बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जसपा नेपाल सर्लाहीले पाँच जनप्रतिनिधिसँग माग्यो २४ घण्टे स्पष्टीकरण

बुधबार, १३ फागुन २०८२, ०६ : २७
बुधबार, १३ फागुन २०८२

सारांश

  • सर्लाहीमा जसपा नेपालले पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा पाँच जनप्रतिनिधिलाई स्पष्टीकरण सोधेको छ।
  • जनप्रतिनिधिहरूले पार्टी निर्णयविपरीत अन्य दलका उम्मेदवारलाई समर्थन गरेको आरोप लागेको छ।
  • स्पष्टीकरण चित्तबुझ्दो नभए पार्टी विधानअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

सर्लाही । जनता समाजवादी पार्टी, नेपाल जिल्ला कार्यसमिति सर्लाहीले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा स्थानीय तहमा निर्वाचित पाँच जना जनप्रतिनिधिसँग २४ घण्टे लिखित स्पष्टीकरण माग गरेको छ ।

जिल्ला कार्यसमितिद्वारा जारी पत्रमा ती जनप्रतिनिधिहरूले पार्टीको निर्णय विपरीत अन्य राजनीतिक दलका उम्मेदवारलाई समर्थन र सहयोग गरेको भन्ने जनगुनासो प्राप्त भएको उल्लेख छ । सोही आधारमा कारण खुलाउँदै तोकिएको समयभित्र चित्तबुझ्दो जवाफ पेस गर्न अल्टिमेटम दिइएको जनाइएको छ ।

पत्रमा तोकिएको समयावधिभित्र स्पष्टीकरण नआए वा प्राप्त जवाफ सन्तोषजनक नभए पार्टी विधानअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ । पार्टी अनुशासन र निर्णयको पालना गर्ने दायित्व निर्वाचित जनप्रतिनिधिमा अझ बढी रहने उल्लेख गर्दै संगठनको हितविपरीत गतिविधि सह्य नहुने स्पष्ट पारिएको छ ।

स्पष्टीकरण सोधिएका जनप्रतिनिधिहरूमा गोडैता नगरपालिका–५ का वडा अध्यक्ष प्रकाश गुप्ता, चक्रघट्टा गाउँपालिका–३ का वडा अध्यक्ष दिनेश साह, बरहथवा नगरपालिका–१७ का वडा अध्यक्ष राम विश्वास राय, हरिपुर्वा नगरपालिका–८ का वडा अध्यक्ष रामेश्वर राय तथा हरिपुर्वा नगरपालिका–९ का वडा अध्यक्ष सुरेन्द्र महतो रहेका छन् ।

जसपा नेपाल सर्लाहीका पदाधिकारीका अनुसार पार्टीको आधिकारिक निर्णय विपरीत गतिविधि भएको पुष्टि भएमा अनुशासन समितिको सिफारिसमा थप कदम चालिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप