सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
चुनावी GROUND ZERO : कञ्चनपुर

खोले खाएर छाक टार्ने मतदाता भन्छन्– यस्ता चुनाव त कति आए, कति गए !

शुक्रबार, १५ फागुन २०८२, ११ : ३०
शुक्रबार, १५ फागुन २०८२

सारांश

  • कञ्चनपुरमा निर्वाचन नजिकिँदै गर्दा मतदाताहरूमा राजनीतिप्रति वितृष्णा बढेको छ, उनीहरू आधारभूत आवश्यकता पूरा गर्न संघर्षरत छन्।
  • वेदकोट नगरपालिकाका गणेश लोहार र पार्वतीदेवी रोस्यारा लगायतका मतदाताहरू स्वास्थ्योपचार र दैनिक गुजाराको चिन्तामा छन्, जसले गर्दा चुनावप्रति उनीहरूको चासो घटेको छ।
  • मतदाताहरूले चुनावमा नेताहरूले गर्ने प्रतिबद्धतालाई 'निन्द्रामा देखिने सपना'को रूपमा लिन्छन्, किनकि चुनावपछि नेताहरूले ती वाचा पूरा गर्दैनन्।
00:00 / NaN:NaN
Audio By AI

कञ्चनपुर । प्रतिनिधि सभाको आसन्न निर्वाचनको प्रचारप्रसार तीव्र छ । उम्मेदवारहरू आ–आफ्ना एजेन्डा बोकेर मतदाताको विश्वास जित्न प्रयासरत छन् ।

स्थलगत रिपोर्टिङका क्रममा हामीले केही यस्ता मतदाता भेट्यौँ, जसलाई न राजनीतिप्रति कुनै चासो छ, न त उम्मेदवारका कुनै प्रतिबद्धताप्रति विश्वास ।

५–७ वटा निर्वाचनमा मत दिइसकेका ती मतदाता चुनावको समयमा नेताहरूले गर्ने प्रतिबद्धता आफ्नो जीवनका लागि ‘निन्द्रामा देखिने सपना’ सरह भएको बताउँछन् । चुनाव अघि गरिएका प्रतिबद्धताको औचित्य चुनाव सकिएलगत्तै नेताहरूले बिर्सिने गरेको उनीहरूको अनुभव छ ।

दुई छाक टार्नका लागि दैनिक सङ्घर्ष गर्दै आएका त्यस्ता मतदातालाई विकासका ठुला आयोजना, सङ्घीयता, समावेशी प्रणाली लगायतका विषयवस्तुले आकर्षित गर्न सकेको छैन । राजनीतिप्रति उनीहरूको चरम वितृष्णा छ ।

कञ्चनपुरको वेदकोट नगरपालिका–५ का गणेश लोहार र सोही नगरपालिका–३ की पार्वतीदेवी रोस्यारा यस्ता प्रतिनिधिमूलक मतदाता हुन्, जसलाई आसन्न निर्वाचनमा कसलाई भोट दिने भन्नेमा भन्दा पनि कसरी दुई छाक टार्ने भन्नेमा बढी चिन्ता छ ।

ganesh

गणेश लोहार पेसाले आरन व्यवसायी हुन् । बारम्बार पेट दुख्ने समस्याले पीडित उनी स्वास्थ्योपचारका लागि पैसासमेत नरहेको बताउँछन् ।

‘एक त पहिलाजस्तो काम पनि आउँदैन । मानिसले खेती गर्न छाडे । कुटो, कोदालो, हँसिया बनाउने चलन नै हराउँदै गइसक्यो,’ उनले भने, ‘कुनै दिन त आरनमा आगो नै बाल्नु पर्दैन । काम नै आउँदैन । काम नभएपछि के खाने भन्ने चिन्ताले पिरोल्छ ।’

उनीसँग खेती गर्ने जग्गा छैन । बिरामी भएकाले अन्य काम गर्न जानसमेत नसक्ने अवस्था रहेको उनले सुनाए । ‘घरमा बुढी आमा हुनुहुन्छ,’ उनले भने, ‘आफू त बरु भोकै भए पनि एक–दुई दिन टार्थेँ होला, आमालाई भोकै राख्न भएन ।’ घरमा अन्न नहुँदा खोले खाएर गुजारा चलाउनु परेको गणेश बताउँछन् ।

स्थलगत रिपोर्टिङका क्रममा बेदकोट–५ मा पुग्दा बाटो छेउकै घर बाहिर गणेश खोले पकाइरहेका थिए । ‘यो कसका लागि पकाउनु भएको ?’ उनलाई हामीले प्रश्न गर्‍यौँ ।

गणेशले ठुलो स्वरले आमालाई हाम्रोबारेमा सुनाएपछि ती वृद्धाले भनिन्, ‘भोट माग्न आएको हो भने एकछिन राखेर यही खोले खुवाएर पठाऊँ भन्ने लागेको थियो, तपाईंहरू त बाहिरबाट आउनु भएको पाहुना हुनुहुँदो रहेछ !’

जबाफमा उनले भने, ‘कसका लागि हुनु नि हजुर ! आफ्नै लागि हो ।’

गणेशको छेउमै उनकी आमा बसिरहेकी थिइन् । नौलो मान्छे देखेकाले हुन सक्छ, उनले गणेशलाई सोधिन्, ‘भोट माग्न आएका हुन् कि के हो ?’

त्यसअघि हामीले गणेशलाई आफ्नो परिचय दिइसकेका थियौँ, तर श्रवण शक्ति कमजोर भएका कारण उनले हाम्रो परिचय सुन्न सकेकी रहिनछिन् ।

गणेशले ठुलो स्वरले आमालाई हाम्रोबारेमा सुनाएपछि ती वृद्धाले भनिन्, ‘भोट माग्न आएको हो भने एकछिन राखेर यही खोले खुवाएर पठाऊँ भन्ने लागेको थियो, तपाईंहरू त बाहिरबाट आउनु भएको पाहुना हुनुहुँदो रहेछ !’

गणेशको परिवारलाई देशको विकास, ठुला परियोजना, चिल्ला सडक, सिँचाइ सुविधाको तुलनामा बिरामी भएको समयमा सहज औषधोपचार, मेहनत गरेर सहजै छाक टार्न सक्ने अवस्थाको खाँचो छ । विगतका निर्वाचनमा विकास, सहज जीवनयापनको अपेक्षासहित भोट हालेको बताउने गणेशलाई अहिलेको निर्वाचनमा भोट दिने जाँगर छैन । ‘पहिला कति भोट हालियो, केही भएन,’ उनले भने, ‘अब भोट हालेर के होला र ?’

parbati

पार्वतीदेवी रोस्यारा भने शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा विस्थापित भएकी हुन् । उनीसँग न खेती गर्न जमिन छ, न त आम्दानीको भरपर्दो कुनै स्रोत छ ।

दैनिक मजदुरी गर्ने उनी प्लास्टिकले बेरेको एउटा छाप्रोमा रात कटाउँछिन् । दिउँसो मेहनत मजदुरीका लागि भौँतारिने गर्छिन् ।

काम पाएको दिन उनी आफ्नो पारिश्रमिकले थोरै चामल, केही तरकारी र अन्य आवश्यक वस्तु किनेर ल्याउँछिन् । काम नपाएको दिन उनी पनि खोले खाएरै छाक टार्ने बाध्यतामा हुन्छिन् ।

‘हामीसँग न घर छ, न जग्गा,’ उनले भनिन् । पहिला केही ऐलानी जग्गा रहेको र त्यही जग्गामा खेती गरेर गुजारा चल्दै आएको उनले सुनाइन् । आरक्ष विस्तारका क्रममा आफ्नो घर–जग्गाबाट विस्थापित भएपछि दुःखका दिन सुरु भएको उनले बताइन् ।

उनले भनिन्, ‘अहिले त हामी सुकुमबासी भयौँ, घर–जग्गा केही छैन ।’ अघिल्ला कैयौँ चुनावमा आफूहरूकहाँ उम्मेदवारहरू आएर बसोबासको व्यवस्था मिलाइदिने आश्वासन दिने गरेको उनले सुनाइन् ।

‘अहिले त पुराना पार्टीका कोही पनि हामीसँग भोट माग्न आएका छैनन्,’ पार्वतीले भनिन्, ‘भोट माग्न पनि कुन मुखले आउने ? पहिला बसोबासको व्यवस्था गरिदिन्छु भनेर भोट मागे, होला त भनेर हामीले भोट दियौँ । अहिलेसम्म हाम्रो यो अवस्था छ ।’

आफूहरूको सङ्घर्षमय जीवनलाई राजनीतिक दलहरूको भोटको खेती बनाएर राखेको पार्वतीको ठहर छ । उनी आसन्न निर्वाचनबाट पनि आफूहरूको समस्या समाधान हुनेमा विश्वस्त छैनन् । ‘यस्ता निर्वाचन कति आए, कति गए, हाम्रो अवस्थामा कुनै सुधार भएन । अब पनि के होला र ?’ उनले भनिन् ।

(कञ्चनपुरबाट फर्किएपछि)   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुदर्शन आचार्य
सुदर्शन आचार्य

आचार्य रातोपाटीका वरिष्ठ उपसम्पादक हुन् ।

लेखकबाट थप