शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
सुदूरमा रास्वपा

धनगढीमा रास्वपाको 'परिवर्तन सभा'मा जे देखियो

बुधबार, ०६ फागुन २०८२, २१ : २४
बुधबार, ०६ फागुन २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीले धनगढीमा परिवर्तन उद्घोष सभा आयोजना गर्यो, जसमा हजारौं मानिसको सहभागिता थियो।
  • मिठु बादीले पुराना पार्टीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै रास्वपालाई समर्थन गर्ने बताइन्, र बादी समुदायले रास्वपालाई भोट हाल्ने तयारी गरेको छ।
  • बालेन शाह र रवि लामिछानेको छोटो भाषण शैली र युवाहरूको उत्साहजनक उपस्थिति सभाका मुख्य आकर्षण थिए।

धनगढी । फागुन ६ गते बुधवार धनगढी–उपमहानगरपालिका–१ मा पर्ने पशुपति टोलको खाली मैदानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले परिवर्तन उद्घोष सभा आयोजना गर्‍यो ।

dhangadhi-raswapa (1)

यो मैदानमा सुदूरपश्चिम महोत्सव लाग्ने गर्छ । आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनलाई लक्षित गरेर गरिएको रास्वपाको यो सभामा सहभागी हुन मानिसहरू धनगढी मात्र नभई कैलाली र कञ्चनपुर र पहाडी जिल्लाबाट समेत आएका थिए । 

dhangadhi-raswapa (3)

सभाको समय बिहान ११ बजे भनिएको थियो, तर सभा दिउँसो ढिलो गरी सुरु भयो । ढिलाइले पनि सहभागीको उत्साह घटाएको थिएन । मञ्चमा जब रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह पुगे, तब मैदानको माहोल नै बदलियो । 

dhangadhi-raswapa (2)

सभामा हजारौँको भिड थियो । कोही फोटो खिच्न व्यस्त थिए त कोही चर्को स्वरमा नारा लगाउँदै थिए । त्यही भिडमा रास्वपाको झन्डा बोकेर उभिएकी थिइन्, मिठु बादी । मिठु सुदूरपश्चिमको बादी समुदायकी एक अगुवा हुन् । कैलालीको गोदावरी नगरपालिका चौकी डाँडामा बस्ने उनी वर्षौँदेखि आफ्नो समुदायको हकहितका लागि लड्दै आएकी छन् । 

dhangadhi-raswapa (4)

अहिलेसम्म धेरै पार्टीलाई भोट दिएर जिताएको अनुभव उनीसँग छ । तर, यस पटक उनको हातमा घण्टी चिह्नको झन्डा थियो । हामीले उनलाई सोध्यौँ– ‘पार्टी किन फेर्नुभयो ?’ 

dhangadhi-raswapa (5)

‘हामीले धेरै पटक पुराना पार्टीलाई भोट दिएर जिताएकै हौँ । अहिलेसम्म हामी बादी समुदाय, सुकुमबासी र भूमिहीनको कुरा कसैले सुनेनन् । उल्टै पुरानो सरकारले हाम्रा बालबालिकालाई गोली हानेर हत्या गर्‍यो । त्यो बलिदानको खुन र न्याय नपाएको पीडाले मलाई यसपालि रास्वपाको पक्षमा उभ्याएको छ,’ उनले भनिन्, ‘म कसैको झोले होइन, झोले गरेर खानु पनि छैन । मरेका जेनजी युवाहरूको रगत मेरो पनि रगत हो । मेरो मात्रै होइन, मेरो पूरै समुदायको रगत त्यही हो । पुराना पार्टीको व्यवहारले गर्दा हामीले नयाँप्रति आसा राखेर सहयोग गरिरहेका छौँ,’ उनले भनिन् । 

dhangadhi-raswapa (6)

उनका अनुसार यस पटक सुदूरपश्चिमका बादी समुदायले एकमुष्ट रूपमा रास्वपालाई नै भोट हाल्ने तयारी गरेका छन् । 

dhangadhi-raswapa (7)

सभामा बालेन शाह र रवि लामिछाने मुख्य आकर्षण थिए । उनीहरू मञ्चमा पुग्दा खुट्टा हाल्ने ठाउँ थिएन । मान्छेहरू एकले अर्कोलाई धकेल्दै अगाडि जान खोजिरहेका थिए । भिड यति धेरै थियो कि मञ्चमा को बसेको छ भन्नेसमेत कतिपय महिला र वृद्धवृद्धाहरूले देख्न पाएनन् । तर पनि उनीहरू नेताहरूको कुरा सुन्न अन्तिमसम्म त्यहाँ बसिरहे । 

dhangadhi-raswapa (8)

सभामा अन्य पार्टीमा आबद्ध भएका केही सक्रिय युवा नेताहरू पनि भिडमा रमिता हेर्न आएका थिए । उनीहरू भन्दै थिए,‘हामी त हेर्न मात्र आएको, माहोल कस्तो छ भनेर ।’तरको केहि मात्रै थिए । रास्वपालाई सपोर्टमा उभिएका युवाहरूको उपस्थिति पनि उत्साहजनक थियो । 

dhangadhi-raswapa (9)

धनगढीकै मिलन धामी कक्षा १२ मा पढ्छन् । उनी भिडको बीचमा उभिएका थिए । ‘हामी बालेन दाइ र रवि दाइलाई सपोर्ट गर्न आएका हौँ । उनीहरूले केही गर्छन् भन्ने आशा छ,’ उनले भने । आफूजस्तै धेरै विद्यार्थी र युवाहरू त्यहाँ कुनै लोभ लालचले नभई एउटा भरोसाले आएको उनले बताए । 

dhangadhi-raswapa (10)

७६ वर्षका वृद्ध भानदेव जोशी पनिसभामा पुगेका थिए ।

dhangadhi-raswapa (13)

‘परिवर्तनका लागि यो परिवर्तन सभामा आएको हुँ । बालेन र रविको कुरा सुन्नु छ, रास्वपाले केही गर्छ कि भन्ने लाग्छ,’ उनले भने । 

dhangadhi-raswapa (11)

रास्वपाको यो सभामा अन्य राजनीतिक दलभन्दा केही फरक कुराहरू प्रस्ट देखिए । सामान्यतया पुराना पार्टीका सभामा ठुला नेता आउँदा भव्य सोफा र घण्टौँ लामो भाषणको परम्परा छ । यो सभामा भने रास्वपाका सभापति र वरिष्ठ नेताहरू सामान्य प्लास्टिकको कुर्सीमा बसेका थिए । 

dhangadhi-raswapa (12)

कञ्चनपुरकी सहभागी जानुका महराले यो फरकलाई निकै चासोका साथ हेरिरहेकी थिइन् ।

dhangadhi-raswapa (14)

‘अरू पार्टीका नेताहरू घण्टौँ भाषण गर्थे, सुन्दा सुन्दै दिक्क लाग्थ्यो । तर यहाँ नेताहरूले ३ देखि ७–८ मिनेट मात्र बोले । छोटो कुरा तर मिठो भिजन । यो शैली हामीलाई साह्रै मन पर्‍यो,’ उनले सुनाइन् । 

dhangadhi-raswapa (15)

दार्चुला घर भएका मुकेश बमका अनुसार यो सभामा युवाहरूको जुन क्रेज देखियो, त्यो अरू पार्टीमा हुँदैनथ्यो । ‘यहाँ मान्छेहरू स्वस्फूर्त रूपमा मनैबाट आसा मानेर आएका भेटिए । खुसी, जोस र जाँगर एउटा बेग्लै देखियो,’ उनले भने । 

dhangadhi-raswapa (16)

सभामा रास्वपाका प्रदेश उम्मेदवारहरूले पनि सम्बोधन गरे । उनीहरूले आफूले जितेपछि गर्ने कामहरूको सूची नै सुनाए । अछामको क्षेत्र नम्बर २ का उम्मेदवार भुपेन शाह, कञ्चनपुर–२ का दीपक बोहरा र डडेल्धुराका डाक्टर ताराप्रसाद जोशीले सुदूरपश्चिमको पिछडिएको अवस्थालाई अब युवाहरूले सुधार्ने दाबी गरे । 

dhangadhi-raswapa (17)

वरिष्ठ नेता बालेन शाहले सुदूरपश्चिम भ्रमणका क्रममा आएका बेला सभामा बोलेका थिएनन् । बुधवारको सभामा उनले नौ वटै जिल्लालाई समेट्दै भोटभन्दा पनि काम गर्ने एउटा अवसर मागे । ‘भोट नदिए पनि हुन्छ, बरु कामको लिस्ट दिनु, काम गरेर देखाउँछ राष्ट्रिय स्वतन्त्र पार्टीले,’ उनले भने । उनले सभामा तीन मिनेट मिठो शैलीमा सम्वोधन गरेका थिए । 

dhangadhi-raswapa (18)

त्यसैगरी, सभापति रवि लामिछानेले पनि यस पटक चुनावमा रास्वपालाई जिताएमा काम गरेर देखाउने प्रतिबद्धता जनाए । 

dhangadhi-raswapa (19)

सभामा एक बुद्धा महिला बालेन र रविलाई माला लगाउन रुँदै लाइनमा थिइन् । उनी मञ्चमा चढेर बालेन र रविलाई माला लगाउने भन्दै थिइन् । मन्चमा उभिएका स्वयमसेवकहरूले उनलाई पर्खिन भन्दै थिए । लामो समय सम्म उनी पर्खिइन् तर माथि जान नदिएपछि उनी रुँदै रिसाउँदै फर्किंन थालेपछि भने स्वयमसेवकहरूले उनलाई मञ्चमा जान दिए र बालेनले माला लगाउन नमिल्ने भनदै उनको माला समाते । रविले माला लगाए । ती वृद्धाले दुवैलाई कानमा केही कुरा सुनाउँदै बिदा भइन् । 

dhangadhi-raswapa (20)

सभा सकिँदा सभाको माहोल तातिएको थियो । भिडमा वृद्धवृद्धा, बच्चाबच्ची, किशोर–किशोरी र महिला पुरुष सबैको उत्तिकै सहभागिता थियो । उपस्थित कतिपयले यो माहोल हेर्दा सुदूरपश्चिममा रास्वपाले यस पटकको चुनावमा निकै राम्रो नतिजा ल्याउने अड्कलबाजी गरिरहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप