कांग्रेसका प्राथमिकता : मन्त्रालय घटाउने, भ्रष्टाचार निर्मूल पार्नेदेखि संविधान संशोधनसम्म
काठमाडौँ । नेपाली कांग्रेसले सुशासनलाई प्राथमिकतामा राखेर निर्वाचनपछि पार्टी सरकारमा गएमा कार्यान्वयन गर्ने विभिन्न योजना सार्वजनिक गरेको छ । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि तयार गरेको प्रतिज्ञापत्रमा समेटिएका विषयबारे सभापति गगन थापाले व्यक्त गरेका धारणामा धेरैजसो सुशासन कसरी स्थापित गर्ने र मुलुकको मुहार कसरी फेर्ने भन्ने विषय उल्लेख छ ।
बिहीबार काठमाडौँमा आयोजित ‘हाम्रो प्रतिज्ञा, तपाईंको प्रश्न’ शीर्षकको अन्तरक्रियामा सभापति थापाले संविधान संशोधन, मन्त्रालय घटाउनेदेखि भ्रष्टाचार निर्मूल गर्नेसम्मका विषयमा व्याख्या गरे । कांग्रेसले बहुमत ल्याएर सरकार निर्माण गरेमा वा नगरेमा प्रतिज्ञापत्रबाट आफूहरू बाहिर नजाने प्रतिबद्धता समेत जाहेर गरे ।
कांग्रेसले संविधानसभा मार्फत २०७२ असोज ३ गते जारी भएको संविधानप्रति पार्टी पूर्ण प्रतिबद्ध रहेको जनाएको छ । तर संविधानमा उल्लेख भएको निर्वाचन प्रणालीमा कुनै पनि दलको बहुमत आउने सम्भावना नभएकाले निर्वाचन प्रणाली परिवर्तन गरेर बहुमत ल्याउन सक्ने बनाउने कांग्रेसले प्रतिज्ञापत्रमा समेटेको छ ।
‘संविधान संशोधन गरेर निर्वाचन प्रणाली संशोधन गर्ने हाम्रो तयारी छ,’ सभापति थापाले भने, ‘एउटा पार्टीले बहुमत ल्याउन सक्ने गरी निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने छ । संशोधन गर्दा समावेशितालाई अझै बलियो बनाउनेगरी गर्ने हाम्रो योजना छ ।’

सभापति थापाले मन्त्रिपरिषद्मा महिला सहभागिता बढाउनेबारे पनि कांग्रेसको योजना रहेको बताए । त्यसका लागि संविधान संशोधन गर्ने कि कानुन संशोधन गर्ने भन्ने योजना पनि कांग्रेसले तय गरिसकेको उनको भनाइ छ । संविधानको कुन-कुन धारामा संशोधन गर्ने र नयाँ के कानुन बनाउने भन्नेबारे स्पष्ट योजना पार्टीले प्रतिज्ञापत्रमा समेटेको छ ।
कांग्रेसले संवैधानिक परिषद् र न्यायपरिषद्को बनोट फेर्नका लागि पनि संविधान संशोधन गर्ने बताएको छ । त्यसका लागि निर्वाचन सम्पन्न भएपछि संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बसेर संसद्को यो कार्यकालमा के-के गर्ने भन्ने ‘फ्रेमवर्क’ बनाउने सभापति थापाले बताए ।
‘कांग्रेस निर्वाचनपछि संसद्मा भएका सबै दलबीच बसेर के-के गर्ने विषयको फ्रेम बनाउन चाहन्छ । सुशासनको प्रावधान बदल्न कांग्रेस प्रतिबद्ध छ,’ थापाले भने ।
कांग्रेसले नयाँ प्रतिनिधिसभाको पाँचवर्षे कार्यकालमा पार्टीको पहिलो प्राथमिकता पाँच वर्षभित्र भ्रष्टाचारमुक्त मुलुक बनाउने रहेको पनि उल्लेख गरेको छ ।
‘हाम्रो पहिलो प्राथमिकता ५ वर्षभित्र भ्रष्टाचारमुक्त नेपाल बनाउने भन्ने छ,’ थापाले भने, ‘हामीले भ्रष्टाचार गरेमा नेता पनि हेर्दैनौं । नाता पनि हेर्दैनौं ।’
भ्रष्टाचार गरेमा कोही पनि नबच्ने सभापति थापाले बताए । उनले भने, ‘गरेको भए हाम्रा नेता पनि पर्नुहुन्छ । नातेदार पनि पर्नुहुन्छ । हामी पनि गरेमा पर्छौं । गरेको भए पनि पर्छौं ।’
कांग्रेसले सुशासनका लागि प्रधानमन्त्री र मुख्यमन्त्रीको कार्यकाल तोक्ने र मन्त्रालय घटाउने प्रस्ताव पनि अघि सारेको छ । ‘प्रधानमन्त्री र मुख्यमन्त्री अब दुई/दुई पटक मात्रै बन्न पाउने हाम्रो प्रतिज्ञापत्रमा उल्लेख छ,’ थापाले भने, ‘त्यस्तै संघमा १६ र प्रदेशमा ६ मात्रै मन्त्रालय बनाउने हाम्रो प्रतिज्ञा हो । अब गठबन्धन गरेर दल मिलाउनुपर्यो भनेर मन्त्रालय थप्ने व्यवस्था हामी कदापि गर्ने छैनौँ ।’
कांग्रेसले सरकारी नियुक्तिमा दल होइन, अब्बल खोज्ने नीति अख्तियार गर्ने पनि बताएको छ । ‘नेपाली कांग्रेसले नियुक्तिमा अब दल होइन, अब्बल खोज्छ,’ कांग्रेसको प्रतिज्ञापत्रमा लेखिएको छ ।

सभापति थापाले अब नियुक्ति पाएपछि शपथ लिनुपूर्व र पद छोडेपछि सम्पत्ति विवरण अनिवार्य सार्वजनिक गर्नुपर्ने व्यवस्था अनिवार्य गर्ने बताए । ‘नियुक्तिको शपथ लिनु पूर्व र पद छाडेपछि सम्पत्ति विवरण अनिवार्य सार्वजनिक गर्ने विषय हामीले हामीले अनिवार्य गछौँ,’ थापाले भने । उनले नागरिकले पाउने सेवा कार्यालय केन्द्रित होइन, नागरिक केन्द्रित बनाउने कांग्रेसको प्रतिज्ञा छ । सेवा ढिलो भएमा क्षतिपूर्ति दिने व्यवस्था गर्ने समेत कांग्रेसले बताएको छ ।
गठबन्धनको दूषित राजनीति नगर्ने, विगतका त्रुटिलाई सच्याउने र कांग्रेस एक्लैले बहुमतको सरकार निर्माण गर्ने अवस्था निर्माण गर्ने वातावरण बनाउने समेत बताएको छ । थापाले गठबन्धनको राजनीतिले नेपालको राजनीतिलाई दूषित बनाएको बताउँदै पार्टी सञ्चालनका बेला भएका कमीकमजोरी र राजकाज गर्ने बेला भएका त्रुटिलाई सच्याएर कांग्रेस अघि बढ्ने प्रतिबद्धता जनाए ।
‘बदलिएर आएको नेपाली कांग्रेसले देश बदल्छ भन्ने संकल्प लिएर आएका छौँ,’ उनले भने, ‘हामी हाम्रा मूल्य मान्यतालाई अझै तिखारेर जान्छौँ ।’
सत्ता र शक्तिका लागि गठबन्धनको संस्कारले नेपालको राजनीतिलाई बदनाम भएको कांग्रेसको निष्कर्ष छ । ‘चुनावमा मात्रै होइन, सरकार बनिसकेपछि पनि विभिन्न संवैधानिक तथा राजनीतिक नियुक्तिमा समेत भागबण्डा हुँदैन, हुन दिँदैनौँ । यो बदलिएको कांग्रेसको संकल्प हो’, थापाले भने ।
_KgtN2orDzQ.jpg)
थापाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले बुहमत ल्याउने दाबी समेत गरे । ‘निर्वाचनमा कांग्रेसले बहुमत ल्याउँछ । सरकार बनाउँछ । पार्टीले मलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ । प्रधानमन्त्री बन्छु,’ थापाले भने ।
कांग्रेसले नेपाली युवाहरूका लागि आगामी पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने संकल्पपत्र तयार गरेको पनि बताएको छ । कृषि, पर्यटन, भौतिक पूर्वाधार, सूचना प्रविधि लगायतका क्षेत्रगत विधामा योजना बनाएर रोजगारी सिर्जना गर्ने संकल्प कांग्रेसको छ ।
युवाहरूलाई डिजिटल स्वतन्त्रता र सिर्जनाको सम्मान गर्ने योजना कांग्रेससँग भएको उल्लेख गर्दै प्रतिज्ञापत्रमा लेखिएको छ, ‘अहिलेका युवाहरूसँग थुप्रै कला, साहित्य र सिर्जनाहरू छन् । उहाँहरूले सिर्जना गर्नुभएको छ । तर त्यसलाई बेच्न बजारमा पाइराख्नु भएको छैन । यसबाट स्वतन्त्रता खोज्नुभएको छ । यसका बारेमा हामी प्रष्ट छौँ ।’
कांग्रेसले एक पटकको नेपाली सधैंको नेपाली हुने बताएको छ । सभापति थापाले भने, ‘एक पटकको नेपाली सधैंको नेपाली हुन्छ । त्यसका लागि संशोधन गर्नुपर्ने संविधान र कानुन सबै संशोधन गछौँ ।’ अहिले गैरआवासीय नेपालीलाई नागरिकता दिनका लागि कांग्रेसको नेतृत्वमा ल्याइएको ऐन ल्याइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण