आसन्न निर्वाचनप्रति मधेस प्रदेशका मतदातामा बढी उत्साह
सारांश
- मधेस प्रदेशका मतदातामा निर्वाचनप्रति उत्साह देखिएको छ ।
- जेनजी आन्दोलनको प्रभावले चुनावमा केही फेरबदल आउने अनुमान छ ।
- सामाजिक सञ्जालको प्रभाव र पैसाको दुरुपयोग निर्वाचनका चुनौती हुन्।
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनप्रति तुलनात्मक रूपमा मधेस प्रदेशका मतदातामा बढी उत्साह देखिएको पाइएको छ ।
आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक) ले गरेको निर्वाचन सर्वेक्षणमा विगतको तुलनामा मधेस प्रदेशका करिब ५५ प्रतिशत मतदातामा आगामी चुनावप्रति उत्साह देखिएको उल्लेख छ । जेनजी आन्दोलनका जगमा हुन लागेको यस निर्वाचनलाई विगतका निर्वाचनभन्दा भिन्न र विशिष्ट मानिएको जियोकका महासचिव कृष्णमान प्रधानले बताए ।
भदौ २३ गते भएको जेनजी आन्दोलनपछिको पहिलो निर्वाचन भएकाले पनि आममतदातामा ठुलो उत्साह रहेको महासचिव प्रधानले बर्ता । सोही प्रदेशमा निर्वाचनप्रति सबैभन्दा बढी ७९.२ प्रतिशत विश्वास रहेको सर्वेक्षण तथ्याङ्कले देखाएको छ ।
जियोकको सर्वेक्षणमा भनिएको छ, “नवयुवा पुस्ताले यस निर्वाचनलाई विगतको भन्दा फरक मानेका छन्, आममतदाता भने तोकिएको समयमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुनेमा ढुक्क छन् ।” जियोकले करिब १०० जना मतदातामा गरेको सर्वेक्षणमा सहभागीमध्ये अधिकांश यही फागुन २१ गते हुने निर्वाचनबारे सचेत रहेको उल्लेख छ ।
सर्वेक्षणमा सहभागी मतदातामध्ये ३४ प्रतिशत राजनीतिक शक्तिबाट उच्च प्रभावित रहेको तथा ५० प्रतिशतमा मध्यम प्रभाव देखिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा जेनजी आन्दोलनको प्रभावले विगतको तुलनामा चुनावी नतिजालाई केही फेरबदल गर्ने अनुमान गरिएको छ ।
निर्वाचनको सफलतामा शान्ति, सुरक्षाको पाटोलाई चुनौतीका रूपमा पहिचान गरिए तापनि पछिल्लो समय बन्दै गएको चुनावी वातावरणले अन्य कुरालाई पन्छाउँदै लगेको संस्थाले जनाएको छ । तथापि राजनीतिक दलका कार्यकर्ताबिच हुनसक्ने विवादले केही स्थान विशेषमा भने छिटफुट रूपमा सुरक्षा चुनौती निम्तन सक्ने विषयलाई नकार्न नमिल्ने औँल्याइएको छ ।
सर्वेक्षणमा सहभागी २१ प्रतिशत मतदाताले आफ्नो मतको निर्णयमा सामाजिक सञ्जालको प्रभाव रहेको स्वीकार गरेको तथा लैङ्गिक रूपमा २४ प्रतिशत पुरुष र २१ प्रतिशत महिला प्रभावित देखिएको उल्लेख छ ।
प्रविधि प्रयोगमा मात्र होइन, नवयुवा पुस्ता सामाजिक सञ्जालबाट त्यति नै प्रभावित देखिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी तुल्याउन पैसा र पहुँचको दुरुपयोगलाई सबैभन्दा ठुलो चुनौतीका रूपमा औँल्याइएको छ ।
निर्वाचन सुरक्षामा भ्रामक सूचनाले पनि नकारात्मक असर पर्ने सक्ने भएकाले त्यसको समयमै रोकथाम गर्नेतर्फ ध्यान पुराउनुपर्नेमा जोड दिइएको छ । चुनावको मिति नजिकिँदै गर्दा निर्वाचनका लागि आवश्यक वातावरण बनेको, मतदातामा उत्साह बढेको, नयाँ राजनीतिक शक्तिको उदय सङ्केत देखिएको तथा निर्वाचनपछिको परिदृश्य र सुधारको सम्भावना प्रशस्त रहेको जियोकको प्रतिवेदनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण