बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
साताका कविता

नीलम कार्की ‘निहारिका’का तीन कविता

शनिबार, ०९ फागुन २०८२, १६ : ००
शनिबार, ०९ फागुन २०८२

सारांश

  • नीलम कार्की 'निहारिका' को कविता सङ्ग्रहमा जीवनका विविध पक्षहरूलाई समेटिएको छ।
  • पहिलो कवितामा आमा र सन्तानको सम्बन्ध र जन्मको महत्त्वलाई दर्शाएकी छिन्।
  • दोस्रो कवितामा भक्त र ईश्वरको सम्बन्ध र अन्धविश्वासको चित्रण गरिएको छ।

नेपाली आख्यान लेखनमा सक्रिय नाम हो, नीलम कार्की ‘निहारिका’ । प्रायः ऐतिहासिक र पौराणिक पात्रहरूलाई लिएर उपन्यास तथा कथा लेख्न रुचाउने नीलम छिट्टै नयाँ ऐतिहासिक उपन्यास लिएर पाठकमाझ आउँदैछिन् । यस पटकको रातोपाटीको तीन कवितामा उनै निहारिकाको कविता पस्किएका छौँ -

१. तिमी जन्मिएको दिन        

यदाकदा म यसरी पनि सोच्ने गर्छु–

तिम्रो जन्म दिन  

तिमी मसँग छुट्टिएको दिन थियो  

 

छुट्टिएको दिनको कैफियतमा–

दर्के झरीमा ओत लागेको छाता 

बर्सात बिदो भएसँगै कतै छुटे जस्तो छुटाई होइन

 

उर्लेको खोला तर्दाको, अनकन्टार पहाड उक्लँदाको

दह्रो भर–भरोसा बनेको हातको लौरो

पल्लो किनार छोए पछि या

टाकुरामा कदम भए पछि छुट्नु जस्तो पनि होइन  

 

दगुरेर पुग्दा पुग्दै, हत्केलाको इसाराले रोक्दा रोक्दै  

सँगै गन्तव्यमा पुग्ने साथ ओझेल परे जस्तो 

या लयमा गुनगुनाउँदै रमाउँदै अविराम हिँडिरहेको नदी 

अचानक भँगालोमा छुटे जस्तो छुटाइ पनि होइन 

छुट्नु–

तिमी आमाको कोखबाट  

आमाको काखमा पुग्नु 

आमाले आफ्नै हत्केलामा हार्दिकता साथ 

साक्षात् सुकोमल जुनको दर्शन पाउनु  

शीतलता बनी आमाको आँखाको नानीमा समाहित हुनु हो 

 

छुट्नु–

फरक शरीर बग्ने फरक रक्त सञ्चार, फरक मुटु भएर पनि 

आमाकै छातीमा उसै आमाकै प्राण बनी धड्किरहनु 

आफ्ना सारा सपनालाई थन्काएर 

तिम्रा सफल पाइलामा

तिमी भन्दा एक कदम अघि हर्ष गर्दै तिम्रा खुसी बाँच्नु हो 

 

यसरी पनि सोच्ने गर्छु–

तिम्रो पहिलो बास थलोबाट 

तिमी बाहिरिए पछि  

नाल काटेर तिमी र मलाई अलग पारियो

काख, कोक्रो हुँदै चरणबद्ध–

बामे अनि ताते–ताते गर्दै तिमी पर–पर हुँदै गयौँ 

विद्यालय, कलेज, जागिर, व्यापार यस्तै त्यस्तै 

अनेक थरी शीर्षक उप–शीर्षकले

तिमी र ममा लामो क्षितिजीय दुरी तानिदियो  

दुरीले साथ छुटे जस्तो ह्र्दयत कहिले टाढा भयौ र हामी ?

म सर्लक्कै आमाकै एक अङ्ग मासपिण्ड हुँ भन्ने आभासले

कहिले छोड्यो र तिमीलाई ?

तिमी म मै धड्की रहेकी छौ भनी 

आफ्नै मुटुमा तिमी सुन्न कहिले भुलाएर मैले ?

 

तिमी जन्मँदा  

म आफ्नै रगतको आहालमा  

अचेत हुँदै बौरिने गर्थे 

 

अब यति त हो भेट भन्दै 

हेर्न आएका आफन्त   

आफ्ना आँखाबाट भक्कानिँदै बगेको समवेदना मजेत्रोले पुछ्दै फर्किन्थे 

 

सुत्केरी बेथामा म पराजित भएँ भने 

नभनी तिम्रो दुःख र नबोली तिम्रो भोक बुझिदिने 

यो दुनियाँमा कहिल्यै कोही हुने छैन भन्ने ठुलो भयले 

ममा वात्सल्यको शक्तिशाली ऊर्जा प्रज्वलित भयो

र त पिडाको उत्कर्ष पुगेर 

सम्मुखको मृत्युलाई हाँक दिँदै 

तिमीलाई जन्माएको कीर्तिमान दिन पो हो आज 

  

हो, तिमी जन्मँदा 

जीवन मृत्युको गम्भीर सँघारमा घनघोर युद्ध लडेकी थिए मैले

तिमी जन्मजात टुहुरी हुन लेखेको रहेनछ 

त्यसैले बाबै, तिम्रै भाग्य बाँचेकी हुँ म ! 

यहीँबाट सुरु भएको हो, जीवनका महत्त्वपूर्ण बाँकी अध्यायहरू 

संसारमा सर्वपूज्य, सर्वमान्य 

आमाको परिचय लहरमा तिमीले मलाई पनि उभ्याई दिएकी थियौँ 

यो सम्पूर्णता त्यसै दिन तिमीबाट पाएकी हुँ मैले 

 

जन्मँदा जन्मँदै तिमी रोएकी थियौ  

तिमीलाई हेरेर म भने मुस्कुराई रहेकी थिए

तिम्रो रुवाइ आफ्नो जन्म  

यो लोकलाई सुसूचित गर्ने ओजस्वी शंखघोष थियो 

या 

तिमी आमाको न्यानो गर्भबाट टाढा हुनुको विद्रोह रोएकी थियौ 

म भने 

यो संसार तिमीलाई देखाउनु  

यो धर्ती तिमीलाई टेकाउनुको गौरव

दीप्तिमान मुस्कुराएकी थिए 

 

म यसरी पनि सोच्छु–

तिमि सन्तान भएर जन्मिएको दिन 

म जननी, म आमा भएर जन्मिएकी थिए !

 

यदाकदा म यसरी पनि सोच्ने गर्छु–

निःसन्देह  

तिमीले जीवन पाउँदा 

मैले पुनः जीवन पाएकी थिए 

हेर्दा फरक शरीर

देख्दा पृथक् अस्तित्व 

तर म   

तिमी भएर पनि जन्मिएकी थिएँ ।

 

 

२. भक्त र ईश्वर

हे ईश्वर ! हे विधाता 

तिमीले थेग्ने छौ यो जगत् 

तिमी मात्र सञ्चालन गर्न सबल छौ यो हाम्रो ब्रह्माण्ड भन्दै 

अधिष्टता इस्टदेवको सिंहासनमा बिराज गएका थिए  

 

उनीहरू हतास निराश अति आर्त थिए 

उसको चमत्कारको महिमामयी ज्योति पुञ्जले   

पुनः टुसाएर झाँगिएको थियो आस्थाको अनन्य भक्ति भाव 

त्यसैले त,

हाम्रो उद्धार गर प्रभु ! सिद्धिको बाटो देखाऊ भन्दै 

आफू दास भएर उसलाई स्वामी मानेका थिए   

उसैको सेवा टहलमा तैनाथ शरणागत ईश्वरमा प्रणीधान रहे 

आफ्नो ईश्वरनिकट बस्न पाउनुलाई भक्तको मोक्ष सम्झिए 

 

हामी माथि शासन गर्ने  

हे हाम्रा अधिपति ! हे हाम्रा स्वामी ! हे हाम्रा मालिक !

सबै तिम्रो अधीनमा छ प्रभु 

यो सङ्कटको बखत उद्धार गर ए एकाधिपति भन्दै 

अर्चना धूप दीप गर्दै उसको माहात्म्यमा शङ्ख फुक्न 

उसकै जय जयकारमा ताली बजाउन हरदम तम्तयार रहे 

ऊ हिँड्ने बाटोहरूमा भजन कीर्तनको पुष्प वृष्टि गरी रहेँ  

 

यो सत्य हो–

ईश्वरले उनीहरूको सृष्टि गरेको थिएन 

विकल्पमा उनीहरूले एकपछि अर्को ईश्वर सिर्जना गरिरहेका थिए 

हो, फेरी पनि उनीहरूका दुखका गुनगुन सुनेर अर्को ईश्वर जन्मन तम्तयार थियो 

उनीहरूकै कारण,

उनीहरूकै भर भरोसा छामेर तौलिएर  

ईश्वर धर्तीमा बारम्बार अवतार लिइरहेका थिए   

 

हिजो पनि भक्तहरू अतीव इमान्दार थिए 

जसलाई ईश्वर सम्झिएका थिए बेहिसाब इमान साथ 

उसमा समाधिस्ट भई आराधना गरे 

उसलाई विकाररहित मान्दै आफ्नो श्रेयमार्ग बनाए 

उसको चरणमा आफ्नो आश्रय देखे 

उसैका निम्ति भक्त कर्तव्य निभाउँदै 

आफै खरानी हुनुको बेपर्बाह उसको सङ्ग्राममा वैरी परास्त हेतु 

बज्र बनेर बजारिए 

 

समर्पित भक्तालुका आसक्त भक्तिभाव अनि 

निष्ठाको शक्ति सञ्जीवनी पिएर 

अभिस्टसिद्दीको वरदान पाएको भस्मासुर जस्तो उन्मत्त कथित ईश्वरले 

भक्तलाई चाहेको गन्तव्यमा हिँडाई रह्यो 

माउतेले हात्तीको टाउकोमा किलो ठोकेर आफ्नो लयमा हिँडाए झैँ  

 

मानेको अधिपतिबाट थकित आजित भक्तहरूले  

फेरी अर्को ईश्वरको कामनागत परिकल्पना गरे 

फेरी अर्को ईश्वर प्रतिस्थापन तर्फ अग्रसर रहे 

 

त्यही औसर–अवसरमा 

नव भेष भूषा 

आकर्षक स्वरूप सुन्दर सपना साथ 

हुन सक्छ पालो पर्खी बसेको एक मायावी सामुन्ने प्रकट भयो  

ईश्वर लिलामा सुद्ध निष्ठावान् उनीहरू 

जसको कोही हुन्न उसको लागि ईश्वर हुन्छन् 

र असत्य माथि सत्यको जित अवश्यभावी छ भन्दै 

उपरान्त हाम्रा उद्धारकर्ता इस्ट देवता तिमी नै हौ मान्दै

पुरानो ईश्वरलाई विस्थापित गरी 

विश्वासको पाती अर्पण गरेर  

अधिष्टताको सिंहासनमा, नयाँ ईश्वर बिराज गराए 

भक्तलाई अन्धकारबाट प्रकाशको यात्रा गराऊ प्रभु भन्दै 

कर्म समर्पण गरेर उसकै इसारालाई ईश्वर निर्देशन मान्दै 

ऊर्जा साथ समर्पित रहे 

अटल भक्तिभावमा उसैलाई सर्वोपरि सत्य मान्दै 

भक्त ह्रदयमा ईश्वरको वैभव घट्न, डगमगाउन नदिने प्रणमा  

उसका नैतिकताको खडेरीलाई नजर अन्दाज गरिदिए 

जालन्धर पत्नी वृन्दाको जस्तो चीर हरणमा पनि कल्याणकारी न्याय देखिदिए 

असङ्गत कैयन घटना परिवेशलाई पुरा पुर धर्मसंगत मानिदिए 

फलाकोमा भनिदिए एक स्वर गरी– 

हाम्रो विश्वास हाम्रो मन हाम्रो प्रभुले अब कहिले नहार्ने गरी जित्यो जित्यो ! 

 

मनले मान्नु, ह्रदयले ठान्नु त थियो रहेछ सबै 

उनीहरूले भनिदिएका मानिदिएका बलमा उभिएको थियो उनीहरूको ईश्वर 

ईश्वरको अपार शक्ति–भक्तका अनन्त भक्ति !

 

उसलाई टेक्न आफ्ना हत्केला ओछ्याई दिएका थिए 

बोकिन काँध दिए 

भक्तका मेरुदण्डको सिँढी बनाएर उ माथि माथि अझ माथि टाकुरामा पुग्यो 

र त्यही ग¥यो जो पहिलाका अवतारीले पहिला नै गरेका थिए 

 

उही घात र उही उस्तै उद्दण्डता  

 

उनीहरू बलशाली भएर नै त

हत्केला टेकाएर, पिठयुँमा चढाएर हिँडाएका थिए 

ज्ञानी भक्त थिए र त छद्म भेषी ईश्वरले  

भक्तको भावनामा आफ्ना अस्त्रको साध लगाएर रहेका थिए  

 

उसको धरातल– भक्तको भक्ति भाव  

उसको  अपार  शक्ति– केवल भक्तको साथ 

होइन भने को त्यो त्यस्तो दिव्य महापुरुष पुरुष ? 

यो जगतका पालनकर्ता, दुःखहरणकर्ता भनिदिएका पनि उनीहरूले 

परमात्मा, सत्यस्वरुप साकार ईश्वरको चिनारी मानिदिको पनि उनीहरूले हो 

अवश्य–

स्थापित गर्ने सामर्थ्य राख्ने

बोकेर माथि स्वर्ग चढाउने बलशाली भक्तले  

एक झड्कामा तल पाताल बजार्न पनि सक्छन् 

सत्य धरोधर्म–

यो जगतलाई कुनै निर्गुण ईश्वरको होइन 

सकल मानवको खाँचो छ ।

 

 

३. मान्छे नदी  

हिमाल बग्छ उँधो उँधो हिमनदी बनेर 

पहाड बग्छ उसै उँधो 

छ्ड छड छहरा भएर 

मान्छे पनि बग्दो रहेछ–

सुस्तरी सुस्तरी मान्छे नदी भएर

 

मान्छे नदी, 

गाउँ तन्कँदै सहर तिर बग्छ  

अनि सहर पनि बग्छ   

एक समय बल्लो किनार, पल्लो किनार मिलन हुने अभिलासा साथ  

आधा उतै, यता यतै भँगालोमा बाँडिएर निरन्तर

 

बग्नु त हिजो पनि बगेकै हो मान्छे 

गौरवशाली इतिहास पनि कोरेकै हो बग्दै बग्दै हिँडेका मान्छे 

शिलापत्रमा पढिएकै हुन् गौरव गाथा

आज मात्र आफू बग्दै–बग्दै गएका छैनन् 

स्वयं नदीमा नै अनूदित छ मान्छे

पोखरी जम्नु जस्तै, मान्छे नदी बग्नु जस्तै बान्की मिलाई परिभाषित छ  

नदीको धर्म बग्नु हो, बगी रहन्छ भनी रहँदा 

मान्छेको धर्म बग्नु हो या जम्नु ?

 

किनारका हरिया बोट वृक्षसँग मितेरी लाउँदै 

मात्र नागबेली नदी बग्नु जस्तो होइन रहेछ जीवन नदी बग्नु 

मान्छे नदी बग्दासँग साथ नछाडी 

बगाई जाँदो रहेछ उसैसँग यावत सम्भावनाहरू

एकपछि अर्को झरी मिसिदा, चर्किएको नदी गर्जन जस्तो पनि होइन 

मान्छे नदी सुसेल्दा 

आवाजहीन सुसेली उ भित्र दबिएर हराउनुपर्छ   

मान्छे नदी बगिरहँदा 

एकपछि अर्को गल्छेडा पार गर्दै 

धारले काट्दै बग्नु पर्छ पहाडका जरा 

नयाँ चोटले पुरानो दुःख बिर्सँदै 

निश्चय नै नदीले पनि जँघार तर्नु पर्दोरहेछ 

तरि रहेछ 

 

नदी छेउको ढुङ्गे बगर पानीको सिमाना बनी लमतन्न रहँदा 

मान्छे नदी भने फैलावट सीमाहीन बग्दो रहेछ 

 

एक रारा जम्न चाहँदो हो शुभ्र, शान्त सुन्दरतामा 

एक हिमाल उभिन चाहँदो हो उच्च गर्भानुभूतिमा 

तर मान्छे बग्ने नदीमा अनूदित छ  

नदीको धर्म बग्नुमा, जीवन सार्थकता खोज्दै विवश बगिरहेछ...

  

नदी जति पानी बगी जाओस् 

मुहानसँगको नाता चटक्क त्याग्न सक्दैन 

मूलसँग नाल काटिएको दिन 

अस्तित्वविहीन बर्खे भेलको खहरे बनेर रहन्छ 

नदी– नदी रहन्न 

मान्छे– मान्छे रहन्न ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नीलम कार्की ‘निहारिका’
नीलम कार्की ‘निहारिका’
लेखकबाट थप