प्रतिनिधिसभा निर्वाचन : बाँकेका सबै सीमा नाका ७२ घण्टा ठप्प पारिने
सारांश
- बाँके जिल्लाका नेपाल-भारत सीमा नाकाहरू फागुन २१ गते हुने निर्वाचनका लागि बन्द हुने भएका छन्।
- निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन फागुन १८ गते राति १२ बजेदेखि २१ गते राति १२ बजेसम्म नाका बन्द गरिनेछ।
- सुरक्षा अधिकारीहरूको समन्वयमा आपराधिक गतिविधि नियन्त्रण र चुनावी सुरक्षाका लागि नाका बन्द गर्ने निर्णय लिइएको हो।
नेपालगन्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी बाँके जिल्लासँग जोडिएका नेपाल-भारत सीमा नाकाहरू पूर्ण रूपमा बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सीमा नाका बन्द गर्ने निर्णय गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङका अनुसार आउँदो सोमबार अर्थात् फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन हुने दिन फागुन २१ गते बिहीबार राति १२ बजेसम्मका लागि नाकाहरू सिल गरिनेछ। यस अवधिमा सीमाबाट हुने सर्वसाधारणको आवतजावत तथा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइने प्रशासनले स्पष्ट पारेको छ।
निर्वाचनको समयमा सीमावर्ती क्षेत्रबाट हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै दुवै देशका सुरक्षा अधिकारीहरूको समन्वयमा यो कदम चालिएको हो। विशेष गरी सीमा नाकाबाट अवैध घुसपैठ हुन नदिन र चुनावी सुरक्षालाई मजबुत बनाउन ७२ घण्टासम्म नाका ठप्प पार्ने अन्तर्राष्ट्रिय प्रचलन अनुसार नै यो निर्णय लिइएको प्रशासनको भनाइ छ।
फागुन १३ गते नै प्रशासनले सूचना जारी गरी सबै सरोकारवालाहरूलाई पूर्व जानकारी गराएको हो। नाका बन्द हुने भएपछि अत्यावश्यक कामले भारत आउजाउ गर्नेहरूलाई सोही अनुसार आफ्नो यात्रा तय गर्न प्रशासनले अनुरोध गरेको छ। निर्वाचन सम्पन्न भएपछि फागुन २१ गते मध्यरातबाट मात्र नाका पुनः सुचारु हुनेछ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण