संयन्त्र चुस्तदुरुस्त बनाउनुपर्छ भन्ने परिपाटी भए पनि व्यवस्था प्रणालीले काम नगरेको उनले महसुस गरेका छन् । 

‘शासकीय प्रणालीका हिसाबले यो अत्यन्त आवश्यक थियो । यो कुरा कोही न कोहीले उठाउनैपर्थ्यो । सुशासनको एजेन्डा अत्यन्त जरुरी थियो । त्यो दलहरूले उठाउनुपर्ने कुरा युवाहरूले उठाए, जुन जायज थियो,’ उनले भने । ‘तर विध्वंस देशका लागि दुर्भाग्यपूर्ण भयो । राज्य संयन्त्र कमजोर भएको कारण क्षति बेहोरियो । २३ गते त्यति मान्छे मरेपछि यसको प्रभाव पर्नुपर्ने हो ।’ 

अधिकांश मतदाताहरू पुराना दल र तिनका नेतासँग असन्तुष्ट भए पनि देशलाई समेट्ने एजेन्डा बोकेका व्यक्तिलाई समर्थन गर्नुपर्ने बताउँछन् । २०४२ सालदेखि मतदान गर्दै आएका मकवानपुरगढीका श्याम लामाका अनुसार चार दशकमा चुनाव लड्ने शैली र दिइने आश्वासन उस्तै छ । नयाँ दलहरूको उदय आशाको रूपमा भए पनि प्रभावकारी मुद्दा आउन नसकेको उनको भनाइ छ । 

लामाका अनुसार निर्वाचनमा होमिएका दल तथा उम्मेदवारको पहिलो प्राथमिकता वातावरण संरक्षण हुनुपर्छ । क्रसर र टिपरले उडाएको धुलोका कारण जनस्वास्थ्यमा असर परेको हुँदा स्वच्छ वातावरणमा बाँच्ने नागरिकको अधिकार सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारप्रति असन्तुष्टि व्यक्त गर्दै सरकारले सबै जिम्मा लिनुपर्ने लामाका भनाइ छ । अहिलेको निजीकरणले गरिबहरू ऋणमा डुबेको उनले बताए । 

‘पहिले पनि बाटो र पानीको कुरा गर्थे, अहिले पनि त्यही भन्छन् । तर जितेपछि कसैले पाँच वर्ष टिक्ने गरी काम गर्दैनन्,’ उनले भने । ‘रोजगारी छैन भन्नु गफ मात्र हो, काम गरेजति पनि छ । तर नेतृत्वमा स्थितरता आवश्यक छ । पटक–पटक राजनीतिक अस्थिरता र नेताहरूको आपसी झगडाले दिक्क बनाएको छ । २०४७ मा कृष्णप्रसाद भट्टराईले पाँच वर्ष काम गर्न पाएको भए देश अर्कै हुन्थ्यो । तर महिना–दिनमै झगडा सुरु हुन्छ । चुनाव एउटा अवसर हो, तर जो आए पनि पाँच वर्ष नटिक्ने देखिन्छ ।’ 

चौकीटोलकी रुपा न्यौपानेका अनुसार विगतमा उम्मेदवारहरूले ‘यो गर्छु, त्यो गर्छु’ भनेर आश्वासन दिए पनि काम गरेनन् । यसपटक विकल्पको खोजीमा रहेकी उनले नेतृत्व तहमा पुगेका व्यक्तिहरूले जिम्मेवारीपूर्वक काम नगरेको कारण मुलुकले फेरि चुनावको सामना गर्नुपरेको बताइन् । स्वदेशमै रोजगारी सिर्जना गरी युवाहरूलाई विदेश पलायन हुनुपर्ने बाध्यतालाई अन्त्य गर्नुपर्ने उनको भनाइ छ । 

मकवानपुर–२ का मतदाता बद्री प्रसाद अधिकारीका अनुसार अहिले चुनाव पुराना पार्टी र नयाँ पार्टीको परिपाटीमा भएको छ । तर यी दुवैले साँच्चै देश बनाउने कि नबनाउने भन्नेमा भ्रम रहेको उनले बताए । नेपालमा आफूले गर्न नसकेपछि अरूलाई दोष दिने प्रवृत्ति हावी रहेको र जिम्मेवार तथा जवाफदेही नेतृत्वको आवश्यकता रहेको उनले औँल्याए । 

‘पुरानाले जिते नयाँलाई सिध्याउने, नयाँले जिते पुरानालाई सिध्याउने भन्ने इगोमा अहिलेको चुनाव भइरहेको छ,’ उनले भने, ‘आफूले गर्न नसकेपछि अरूलाई दोष दिने प्रवृत्ति उचित छैन । वृद्धहरूमा अनुभव हुन्छ, युवामा जोस र बल बढी हुन्छ । तर बल मात्र होइन, बुद्धि र अनुभव पनि आवश्यक छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप