बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘कुमारी’ असफल भएपछि निर्माता अधिकारी–'फिल्म एउटा जिम्मेवारी पनि हो'

मङ्गलबार, १२ फागुन २०८२, ०९ : १८
मङ्गलबार, १२ फागुन २०८२

सारांश

  • चलचित्र 'कुमारी' ले बक्स अफिसमा राम्रो व्यवसाय गर्न नसकेपछि निर्माताले आफूलाई जिम्मेवार मानेका छन्।
  • फिल्मको असफलताबाट पाठ सिक्दै, निर्माताले आगामी प्रोजेक्टमा सुधार गर्ने बताएका छन्।
  • निर्माताले फिल्मको कथावस्तु र महिला संवेदनशीलतालाई महत्त्व दिएका छन्।

काठमाडौँ । बक्सअफिसमा ‘कुमारी’ले ६३ लाख भन्दा बढी व्यवसाय गर्न सकेन । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्सअफिसमा फिल्मको ग्रस कलेक्सन त्यति देखिएको हो । राम्रो व्यवसायको अपेक्षा गरिएको फिल्म असफल हुनुले निर्मातालाई पीडा हुनु स्वाभाविक हो । 

फिल्ममा करोडौँ जो लगानी भएको थियो । ‘कुमारी’का निर्माता महेन्द्र अधिकारी भने फिल्मको असफलताले आफूलाई अझ जिम्मेवार बनाएको बताउँछन् । फिल्मको व्यावसायिक असफलताबाट एउटा पाठ समेत सिकेको उनको भनाई छ ।

फिल्म निर्माणदेखि प्रदर्शनसम्म साथ दिने सबैलाई धन्यवाद समेत दिएका उनले फिल्म निर्माणको उद्देश्य नाफामूलक व्यवसाय भएपनि सधैँ सोचेजस्तो नतिजा नआउने यथार्थलाई आफूले स्वीकारेको बताए ।

‘मेरो बुझाइमा कुनै पनि व्यवसायले यदि नाफा आर्जन गर्न सकेन भने त्यसको कारक तत्त्व पत्ता लगाई तुरुन्त समाधान गर्नुपर्छ’, उनी भन्छन् ‘यदि यो समस्यालाई हलुका रूपमा लियो भने यसपछिका अरू निर्माताहरूलाई पनि लगानी गर्न एक चोटि सोच्न बाध्य बनाउँछ ।’ यस अघि प्रकाश जस्तो व्यावसायिक सफल फिल्म दिएका उनले व्यवसाय सधैँ नाफामूलक मात्र नभई कहिलेकाहीँ नाफारहित पनि हुन सक्ने तर्क राखे । उनी विगतका कमजोरीहरूलाई लिएर रुमल्लिनुको साटो अत्यन्त संवेदनशील भएर अबअगाडि बढ्ने सोच राख्छन् । भन्छन् , ‘अहिलेको सबै कमजोरी सच्याएर फेरि अर्को प्रोजेक्ट गर्छु ।’

नेपाली फिल्म ‘स्टार कास्ट’ बिना चल्दैन भन्ने भाष्य निर्माण भइरहेको छ। ‘कुमारी’को असफलतामा पनि केही हदसम्म त्यसले असर गरेको हो । उनी यसलाई पूर्णसत्य मान्न तयार छैनन् ।

‘सधैँ एकै खालको फर्मुला प्रयोग गर्दा नतिजा एउटै आउँछ भन्ने हुँदैन’, उनी थप्छन् ‘समयसँगै निर्माताहरूको सोचमा आएको परिवर्तनलाई नयाँ अनुहारहरूको आगमनसँग जोड्छन् ।’ उनी फिल्म कलाकारले भन्दा पनि कथाले चल्नेमा जोड दिन्छन् ।

‘कुमारी’को व्यावसायिक असफलताले मलाई गलाएको छैन, बरु अझ जिम्मेवार बनाएको छ’, उनी अगाडि भन्छन् ‘‘कुमारी’ एउटा विशुद्ध प्रेमकथा मात्र थिएन, यो समाजले अझै पनि स्वीकार गर्न नसकेको महिलाको संवेदनशीलता बोकेको तितो सत्य थियो ।’ फिल्म व्यवसाय मात्र होइन, समाज प्रतिको एक किसिमको जिम्मेवारी पनि भएको उनको धारणा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप