बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सी जिनपिङको सैन्य शुद्धीकरण अभियान : चीनको युद्ध क्षमता कमजोर हुनसक्ने चेतावनी

बुधबार, १३ फागुन २०८२, १४ : ४१
बुधबार, १३ फागुन २०८२

सारांश

  • चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनाभित्र व्यापक शुद्धीकरण अभियान चलाइरहेका छन्, जसले सैन्य क्षमतामा असर पार्न सक्ने चेतावनी दिइएको छ।
  • रिपोर्ट अनुसार, सन् २०२२ यता १०० भन्दा बढी चिनियाँ सैन्य अधिकारीहरूलाई हटाइएको छ, जसले नेतृत्व संरचनामा असर पारेको छ।
  • विश्लेषकहरूले सीको कदमले सैन्य स्थायित्वमा चुनौती थप्न सक्ने र ताइवानमाथि आक्रमण गर्ने क्षमतामा प्रश्न उठाउन सक्ने बताएका छन्।

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनाभित्र व्यापक शुद्धीकरण अभियान चलाइरहेका छन् । हालैका दिनमा शीर्ष तहका कयौँ सैन्य अधिकारीहरूमाथि कारबाही भइरहेको छ । यसैबिच एउटा नयाँ प्रतिवेदनले सीको यस अभियानले चीनको सैन्य सञ्चालन क्षमतामा अनपेक्षित असर पर्न सक्ने चेतावनी दिएको छ । 

वासिङ्टनस्थित थिंक ट्याङ्क ‘सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज (सीएसआईएस) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार सन् २०२२ यता १०० भन्दा बढी चिनियाँ सैन्य अधिकारी हटाइएको वा बेपत्ता पारिएको जनाइएको छ ।

प्रतिवेदनअनुसार चीनमा कम्तीमा ३६ जना जनरल र लेफ्टिनेन्ट जनरललाई औपचारिक रूपमा शुद्धीकरण गरिएको छ भने थप ६५ जना अधिकारी बेपत्ता वा सम्भावित  कारबाही सूचीमा परेका छन् । यसले जनमुक्ति सेना (पीएलए) को नेतृत्व संरचनामा गहिरो कम्पन ल्याएको विश्लेषकहरूको भनाइ छ । सी जिनपिङले सन् २०१२ मा सत्ता सम्हालेदेखि नै सेनाभित्रको भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिँदै आएका छन् । 

उनले सैन्य आधुनिकीकरणलाई तीव्र बनाउँदै आफ्नो राजनीतिक नियन्त्रण पनि मजबुत बनाउने रणनीति अपनाएका छन् । तर पछिल्लो लहरको शुद्धीकरणले शीर्ष तह मात्र नभई तल्लो तहसम्म व्यापक असर पारेको जनाइएको छ ।

सो प्रतिवेदनअनुसार सीले चालेको कदमले पीएलएका १७६ शीर्ष नेतृत्व पदमध्ये करिब ५२ प्रतिशत पद प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित भएका छन् । म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) को सुरक्षा अध्ययन कार्यक्रमका निर्देशक एम.टेलर फ्राभेलले यसलाई अत्यन्तै असाधारण नेतृत्व फेरबदल भनेर वर्णन गरेका छन् ।

उनका अनुसार यो किसिमको उच्चस्तरीय नेतृत्व अदली–बदलीले सैन्य स्थायित्वमा चुनौती थप्न सक्छ । पछिल्ला कारबाहीमा सी निकट मानिएका वा उनैले पदोन्नति दिएका अधिकारीहरू पनि परेका छन् । चिनियाँ आधिकारिक सूचनाहरूले प्रायः अनुशासन र कानुन उल्लङ्घनको आरोप लगाउने गरे पनि पीएलएको अपारदर्शी संरचनाका कारण वास्तविक कारणहरू सार्वजनिक रूपमा प्रष्ट हुने गरेका छैनन् ।

प्रतिवेदनले सङ्केत गरेको अर्को महत्त्वपूर्ण जोखिम अनुभवको कमी हो । ठुलो सङ्ख्यामा वरिष्ठ अधिकारी हटाइएपछि नयाँ नेतृत्वमा कमान्ड अनुभव थोरै भएका र वास्तविक युद्धको अनुभव नभएका अधिकारीहरू आउन सक्ने सम्भावना बढेको छ । यस्तो अवस्थामा जटिल सैन्य अभियान सञ्चालन गर्ने क्षमता कमजोर हुनसक्ने विश्लेषण गरिएको छ ।

पाँचवटा थिएटर कमान्डमध्ये कुनै एकको नेतृत्व सम्हाल्न सक्ने अधिकारीहरूको सङ्ख्या पनि घटेको छ । प्रतिवेदन अनुसार ५६ जना डेपुटी थिएटर कमान्डर हटाइएपछि सम्भावित प्रतिस्थापनको दायरा ३३ प्रतिशतभन्दा बढीले सङ्कुचित भएको छ । यसले आकस्मिक अवस्थामा नेतृत्व हस्तान्तरण जटिल बन्नसक्ने देखिन्छ ।

सीएसआईएसकी विश्लेषक बोनी लिनले पनि सीको यो कदमपछि पीएलएको तयारीमा असर देखिन थालेको सङ्केत दिएकी छिन् । उनका अनुसार ताइवान वरिपरि चीनले सन् २०२५ मा गरेको सैन्य अभ्यास लागू गर्न निकै दिन लागेको थियो । जबकि सन् २०२४ मा यस्तै अभ्यास सुरु गर्न मात्र ४ दिन लागेको थियो ।

यसले निर्णय प्रक्रिया वा समन्वयमा ढिलाइ हुनसक्ने सङ्केत गरेको बताइएको छ । ताइवानसँगको सम्भावित द्वन्द्वको सन्दर्भमा प्रतिवेदनले विशेष ध्यान दिएको छ । चीनले ताइवानलाई आफ्नो भूभाग मान्दै आएको छ र आवश्यक परे बल प्रयोग गर्न नहिचकिचाउने चेतावनी समेत दिँदै आएको छ । तर शीर्ष नेतृत्वमा ठुलो फेरबदल भएपछि निकट भविष्यमा हुने भनिएको ताइवान आक्रमण सञ्चालन गर्ने क्षमता प्रश्नको घेरामा पर्न सक्ने प्रतिवेदनले जनाएको छ ।

यद्यपि,प्रतिवेदनले पीएलएलाई कमजोर भने ठहर गरेको छैन । विश्लेषकहरूको भनाइमा चीन अझै पनि शक्तिशाली सैन्य विकल्पहरू प्रयोग गर्न सक्षम छ । विशेष गरी ताइवानमाथि नाकाबन्दी, दबाब वा सीमित सैन्य कारबाहीजस्ता कम जटिल अपरेसन चीनले सजिलै गर्न सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ ।

ब्रुकिङ्स इन्स्टिच्युटका वरिष्ठ फेलो जोन कल्भरले सीको आफ्नै सेनामाथिको अविश्वास अमेरिका र ताइवानका लागि केही हदसम्म प्रतिरोधात्मक फाइदा हुनसक्ने बताएका छन् । तर उनले चीनसँग अझै पनि पर्याप्त क्षमता रहेको भन्दै सतर्क रहनुपर्ने चेतावनी दिएका छन् ।

अर्को जोखिम भनेको निर्णय प्रक्रियामा सत्य सूचना नपुग्ने सम्भावना हो । नयाँ पदोन्नति भएका अधिकारीहरूले आफ्ना पूर्ववर्तीहरूको जस्तो कारबाहीको डरले नकारात्मक सूचना माथिल्लो नेतृत्वसम्म नपुर्‍याउन सक्ने प्रतिवेदनमा उल्लेख छ ।

यस्तो अवस्थामा सी जिनपिङ सेनाको वास्तविक क्षमताबारे अत्यधिक आत्मविश्वासी बन्न सक्ने खतरा औँल्याइएको छ, जसले सङ्कट व्यवस्थापनलाई झन् जोखिमपूर्ण बनाउन सक्छ । केही विशेषज्ञहरूले भने सीले अहिलेको समयलाई घर सफा गर्ने उपयुक्त अवसरका रूपमा हेरेको तर्क गरेका छन् । उनका अनुसार अमेरिकी ध्यान विश्वका अन्य देशतिर केन्द्रित भएका बेला चीनले आन्तरिक संरचना मजबुत बनाउने प्रयास गरिरहेको हुनसक्छ ।

प्रतिवेदनका सहलेखक जोएल वुथनाउका अनुसार दीर्घकालीन दृष्टिमा तस्बिर फरक हुनसक्छ । यो दशकको अन्त्यसम्म नयाँ पुस्ताका अधिकारीहरूले आधुनिक चिनियाँ हतियार प्रणालीसँग पर्याप्त अभ्यास र अनुभव हासिल गरेपछि पीएलएको आत्मविश्वास र क्षमता फेरि बलियो हुनसक्छ ।

तर समग्रमा राष्ट्रपति सीको व्यापक सैन्य शुद्धीकरणले छोटो अवधिमा चीनको सैन्य नेतृत्वमा अस्थिरता र सञ्चालन क्षमतामा चुनौती ल्याउने सङ्केत देखिएको छ । तर दीर्घकालमा नयाँ नेतृत्व परिपक्व भएमा चीनको सैन्य शक्ति पुनः सुदृढ हुनसक्ने विश्लेषकहरूको निष्कर्ष छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप