बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँ क्षेत्र नं ३ मा देश बनाउने वाचासहित घरदैलोमा उम्मेदवार

बुधबार, ०६ फागुन २०८२, २२ : ५०
बुधबार, ०६ फागुन २०८२

सारांश

  • काठमाडौँ क्षेत्र नं ३ मा उम्मेदवारहरूले देश बनाउने वाचासहित घरदैलो अभियान चलाएका छन्।
  • स्थानीय मतदाताले स्वदेशमै रोजगारी सिर्जना गर्ने उम्मेदवारलाई भोट दिने बताएका छन्।
  • विभिन्न दलका उम्मेदवारहरूले निर्वाचन जित्ने प्रतिबद्धता जनाएका छन्, जसमा विकास र समृद्धिको एजेन्डा छन्।

काठमाडौँ। आसन्न प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै काठमाडौँ क्षेत्र नं ३ मा चुनावी रौनक बढेको छ ।

दलका घोषणा पत्रसहित उम्मेदवारहरू घरदैलो अभियानमा छन् । आमसभासहित प्रचारप्रसार सुरु भएको छ । गोर्कणेश्वर नगरपालिका–४ का स्थानीय भीमभक्त तामाङले स्वदेशमै रोजगार सिर्जना गर्नेलाई मत खसाल्ने निधो गरेको बताए । उमेरले ६५ काटेका उनले रोजगारीको अभावका कारण छोराछोरीलाई बुढेसकालमा विदेश पठाउनुपर्ने बाध्यता रहेको बताए । उनले भने, “यो उमेरमा छोराछोरीसँग छुट्टिनुपर्ने बाध्यता छ, स्वदेशमै रोजगार दिए कसलाई विदेशिन मन हुन्छ र ?”

यसपटकको प्रतिनिधिसभाको निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र गरी २२ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । काठमाडौँ–३ मा नेपाली कांग्रेसले रमेश अर्याल, नेकपा एमालेले रामेश्वर फुँयाल, रास्वपाले राजुनाथ पाण्डे, नेकपाले निरज लामा, उज्यालो नेपाल पार्टीले पार्टीका अध्यक्ष कुलमान घिसिङलाई उम्मेदवार बनाएको छ । कांग्रेस, एमाले, नेकपा, रास्वपाले विगतको निर्वाचनमा नदोहोरिएका अनुहारलाई उम्मेदवार बनाएको छ भने उज्यालो नेपाल पार्टी पहिलो पटक निर्वाचनमा सहभागी भएको छ ।

यस निर्वाचन क्षेत्रबाट अघिल्लो प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका थिए । रास्वपाका उम्मेदवार राजुनाथ पाण्डेले ‘तपाईँ भोट हाल्नुहोस्, हामी देश बदल्छौँ’ भन्ने नारा लिएर घरदैलो गरिरहेका छन् । उनले पछिल्लो समय युवाको सक्रियतामा विकास गर्ने उद्देश्य लिएको बताए । उनले भने, “अब नेतृत्व फेरिएपछि देशले मुहान फेर्छ ।”

उज्यालो नेपाल पार्टीका उम्मेदवार घिसिङले घोषणापत्र समेत जारी गर्दै ‘गफ होइन काम, भाषण होइन परिणाम’ मुख्य नारा समेटेर घरदैलो गरिरहेका छन्। उनले नागरिकको भरोसा जित्ने काममा आफू र आफ्नो पार्टी समर्पित रहेको बताए ।

त्यसैगरी नेकपा एमालेका उम्मेदवार रामेश्वर फुँयालले संविधान कार्यान्वयन गर्न कानुन बनाउनुपर्ने, सुशासन, समृद्धि, युवालाई स्वदेशमै रोजगार र मुलुकलाई आत्मनिर्भर बनाउने जिम्मेवारी आफूले जितेपछि पूरा गर्ने प्रतिबद्धता जनता समक्ष व्यक्त गर्दै आएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्यालले काठमाडौँ क्षेत्र–३ मा विगतका जनप्रतिनिधिले गरेको विकास र समृद्धिको कामलाई निरन्तरता दिँदै जनताको भावना अनुरूप विकासको मार्गचित्र तयार गर्ने बताए ।

यस निर्वाचन क्षेत्रमा गोकर्णेश्वर नगरपालिकाका सबै ९ वटा वडा, कागेश्वरी मनोहरा नगरपालिकाका–१, २ र ३ तथा काठमाडौँ महानगरपालिका–६ रहेका छन् । कूल मतदाताको सङ्ख्या ६४ हजार ४७९ छ । यस क्षेत्रमा ७२ निर्वाचनमा मतदान केन्द्र तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप