बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एन्फाले साथ छाडेपछि उपचार खर्च जुटाउन साम्बाको भावुक अपिल, ‘थाकेकी छु, हारेकी छैन’

सोमबार, ११ फागुन २०८२, १५ : ५८
सोमबार, ११ फागुन २०८२

सारांश

  • राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी सावित्रा भण्डारीले घुँडाको शल्यक्रियाका लागि आर्थिक सहयोगको अपिल गरेकी छिन्।
  • एन्फाले उपचारमा बेवास्ता गरेपछि उनले सामाजिक सञ्जालमार्फत सहयोग मागेकी हुन्, किनभने उनको घुँडाको एसीएलमा चोट लागेको छ।
  • उनले शल्यक्रियाका लागि ८० हजार अमेरिकी डलर लाग्ने र समर्थकहरूलाई सहयोग गर्न आग्रह गरेकी छिन्।

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ले आफ्नो घुँडाको जटिल शल्यक्रियाका लागि आम समर्थकसँग आर्थिक सहयोगको अपिल गरेकी छिन्। आफूलाई अभिभावक मान्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपचारमा बेवास्ता गर्दै साथ छाडेपछि उनी सामाजिक सञ्जालमार्फत सहयोगको याचना गर्न बाध्य भएकी हुन्।

विगत ७ हप्तादेखि चोटका कारण मैदानबाहिर रहेकी साम्बाको घुँडाको एसीएलमा यसअघि हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको छ। यसका लागि उनले पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था छ। चोट लागेको ३ सातापछि नै उनी आबद्ध न्युजिल्यान्डको क्लबको पहलमा शल्यक्रियाको मिति तोकिएको थियो। तर, एन्फाले आफ्नै तर्फबाट सम्पूर्ण व्यवस्थापन गरिदिने आश्वासन दिएपछि उनले क्लबको प्रक्रिया रोकेकी थिइन्। विडम्बना, लामो समय झुलाएपछि एन्फाले प्रशासनिक सहयोग गर्न नसकिने भन्दै हात झिक्यो।

साम्बाका अनुसार अघिल्लो साता एन्फा अध्यक्षले नै उनलाई सम्पर्क गरेर एन्फाबाट जम्मा ५ लाख रुपैयाँसम्म मात्र सहयोग गर्न सकिने र बाँकी प्रक्रिया आफैँ मिलाउन भनेका थिए। एकातिर सुरु भइसकेको उपचार प्रक्रिया एन्फाकै कारण रोकियो भने अर्कोतिर दुई महिनापछि आएर उनी शून्यको अवस्थामा पुगिन्। एन्फाभित्र उनी राष्ट्रिय टोलीबाट नभई विदेशी क्लबका लागि खेल्दा घाइते भएको भन्दै जिम्मेवारीबाट पन्छिने तर्क सुनिएको भन्दै उनले गम्भीर निराशा व्यक्त गरेकी छिन्।

हाल न्युजिल्यान्डमै रहेकी साम्बालाई क्लबले त्यहीँको स्थानीय अस्पतालमा उपचार गराउन तयार रहेको र बिमाबापतको रकम उपलब्ध गराउने बताएको छ। तर, चोट निकै गम्भीर भएको र यसअघि कतारको अस्पेटार अस्पतालमा गरिएको उपचार सफल र उच्च स्तरको भएकाले उनले फेरि त्यहीँ शल्यक्रिया गराउन चाहेकी छिन्। क्लबले बिमाबाट निकासा गरिदिने रकमले कतारमा शल्यक्रिया गर्न र त्यसपछिको ७-८ महिनाको रिह्याब (पुनर्स्थापना) का लागि नपुग्ने उनले स्पष्ट पारेकी छिन्।

यस सम्पूर्ण उपचार प्रक्रियाका लागि करिब ८० हजार अमेरिकी डलर खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ। आफ्नो सम्पूर्ण फुटबल करिअरमा यति ठूलो रकम आर्जन नगरेको बताउँदै उनले समर्थकमाझ हात फैलाउनुपरेको बताएकी छिन्। सरकारको तर्फबाट पनि सहयोगको प्रयास भइरहेको भए पनि सरकारी प्रक्रिया सुस्त र झन्झटिलो हुने भएकाले शल्यक्रिया रोकेर बस्न सक्ने अवस्था नरहेको उनले प्रस्ट पारेकी छिन्।

युरोपसम्म पुगेर फुटबल खेलेकी र राष्ट्रिय टोलीको कप्तानसमेत रहेकी आफूले त उपचारका लागि यसरी भौँतारिनुपरेको अवस्थामा नेपालका अन्य सामान्य खेलाडीको हालत के होला भन्दै साम्बाले खेलकुद नेतृत्व र प्रणालीमाथि गम्भीर प्रश्न उठाएकी छिन्। फ्रान्स, इजरायल वा अस्ट्रेलिया र न्युजिल्यान्ड जहाँ खेले पनि आफूले व्यक्तिगतभन्दा देशको पहिचानलाई माथि राखेको र देशका लागि सधैँ शतप्रतिशत योगदान दिएको उनको भनाइ छ।

यो गम्भीर चोट र अभिभावक संस्थाको व्यवहारले आफूलाई शारीरिक र मानसिक रूपमा निकै थकाएको बताए पनि साम्बाले हरेस भने खाएकी छैनन्। आफ्नो करिअरको सबैभन्दा कठिन लडाइँ लडिरहेकी उनले 'थाकेको हो, हारेको छैन' भन्दै समर्थकहरूको सहयोगमा शल्यक्रिया सफल भएपछि पुनः नेपालको जर्सी लगाएर मैदानमा फर्किने दृढ विश्वास व्यक्त गरेकी छिन्।

उनको उपचारमा सहयोग गर्न चाहने स्वदेशमा रहेका समर्थकले क्युआर कोड वा बैंक खातामार्फत र विदेशमा रहेकाले 'गिभ अ लिटल' नामक फन्डरेजिङ लिंकमार्फत आर्थिक सहयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप