जेफ्री एप्स्टिनसँगको सम्बन्ध बाहिरिएपछि हायात होटलका कार्यकारी अध्यक्षद्वारा राजीनामा
सारांश
- अमेरिकी अर्बपति थोमस प्रिट्जरले यौन दुराचारको आरोप लागेका जेफ्री एप्स्टिनसँगको सम्बन्धका कारण हायात होटलको अध्यक्ष पदबाट राजीनामा दिएका छन्।
- प्रिट्जरले एप्स्टिनसँगको सम्बन्धबारे गहिरो पछुतो व्यक्त गर्दै समयमै दूरी कायम राख्न नसकेको स्वीकार गरेका छन्।
- एप्स्टिनसँगको सम्बन्धका कारण प्रिट्जर अघि अर्थशास्त्री र डीपी वर्ल्डका प्रमुखले पनि पद गुमाएका थिए।
न्युयोर्क । अमेरिकी अर्बपति थोमस प्रिट्जरले हायात होटलको कार्यकारी अध्यक्ष पदबाट राजीनामा दिएका छन्। यौन दुराचारका आरोपित जेफ्री एप्स्टिनसँगको उनको सम्बन्धबारे अमेरिकी न्याय विभागले नयाँ तथ्यहरू सार्वजनिक गरेपछि प्रिट्जरले पद त्याग्ने निर्णय गरेका हुन्।
सन् २००४ देखि हायातको नेतृत्व सम्हाल्दै आएका प्रिट्जरले अब कम्पनीको बोर्ड अफ डाइरेक्टर्सको चुनावमा पनि सहभागी नहुने स्पष्ट पारेका छन्। हायात होटलको उत्तराधिकारी समेत रहेका प्रिट्जरले एक विज्ञप्ति जारी गर्दै एप्स्टिन र घिसलेन म्याक्सवेलसँगको आफ्नो सम्बन्धप्रति गहिरो पछुतो व्यक्त गरेका छन्।
उनले आफूले ती व्यक्तिहरूसँग सम्पर्क कायम राखेर निकै गलत निर्णय गरेको र समयमै दूरी नबढाउनु आफ्नो गल्ती भएको स्वीकार गरेका छन्। सन् २००८ मा एप्स्टिन नाबालिकलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दोषी ठहर भइसकेपछि पनि प्रिट्जर उनीसँग निरन्तर सम्पर्कमा रहेको खुलासा भएको छ।
सार्वजनिक भएका फाइलहरूका अनुसार सन् २०१८ मा एप्स्टिनले एसिया भ्रमणमा रहेकी आफ्नी एक महिला साथीका लागि होटल आरक्षण गर्न प्रिट्जरको सहयोग मागेका थिए। त्यसक्रममा भएको इमेल संवादमा ती महिलाले एप्स्टिनका लागि नयाँ प्रेमिका खोज्ने ठट्टा गर्दा प्रिट्जरले ‘मे द फोर्स बी विथ यु’ भन्दै मुस्कुराइरहेको इमोजी पठाएको पाइएको छ।
एप्स्टिनसँगको सम्बन्धका कारण कारबाही भोग्ने प्रिट्जर पछिल्लो शक्तिशाली व्यक्ति हुन्। यसअघि अर्थशास्त्री ल्यारी समर्स र डीपी वर्ल्डका प्रमुख सुल्तान अहमद बिन सुलायमले पनि एप्स्टिनसँगको सामीप्यताका कारण आ-आफ्नो पद गुमाइसकेका छन्।
प्रिट्जरको बहिर्गमनसँगै हायात बोर्डले कम्पनीका वर्तमान सिइओ मार्क होप्लामाजियनलाई नयाँ अध्यक्ष नियुक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण