हिमपातपछि अमेरिकाको पूर्वी तट अस्तव्यस्त
सारांश
- अमेरिकाको पूर्वी तटमा आएको हिउँआँधीले जनजीवन प्रभावित पारेको छ, हजारौं उडान रद्द र लाखौं मानिस बिजुलीविहीन भएका छन्।
- रोड आइल्याण्ड र म्यासाचुसेट्समा कीर्तिमानी हिमपात मापन गरिएको छ, जसले गर्दा यात्रा प्रतिबन्ध लगाइएको छ।
- आँधीका कारण पूर्वी क्यानडामा पनि प्रभाव परेको छ र अधिकारीहरूले सडकमा हिँडडुल नगर्न आग्रह गरेका छन्।
वासिङटन डीसी । अमेरिकाको पूर्वी तटमा आएको शक्तिशाली हिउँआँधीका कारण जनजीवन व्यापक रूपमा प्रभावित भएको छ । सोमबार आएको ‘नोरइस्टर’ नामक आँधीपछि कीर्तिमानी हिमपात हुँदा हजारौँ उडान रद्द भएका छन् भने लाखौँ मानिस बिजुलीविहीन भएका छन् ।
अमेरिकी राष्ट्रिय मौसम सेवा (एनडब्ल्यूएस)का अनुसार रोड आइल्याण्ड र म्यासाचुसेट्सका केही क्षेत्रमा करिब ३७ इन्चसम्म हिमपात मापन गरिएको छ । न्यूयोर्क सहरको सेन्ट्रल पार्कमा मात्रै १९ इन्चभन्दा बढी हिउँ परेको छ ।
यस भीषण मौसमका कारण उत्तर क्यारोलिनादेखि मेनसम्म चेतावनी जारी गरिएको थियो । पूर्वी क्यानडाका केही क्षेत्रमा पनि प्रभाव पुगेको बताइएको छ । विद्युत् निगरानी संस्था अनुसार पूर्वी तटभर ६ लाखभन्दा बढी घरधुरीमा बिजुली आपूर्ति अवरुद्ध भएको छ ।
यात्रा गतिविधि सबैभन्दा बढी प्रभावित भएको छ । ट्र्याकिङ साइट फ्लाइटअवेयरका अनुसार अमेरिका भित्र आउने र त्यहाँबाट बाहिरिने गरी ५,७०६ भन्दा बढी उडान रद्द भएका छन् । न्यूयोर्कको लागार्डिया विमानस्थलबाट ९८ प्रतिशत र जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट ९१ प्रतिशत उडान स्थगित भएका छन् । बोस्टन, न्युवार्क र फिलाडेल्फियाबाट पनि अधिकांश उडान प्रभावित भएका छन् ।
रोड आइल्याण्डको राजधानी प्रोभिडेन्समा ३६ इन्च हिमपात रेकर्ड भएको छ, जुन सन १९७८ को अघिल्लो कीर्तिमानभन्दा धेरै हो । ह्वाइट–आउट अवस्था भन्दै म्यासाचुसेट्सकी गभर्नर मौरा हीलीले अनावश्यक यात्रा नगर्न आग्रह गर्दै यात्रा प्रतिबन्ध लागू गरेकी छिन् ।
म्यासाचुसेट्समा मात्र करिब ३ लाख मानिस अन्धकारमा बस्न बाध्य भएका छन् । ऐतिहासिक रूपमा १५३ वर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको द बोस्टन ग्लोबले समेत हिमपातका कारण पहिलो पटक आफ्नो मुद्रित संस्करण निकाल्न नसक्ने जनाएको छ । मौसमविद्हरूका अनुसार आँधी मंगलबार क्यानडातर्फ सर्ने अनुमान छ । तर शक्तिशाली हुरी केही समय कायम रहने बताइएको छ । अधिकारीहरूले सडकमा हिँडडुल नगर्न र सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण