शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

३३ जना बालकमाथि यौन शोषण गरेर 'डार्क वेब' भिडियो बनाई बेच्ने दम्पत्तिलाई मृत्युदण्डको सजाय

आइतबार, १० फागुन २०८२, १४ : ३३
आइतबार, १० फागुन २०८२

सारांश

  • भारतको उत्तर प्रदेशमा ३३ जना बालकमाथि यौन शोषण गरी डार्क वेबमा भिडियो बेचेकोमा एक दम्पतीलाई मृत्युदण्डको सजाय सुनाइएको छ।
  • बान्दा अदालतले उक्त घटनालाई दुर्लभ अपराधको श्रेणीमा राख्दै ५० वर्षीय राम भवन र ४७ वर्षीया दुर्गावतीलाई मृत्युदण्डको फैसला सुनायो।
  • उक्त दम्पतीले बालबालिकालाई क्रूर यातना दिई अश्लील तस्बिर र भिडियो डार्क वेबमार्फत ४७ देशमा बिक्री गरेको आरोप पुष्टि भएको थियो।

काठमाडौँ । भारतको उत्तर प्रदेशमा ३३ जना बालकमाथि यौन शोषण गरेर डार्क वेब भिडियो बनाएर बेच्ने एक दम्पत्तिलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

बान्दा अदालतका अतिरिक्त जिल्ला न्यायाधीश पीके मिश्रले यस घटनालाई ‘विरलै हुने जघन्य अपराध’ (Rarest of rare) को श्रेणीमा राख्दै प्रतिवादी बनाइएका ५० वर्षीय राम भवन र ४७ वर्षीया दुर्गावतीलाई मृत्युदण्डको फैसला सुनाएका हुन् ।

टाइम्स अफ इन्डियाका अनुसार बान्दा जिल्ला अदालतले विगत एक दशकमा तीन देखि १० वर्ष उमेर समूहका बालकलाई क्रूर यातना दिने र तिनका अश्लील तस्बिर तथा भिडिओ ‘डार्क वेब’ मार्फत ४७ देशमा बिक्री गरेको कसुरमा यो फैसला सुनाएको हो ।

फैसलामा भनिएको छ, “दोषीहरूले धेरै जिल्लामा फैलिएर यति ठुलो र यति क्रूर अपराध गरेका छन् कि उनीहरू भविष्यमा सुध्रिएर राम्रो मान्छे बन्छन् भनेर सोच्न सकिँदैन । त्यसैले पीडितलाई साँचो न्याय दिन र समाजमा अरूलाई यस्तो अपराध गर्नबाट रोक्नका लागि उनीहरूलाई हदैसम्मको कडा सजाय दिनैपर्ने हुन्छ ।”

अदालतले रामभवन र उनकी श्रीमती दुर्गावतीलाई भारतीय दण्ड संहिता र पोक्सो ऐन अन्तर्गत विभिन्न अपराधहरूमा मृत्युदण्डको सजाय सुनाएको छ, जसमा अप्राकृतिक अपराध, बढ्दो प्रवेश यौन आक्रमण, अश्लील उद्देश्यका लागि बालबालिकाको प्रयोग, बालबालिकासँग सम्बन्धित अश्लील सामग्रीको भण्डारण, दुरुत्साहन र आपराधिक षड्यन्त्र समावेश छ। अदालतले सरकारलाई प्रत्येक पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन पनि आदेश दिएको छ ।

डार्क वेबमा बाल यौन दुर्व्यवहारका सामग्री प्रसार भइरहेको भन्दै इन्टरपोलले भारतीय केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)लाई सचेत गराएपछि यो अपराधको पर्दाफास भएको थियो । सीबीआईले ३१ अक्टोबर २०२० मा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा दिल्लीको एम्स (AIIMS) अस्पतालको मेडिकल टिमले २५ जना पीडित बालबालिकाको स्वास्थ्य परीक्षण गरेको थियो । जसबाट प्राप्त बलियो प्रमाणका आधारमा अदालतले दम्पतीलाई मृत्युदण्डको सजाय सुनाएको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले २०२० मा अभियुक्त रामभवन र अन्य अज्ञात व्यक्तिहरू विरुद्ध बालबालिकाको यौन दुर्व्यवहार, अश्लील उद्देश्यका लागि बालबालिकाको प्रयोग, र इन्टरनेटमा बाल यौन दुर्व्यवहार सामग्रीको सिर्जना र प्रसारको आरोपमा मुद्दा दर्ता गरेको थियो ।

पीडित बालबालिकामाथि निर्मम अत्याचार गरिएको थियो । कसैको गुप्ताङ्गमा गम्भीर चोट लागेर अस्पताल भर्ना गर्नुपरेको थियो भने केहीको आँखामा स्थायी समस्या देखिएको थियो । अनुसन्धान प्रतिवेदनका अनुसार उत्तर प्रदेश सिँचाइ विभागका पूर्व जुनियर इन्जिनियर राम भवन र उनकी श्रीमती दुर्गावतीले सन् २०१० देखि २०२० को बीचमा बान्दा र चित्रकूट क्षेत्रमा यो अपराध सञ्जाल चलाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप