सीके राउतले निकालेका दीपक कांग्रेसका ज्ञानेन्द्रलाई भारी
सारांश
- जनमत पार्टीका पूर्व उपाध्यक्ष दीपक साहलाई पार्टीबाट निकालिएपछि उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुनसरी-४ मा उम्मेदवारी दिएका छन्।
- साहले सुरुमा जनस्वराज पार्टी गठन गरे, पछि राष्ट्रिय जनमत र सर्वोदय पार्टी बनाए, तर उनी रास्वपामा बसेर चुनाव लडेका छन्।
- कांग्रेस र एमालेको पकड रहेको सुनसरी-४ मा साहले जनलहरको फाइदा उठाउने दाबी गरेका छन्, भने कांग्रेसले पुरानै एजेन्डालाई निरन्तरता दिने बताएको छ।
काठमाडौँ । जनमत पार्टीका संस्थापक उपाध्यक्ष ई.दीपक साहलाई अध्यक्ष डा.सीके राउतले कारबाही गरे, पार्टीबाटै निकालिदिए । साहले पार्टीमा फर्किन पाउनुपर्छ भनी पुनरावेदन दिए, तर त्यसमाथि पार्टीले कुनै सुनुवाइ गरेन । उल्टै अध्यक्ष राउतले विभिन्न आरोप लगाए । अहिले तिनै साह सुनसरी–४ मा उम्मेदवार बनेका छन् । साहले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन् ।
साहलाई पार्टी छाड्ने इच्छा थिएन, तर अध्यक्ष राउतले अनेक बहाना बनाएर आफूलाई जबर्जस्ती निकालेको उनी बताउँछन् । उनीसँगै कारबाहीमा परेका सुरेन्द्रनारायण यादवलाई पनि अध्यक्ष राउतले कारबाही गरेका थिए । आफूमाथि कारबाही हुनुको कारणबारे यादवले भनेका थिए, ‘राउतले आफ्ना दाइलाई नेता बनाउन पार्टीका सबै शीर्ष नेताहरूलाई विस्तारै विस्तारै अलग्याए ।’
साहले जनमतबाट निकालिएपछि सुरुमा जनस्वराज पार्टी गठन गरेका थिए, तर सर्वोच्च अदालतले त्यसलाई खारेज गरिदिएपछि उनले राष्ट्रिय जनमत नाम गरेको अर्को पार्टी गठन गरे । तर उक्त पार्टी इरफान खानले दाबी गरे, उनैले पाए । र, साहले सर्वोदय पार्टी गठन गरेका थिए । चुनावी तालमेलका लागि साहले उज्यालो पार्टी नेपालसँग तालमेल गरेका थिए । उज्यालो पार्टी नेपाल र रास्वपाबिच एकता भयो ।
पछि उज्यालो पार्टी त्यहाँबाट निस्किए पनि दीपक साह रास्वपामा नै बसे । र, त्यहाँबाट टिकट लिएर अहिले उनी चुनावी मैदानमा छन् । सुनसरी–४ मा नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, नेकपा एमालेबाट जगदीशप्रसाद कुसियत, नेपाली कम्युनिस्ट पार्टीबाट मोहम्मद महफुज अन्सारी, जनता समाजवादी पार्टी नेपालबाट सविता यादवलगायत विभिन्न दलका उम्मेदवारहरू प्रतिस्पर्धामा छन् । २०७९ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले एमालेका जगदीशप्रसाद कुसियतलाई झिनो मतले पराजित गरेका थिए ।
ज्ञानेन्द्रबहादुर कार्कीले ३० हजार ४८३ मत ल्याएर विजयी भएका थिए भने जगदीश कुसियतले ३० हजार ३७१ मत ल्याएका थिए । त्यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका विद्यानन्द यादव तेस्रो भएका थिए भने रास्वपाका जीवन श्रेष्ठ चौथो भएका थिए ।
२०७४ मा पनि ज्ञानेन्द्रबहादुर कार्की ३२ हजार ३४७ मत ल्याएर विजयी भएका थिए भने एमालेका रमेश श्रेष्ठ २५ हजार ७५० मत ल्याएर दोस्रो भएका थिए । त्यतिबेला राजपा नेपाल (अहिलेको जसपा नेपाल) तेस्रो स्थानमा थियो । यसरी हेर्दा सो क्षेत्र कांग्रेस र एमालेको पकड भएको क्षेत्र हो । तर जेनजी आन्दोलनपछि भइरहेको चुनावका कारण चलेको जनलहरका कारण साह प्रतिस्पर्धामा देखिएका छन् ।
सांगठनिक हिसाबले त्यहाँका सम्पूर्ण पालिकामा कांग्रेसकै पकड छ । हरेक पालिका कांग्रेसले जितेको छ । स्थानीय तह कांग्रेसको हातमा रहेकाले मतदातालाई प्रभावित पार्ने सम्भावना साहले देखेका छन् । साहको क्षेत्रबाट बिहीबार मात्रै सप्तरी फर्केका सुरेन्द्रनारायण यादव भन्छन्, ‘जनलहरमा दीपक साहको अग्रता छ, जताततै उहाँकै चर्चा छ ।’
कांग्रेसका उम्मेदवार कार्की भने कांग्रेस स्वयंमा परिवर्तन आएकाले मतदाताको आकर्षण बढेको र चुनावमा विगतभन्दा थप मत ल्याएर विजयी हुने दाबी गर्छन् । ‘भ्रष्टाचार, सुशासन, आर्थिक समृद्धिका कुरा प्रमुख एजेन्डा हो,’ उनी भन्छन्, ‘कांग्रेस त्यसका लागि प्रतिबद्ध छ ।’ उनले विगत दुई कार्यकालदेखि जनताले साथ दिएको र यसपटक पनि साथ पाउने प्रतिबद्धता पाइसकेको बताए ।
रास्वपाका साह भने जनता परिवर्तनको पक्षमा रहेका र आफूहरू परिवर्तनका लागि लडेको बताउँछन् । त्यसैले सुनसरी–४ का जनता आफ्नो पक्षमा रहेको उनको दाबी छ । ‘लहर परिवर्तनको पक्षमा छ, पुराना कुराहरूलाई रुचाएका छैनन्, कति मतान्तरले जित्ने भन्ने मात्र हिसाबकिताब भइरहेको छ,’ उनले भने ।
त्यहाँका स्थानीय पत्रकार पवन रौनियार पनि जनलहर हेर्दा जनता परिवर्तनको पक्षमा देखिएको बताउँछन् । ‘कांग्रेस र एमाले पनि युवा तथा नयाँ उम्मेदवारलाई उठाएको भए यसखालको अवस्था आउने थिएन,’ उनी भन्छन्, ‘कांग्रेसले उही पुरानै उम्मेदवारलाई निरन्तरता दिएकाले कतै कतै जनतामा असन्तुष्टि भइरहेको बुझिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण