सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

अमेरिकी सेनाले गर्‍यो लागुऔषध बोकेको ३ डुङ्गामाथि आक्रमण, ११ जनाको मृत्यु

बुधबार, ०६ फागुन २०८२, १० : ११
बुधबार, ०६ फागुन २०८२

सारांश

  • अमेरिकी सेनाले लागुऔषध तस्करीमा संलग्न डुङ्गामाथि हवाई हमला गर्दा ११ जनाको मृत्यु भएको छ।
  • यो कारबाही पूर्वी प्रशान्त र क्यारेबियन क्षेत्रमा गरिएको थियो, जसमा तीनवटा डुङ्गा निशानामा परेका थिए।
  • यो अभियान सन् २०२५ सेप्टेम्बरदेखि सुरु भएको हो र यसले अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारको प्रश्न उठाएको छ।

वासिङ्टन डीसी । अमेरिकी सेनाले पूर्वी प्रशान्त महासागर र क्यारेबियन क्षेत्रमा लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको तीन डुङ्गामाथि हवाई हमला गर्दा ११ जनाको मृत्यु भएको छ । अमेरिकी दक्षिणी कमान्ड (साउदकम)ले सोमबार राति सो कारबाही गरेको हो । यसको जानकारी भने साउदकमले मंगलबार जानकारी दिएको थियो ।

सेनाको दाबीअनुसार, ती डुङ्गाहरू लागुऔषध तस्करीका परिचित मार्ग हुँदै सञ्चालन भइरहेका थिए । उनीहरूलाई सेनाले नार्को–आतंकवादी भनेको छ । दुईवटा डुङ्गा पूर्वी प्रशान्त क्षेत्रमा र एउटा क्यारेबियन समुद्रमा निशाना बनाइएको थियो । पहिलो र दोस्रो डुङ्गामा रहेका चार–चार तथा तेस्रो डुङ्गामा रहेका तीन जना मारिएका बताइएको छ । यस कारबाहीमा कुनै पनि अमेरिकी सैनिकलाई क्षति नभएको साउदकमले जनाएको छ ।

यो आक्रमण सन २०२५ सेप्टेम्बरदेखि सुरु भएको अमेरिकी अभियानको हिस्सा हो । पछिल्ला कारबाहीसँगै उक्त अभियानमा मृत्यु हुनेहरूको संख्या कम्तीमा १३५ भन्दा माथि पुगेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । केही अघिल्लो हमलामा पनि यस्तै प्रकारका साना डुङ्गाहरूलाई लक्षित गरिएको थियो ।

तर, यी कारबाही विवादमुक्त छैनन् । कानुनी विशेषज्ञ र अमेरिकी संसदका केही सदस्यहरूले यो अभियानलाई अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारको दृष्टिले प्रश्न उठाउँदै आएका छन् । अमेरिकाले औपचारिक युद्ध घोषणा नगरेको अवस्थामा यस्ता हमला नागरिकमाथिको अत्यधिक बल प्रयोग हुनसक्ने आलोचना भइरहेको छ ।

पहिले लागुऔषध नियन्त्रणको काम मुख्यतः कानुन कार्यान्वयन निकाय र कोस्ट गार्डले गर्दै आएको थियो । जसले धेरैजसो अवस्थामा घातक बल प्रयोग नगरी कारबाही गर्ने गरेको थियो । अहिलेको सैनिक रणनीतिले भने अन्तर्राष्ट्रिय बहस र राजनीतिक विवाद थप चुलिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप