घरजग्गा कारोबारमा उत्साहजनक ‘बाउन्स ब्याक’: गत वर्षको तुलनामा कारोबार र राजस्व दुवैमा फट्को
सारांश
- आर्थिक वर्षको सात महिनामा घरजग्गा कारोबारबाट २६ अर्ब ९६ करोड राजस्व सङ्कलन भएको छ।
- गत वर्षको माघको तुलनामा यस वर्ष माघमा घरजग्गा कारोबार बढेको छ, तर पुसको तुलनामा केही घटेको देखिन्छ।
- कलंकी, नेपालगञ्ज र इनरुवा घरजग्गा कारोबारको नयाँ केन्द्रको रूपमा देखिएका छन्।
काठमाडौँ । लामो समयको सुस्ततापछि घरजग्गा कारोबार लयमा फर्किएको छ । चालु आर्थिक वर्ष (२०८२/०८३) को सात महिनासम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको मासिक तथ्याङ्क अनुसार घरजग्गा कारोबारबाट हुने राजस्व सङ्कलन सवा २ अर्ब रुपैयाँले बढेको छ ।
चालु आर्थिक वर्षको पहिलो सात महिना (साउन–माघ)सम्ममा घरजग्गा कारोबारबाट २६ अर्ब ९६ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । यस्तो राजस्व सङ्कलन अघिल्लो आर्थिक वर्ष (२०८१/०८२) को सोही अवधिमा २४ अर्ब ७१ करोड रुपैयाँ थियो ।
घरजग्गा कारोबारबाट भएको राजस्व सङ्कलन चालु आर्थिक वर्षको पहिलो ७ महिनामा २ अर्ब २५ करोड ४७ लाख रुपैयाँले बढेको छ । यो राजस्व वृद्धिदर गत वर्षको तुलनामा ९.१२ प्रतिशतले बढी हो । साउनदेखि माघ मसान्तसम्मको कारोबारले घरजग्गा क्षेत्रमा उत्साहजनक सुधार देखिएको हो ।
देशभरका मालपोत कार्यालयहरूको तथ्याङ्क अनुसार गत वर्षको माघको तुलनामा यस वर्षको माघमा कारोबार ह्वात्तै बढेको देखिन्छ ।
विभागको तथ्याङ्क अनुसार चालु वर्षको माघमा देशभर १ लाख ५३ हजार ९२० वटा घरजग्गा सम्बन्धी काम (लिखत र अन्य कारोबार) भएका छन् । जबकि गत वर्षको माघमा यो सङ्ख्या १ लाख ३२ हजार ३१ मात्र थियो । अर्थात् गत वर्षको तुलनामा यस वर्षको माघमा २१ हजार ८८९ वटा बढी कारोबार भएको छ ।
यद्यपि अघिल्लो महिना (पुस) को तुलनामा भने माघमा कारोबार केही कम देखिएको छ । पुसमा १ लाख ६२ हजार ८७७ वटा कारोबार भएकोमा माघमा आइपुग्दा करिब ८ हजार ९ सयले घटेको छ । जाडोयाम र सिजनल प्रभावका कारण पुसको तुलनामा माघमा थोरै सुस्तता देखिएको छ ।
नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु घिमिरेले पछिल्लो समय घरजग्गा कारोबारमा क्रमशः सुधार आउन थालेको बताए । विशेषगरी कित्ताकाटमा लगाइएको प्रतिबन्ध हटेसँगै बजार चलायमान हुन थालेको उनको विश्लेषण छ ।
चाडपर्व (असोज–कात्तिक) को समयमा कारोबारमा ठुलो गिरावट आएको थियो । असोज महिनामा त अघिल्लो वर्ष १ लाख नाघेको कारोबार यस वर्ष ७९ हजारमा झरेको थियो । तर, मंसिर लागेसँगै बजार गुल्जार भएको देखिन्छ, जसले गर्दा सुरुवाती घाटा परिपूर्ति भई समग्र ७ महिनाको नतिजा सकारात्मक देखिएको हो ।
अध्यक्ष घिमिरेले सरकारको कडाइका बाबजुद पनि घरजग्गा कारोबार बढ्दो क्रममा रहेको बताए । ‘मैले कित्ताकाट खुलेपछि बजार बढ्छ भनेर पहिले पनि भनेको थिएँ । अहिले बिस्तारै त्यही भइरहेको छ,’ घिमिरेले भने, ‘सरकारले जतिसुकै कस्दा पनि गत माघ महिनामा मात्रै ५ अर्ब १ करोड रुपैयाँ राजस्व सङ्कलन हुनुले यो क्षेत्रको सकारात्मक पक्षलाई देखाउँछ ।’
बजारमा सुधारको सङ्केत देखिए पनि बैंकिङ नीतिले गर्दा व्यवसायी र सर्वसाधारणले सास्ती खेप्नुपरेको गुनासो घिमिरेले गरे । बैंकमा लगानीयोग्य रकम (तरलता) थुप्रिए पनि आम्दानीको स्रोत देखाउने झन्झटिलो प्रक्रियाका कारण ऋण लिन नसकिने अवस्था रहेको उनको भनाइ छ ।
घिमिरेले भने, ‘राष्ट्र बैंकले होम लोनको सीमा बढाएको त छ, तर आम्दानीको स्रोत पुर्याउन नसक्दा त्यसको औचित्य देखिएन । अहिलेको अवस्थामा सरकारको बहालवाला सचिवले नै आफ्नो तलब देखाएर ऋण माग्दा ३० देखि ४० लाख रुपैयाँभन्दा बढी पाउने अवस्था छैन ।’
अध्यक्ष घिमिरेले घरजग्गा व्यवसायलाई थप व्यवस्थित र चलायमान बनाउन कर्जा प्रवाहमा लचकता अपनाउनुपर्नेमा जोड दिए । उनले ३ करोड रुपैयाँसम्मको घर कर्जाका लागि ऋणीले पेस गर्ने स्वघोषित आयस्रोतलाई बैंकले मान्यता दिनुपर्ने बताए ।
‘कुनै व्यक्तिले घर किन्न वा बनाउन ३ करोड ऋण लिन्छ भने उसलाई आम्दानीको स्रोतको कचिङ्गल नझिकी स्वघोषित आयलाई आधार मानेर ऋण दिने हो भने बजार धेरै राम्रो हुने थियो,’ उनले भने ।
नजिकिँदै गरेको निर्वाचनले पनि बजारलाई केही प्रभाव पार्ने बताउँदै घिमिरेले जुनसुकै पार्टीको सरकार आए पनि घरजग्गा कारोबारलाई व्यवस्थित र एकीकृत गर्नुपर्नेमा जोड दिए ।
पुसमा सर्वाधिक, कात्तिकमा सबैभन्दा कम राजस्व
विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामध्ये घरजग्गा कारोबारबाट सबैभन्दा बढी राजस्व पुस महिनामा सङ्कलन भएको देखिन्छ । पुस महिनामा मात्रै ४ अर्ब २५ करोड २२ लाख रुपैयाँ भन्दा बढी राजस्व उठेको थियो । यस्तै, चाडपर्वको समय परेकाले कात्तिक महिनामा भने सबैभन्दा कम २ अर्ब ७० करोड ४० लाख रुपैयाँमात्र राजस्व सङ्कलन भएको थियो ।
पछिल्लो महिना अर्थात् माघमा भने राजस्व सङ्कलन ३ अर्ब ८७ करोड २४ लाख रुपैयाँ पुगेको छ, जुन पुसको तुलनामा केही कम देखिएको छ ।
कुन महिनामा कति राजस्व र कारोबार ?
आर्थिक वर्ष २०८२/०८३ को सात महिनामा समग्र घरजग्गा कारोबार संख्या र राजस्व सङ्कलनमा वृद्धि देखिएको छ । साउनदेखि माघसम्मको कुल कारोबार हेर्दा अघिल्लो वर्षको तुलनामा यस वर्ष (२०८२/०८३) कारोबार संख्या १० हजार ३४९ ले बढेको छ । चालु आर्थिक वर्षको ७ महिनामा ८ लाख ५६ हजार २९० भएको छ, तर गत वर्षको सोही अवघिमा ८ लाख ४५ हजार ९४१ कारोबार भएको थियो ।
यस वर्षको सुरुवाती चार महिना (साउनदेखि कात्तिक) सम्म घरजग्गा कारोबार अघिल्लो वर्षको सोही महिनाको तुलनामा कम थियो, तर मंसिर महिनादेखि कारोबारमा एक्कासि उछाल आएको देखिन्छ । मंसिर, पुस र माघ तीनै महिनामा अघिल्लो वर्षको भन्दा बढी कारोबार भएको छ ।
विशेषगरी यो वर्ष पुसमा सबैभन्दा धेरै १ लाख ६२ हजार ८७७ घरजग्गा सम्बन्धी काम भएका छन्, जुन अघिल्लो वर्षको पुसको तुलनामा करिब २२ हजारले बढी हो ।
चाडपर्व (असोज–कात्तिक) को समयमा कारोबारमा ठुलो गिरावट आएको थियो । असोज महिनामा त अघिल्लो वर्ष १ लाख नाघेको कारोबार यस वर्ष ७९ हजारमा झरेको थियो । तर, मंसिर लागेसँगै बजार गुल्जार भएको देखिन्छ, जसले गर्दा सुरुवाती घाटा परिपूर्ति भई समग्र ७ महिनाको नतिजा सकारात्मक देखिएको हो ।
महिनागत तुलनात्मक विवरण (साउन–माघ)

राजस्व सङ्कलनमा पनि त्यस्तै अवस्था देखिएको छ । साउन महिनामा घरजग्गा कारोबारबाट ३ अर्ब ८३ करोड ५० लाख ८२ हजार ८८५ रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
भदौ महिनामा ३ अर्ब ९ करोड २ लाख ५९ हजार १५२, असोजमा ३ अर्ब ८ करोड १२ लाख ४१ हजार ४८१, कात्तिकमा २ अर्ब ७० करोड ४० लाख ४६ हजार ६४५, मंसिर महिनामा ३ अर्ब ८७ करोड ४८ लाख २६ हजार ९७६ रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
पुस महिनामा सर्वाधिक राजस्व सङ्कलन भएको थियो, जसमा ४ अर्ब २५ करोड २२ लाख २१ हजार ७७९ रुपैयाँ थियो । त्यस्तै, माघ महिनामा भने थोरै घटेर ३ अर्ब ८७ करोड २४ लाख ८१ हजार ६४७ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
घरजग्गा राजस्व सङ्कलनको तुलनात्मक विवरण (साउन–माघ)

कलंकीमा कारोबारको बाढी, भक्तपुर र ललितपुरमा सुधार
संघीय राजधानी काठमाडौँ उपत्यकाको घरजग्गा कारोबारलाई हेर्दा सबैभन्दा ठुलो छलाङ कलंकी मालपोतमा देखिएको छ ।
मालपोत कार्यालय कलंकीमा गत वर्षको माघमा जम्मा २ हजार ३४४ वटामात्र घरजग्गा कारोबार भएको थियो । तर, यस वर्षको माघमा यो संख्या तीन गुणाभन्दा बढीले बढेर ७ हजार ४३६ पुगेको छ । एक वर्षमै यहाँ ५ हजार ९२ वटा कारोबार बढेको देखिन्छ । यद्यपि, पुसमा ८ हजार १५ को तुलनामा भने माघमा केही कमी आएको छ ।
मालपोत कार्यालय चाबहिलमा गत वर्षको माघमा १ हजार ८६४ कारोबार थियो भने यस वर्षको माघमा २ हजार २८४ पुगेको छ । यहाँ पुस (२ हजार २१६) को तुलनामा माघमा कारोबार बढेको देखिएको हो ।
कलंकी मालपोत कार्यालय अन्तर्गत जग्गा भएका सम्पूर्ण जग्गाधनीले आफ्नो जग्गाको नयाँ स्रेस्ता कायम गर्नुपर्ने भएकाले पनि कारोबार बढेको छ ।
भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा कलंकीस्थित मालपोत र नापी कार्यालयमा आगजनी गरिएको थियो । उक्त कार्यालय अन्तर्गत रहेका सबै कागजात जलेर नष्ट भएकाले पनि नयाँ स्रेस्ता कायम गरिरहेको छ ।
मालपोत कार्यालय भक्तपुरमा गत वर्षको माघमा ३ हजार १४६ कारोबार भएकोमा यस वर्ष बढेर ३ हजार ६८७ पुगेको छ । पुसमा ३ हजार ८९२ को तुलनामा भने यहाँ पनि सामान्य गिरावट देखिन्छ ।
मालपोत कार्यालय ललितपुर, लगनखेलमा गत वर्षको माघमा ३ हजार ९८ कारोबार भएकोमा यस वर्ष ४८७ ले बढेर ३ हजार ५८५ पुगेको छ ।
मालपोत कार्यालय चाबहिलमा गत वर्षको माघमा १ हजार ८६४ कारोबार थियो भने यस वर्षको माघमा २ हजार २८४ पुगेको छ । यहाँ पुस (२ हजार २१६) को तुलनामा माघमा कारोबार बढेको देखिएको हो ।
डिल्लीबजारमा गत वर्ष १ हजार १५६ कारोबार भएकोमा यस वर्ष १ हजार ३५२ पुगेको छ । साँखुमा गत वर्ष १ हजार ४४ रहेकोमा यस वर्ष १ हजार ३३० पुगेको छ ।
तराईका जिल्लाः नेपालगञ्ज र इनरुवामा कारोबारको उच्च चाप
काठमाडौँ बाहिर तराईका मुख्य सहरहरूमा घरजग्गा कारोबार निकै फस्टाएको तथ्याङ्कले देखाउँछ । विशेष गरी बाँकेको नेपालगञ्ज र सुनसरीको इनरुवामा कारोबारको ग्राफ उकालो लागेको छ ।
नेपालगञ्ज बाँकेमा तथ्याङ्क निकै रोचक छ । गत वर्षको माघमा यहाँ २ हजार ३१९ मात्र कारोबार भएको थियो । तर, यस वर्षको माघमा यो सङ्ख्या ५ हजार ८१९ पुगेको छ । एक वर्षको अवधिमा ३ हजार ५०० वटा कारोबार थपिएका छन् । यसले पश्चिम नेपालको केन्द्र नेपालगञ्जमा घरजग्गाको माग उच्च भएको देखिन्छ ।
समग्रमा विश्लेषण गर्दा गत वर्षको माघको तुलनामा देशका प्रमुख सहरी क्षेत्रहरू काठमाडौँ, पोखरा, चितवन, नेपालगञ्ज, विराटनगर, झापा सबैतिर कारोबार बढेको छ । गत वर्षको माघको तुलनामा यस वर्षको माघमा करिब २२ हजारभन्दा बढी कारोबार हुनु र राजस्व बढ्नुले घरजग्गा क्षेत्रमा लगानीकर्ताको मनोबल बढेको देखाउँछ ।
देशमै सबैभन्दा धेरै कारोबार हुने मध्येको झापाको भद्रपुर कार्यालयमा गत वर्षको माघमा ६ हजार ६४८ कारोबार भएकोमा यस वर्ष ६ हजार ६४४ कारोबार भएको छ । यहाँको कारोबार स्थिर रहेको देखिन्छ ।
सुनसरीको इनरुवामा गत वर्षको माघमा ४ हजार ४०२ कारोबार भएकोमा यस वर्ष बढेर ४ हजार ७०९ पुगेको छ । यहाँ पुसको तुलनामा माघमा कारोबार बढेको छ ।
मोरङको बेलबारीमा गत वर्षको माघमा ३ हजार ९३० कारोबार भएकोमा यस वर्ष ४ हजार ५५० पुगेको छ । यहाँ ६२० वटा कारोबार बढेको छ ।
मधेस प्रदेशको राजधानी जनकपुरमा गत वर्ष ३ हजार २९ कारोबार भएकोमा यस वर्ष ३ हजार १३१ पुगेको छ ।
चितवन मालपोतमा गत वर्षको माघमा २ हजार ७५८ कारोबार भएकोमा यस वर्ष झन्डै १ हजारले बढेर ३ हजार ७२९ पुगेको छ । यो तथ्याङ्कले चितवनमा पनि घरजग्गा बजार तातेको सङ्केत गर्छ ।
सुदूरपश्चिम र अन्य सहरी क्षेत्र
सुदूरपश्चिमको मुख्य केन्द्र धनगढीमा गत वर्षको माघमा २ हजार ७३७ घरजग्गा कारोबार भएकोमा यस वर्ष ३ हजार २६६ पुगेको छ ।
कास्कीको पर्यटकीय नगरी पोखरामा पनि घरजग्गा कारोबारमा सुधार आएको छ । गत वर्षको माघमा २ हजार ४५७ कारोबार भएकोमा यस वर्ष ३ हजार १७८ पुगेको छ ।
बजार बियरिसबाट बुलिसतर्फ
समग्रमा विश्लेषण गर्दा गत वर्षको माघको तुलनामा देशका प्रमुख सहरी क्षेत्रहरू काठमाडौँ, पोखरा, चितवन, नेपालगञ्ज, विराटनगर, झापा सबैतिर कारोबार बढेको छ । गत वर्षको माघको तुलनामा यस वर्षको माघमा करिब २२ हजारभन्दा बढी कारोबार हुनु र राजस्व बढ्नुले घरजग्गा क्षेत्रमा लगानीकर्ताको मनोबल बढेको देखाउँछ ।
पुसको तुलनामा माघमा कारोबार केही घटेको देखिए पनि यो मुख्यतयाः सिजनल कारणले हुन सक्छ । तर, इनरुवा र चाबहिल जस्ता केही स्थानमा पुसभन्दा पनि माघमा कारोबार बढ्नुले बजार चलायमान भइरहेको पुष्टि गर्छ ।
काठमाडौँको कलंकी र उपत्यका बाहिर नेपालगञ्ज तथा सुनसरीको इनरुवा घरजग्गा कारोबारको नयाँ ‘हब’ को रूपमा उदाएको तथ्याङ्कले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण