मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

कागजको प्लेन उडाएर चिनियाँ किशोरहरूको विश्व कीर्तिमान, १५ वर्ष पुरानो रेकर्ड ध्वस्त

शनिबार, ०९ फागुन २०८२, १४ : ०८
शनिबार, ०९ फागुन २०८२

सारांश

  • चिनियाँ किशोर समूहले कागजको प्लेन उडाएर १५ वर्ष पुरानो विश्व कीर्तिमान तोडे।
  • जियान्सुमा आयोजित परीक्षणमा १६ वर्षीय राव चोङ्गीले ३१.१५ सेकेन्ड र लिउ लिवेनले ३१.२५ सेकेन्डसम्म विमान हावामा राखे।
  • यसअघि, उनीहरूले डिसेम्बरमा कागजको विमानलाई सबैभन्दा टाढा पुर्‍याउने कीर्तिमान पनि तोडेका थिए।

जियान्सु । चिनियाँ किशोरहरूको एउटा समूहले कागजको प्लेन निर्माण र उडानमा अद्भुत कौशल प्रदर्शन गर्दै १५ वर्षदेखि अटुट रहेको विश्व कीर्तिमान तोडेका छन्। सन् २०१० मा जापानी नागरिक ताकुओ टोडाले राखेको २९.२ सेकेन्डको ‘सबैभन्दा लामो समयसम्म हावामा तैरिने’ कीर्तिमानलाई यी युवाहरूले एकै दिनमा कैयौँ पटक उछिनेका हुन्। 

जियान्सु प्रान्तको कुनसान स्पोर्ट्स सेन्टरमा आयोजित परीक्षणमा १६ वर्षीय राव चोङ्गीले ३१.१५ सेकेन्ड र लिउ लिवेनले ३१.२५ सेकेन्डसम्म विमानलाई हावामा अड्याएर नयाँ इतिहास रचेका छन्।

यो उपलब्धि अझ विशेष हुनुको कारण के हो भने, यही समूहले गत डिसेम्बर २८ मा मात्रै कागजको विमानलाई सबैभन्दा टाढासम्म पुर्‍याउने अर्को विश्व कीर्तिमान पनि तोडेका थिए। औसत साढे १७ वर्ष उमेरका यी किशोरहरूले डिसेम्बरमा ९८.४३ मिटर टाढासम्म विमान उडाएर सन् २०२२ को रेकर्डलाई १० मिटरले पछि पारेका थिए। यसरी ६० दिनभित्रै दुईवटा ठूला विश्व कीर्तिमान आफ्नो नाममा लेखाउन उनीहरू सफल भएका छन्।

विश्व कीर्तिमानको मान्यता पाउनका लागि कडा नियमहरूको पालना गरिएको थियो। जसमा विमान इन्डोर (भित्र) उडाउनुपर्ने, ए४ साइजको कागज मात्र प्रयोग गर्नुपर्ने र टाँस्नका लागि टेपको मात्रा तोकिएको सीमाभित्र हुनुपर्ने प्रावधान थियो। 

लिउ लिवेनका अनुसार गत वर्ष अगस्टमा उनीहरू कीर्तिमान तोड्नबाट मात्र ०.२ सेकेन्डले चुकेका थिए, जसले उनीहरूलाई थप मेहनत गर्न प्रेरित गरेको थियो। गिनिज वर्ल्ड रेकर्डले यस प्रयासलाई औपचारिक प्रमाणीकरण गरेपछि चिनियाँ युवाहरूको यो क्षमताले विश्वव्यापी मान्यता पाउनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप