रुकुम पश्चिमलाई देशकै नमूना बनाउने जनार्दन शर्माको उद्घोष
रुकुम पश्चिम । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार जनार्दन शर्माले रुकुमलाई विकास, सुशासन र समृद्धिको एउटा राष्ट्रिय नमूना बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । रुकुम पश्चिममा उज्यालो नेपाल पार्टीका उम्मेदवार नरेन्द्र केसीले आफूलाई समर्थन गर्न आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् ।
शुक्रबार बिहान पत्रकार सम्मेलन गर्दै केसीले शर्मालाई समर्थन गरेको घोषणा गरे । रुकुमको समग्र विकासमा टेवा पुर्याउन समर्थन गरेको उनको दाबी छ । एमालेले पनि शर्मालाई समर्थन गरिसकेको छ । प्रलोपाका शर्मा, नेपाली कांग्रेसका राजु केसी, नेपाली कम्युनिष्ट पार्टीका गोपाल शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाही निर्वाचनको मैदानमा रहेका छन् ।
नेता शर्माले जिल्लाको सर्वाङ्गीण विकासका लागि आफू स्पष्ट खाकासहित निर्वाचनमा होमिएको बताए । आफ्नो चुनावी एजेण्डाबारे प्रष्ट पार्दै शर्माले रुकुम पश्चिमलाई गरिबी र बेरोजगारीबाट मुक्त गराउने संकल्प दोहोर्याए । उनले आम मतदाताहरूलाई सम्बोधन गर्दै विकास र समृद्धिको पक्षमा उभिन आग्रह गरे ।
निर्वाचनको सरगर्मी बढिरहँदा नेता शर्माले आफूलाई कुनै एउटा दल विशेषको मात्र नभई सम्पूर्ण रुकुमेलीहरूको ‘साझा उम्मेदवार’ भएको बताए । विगतमा सबै राजनीतिक शक्तिहरूलाई समन्वय गरेर परिणाममुखी काम गरेको दाबी गरे । नेता शर्माले रुकुम पश्चिमको रूपान्तरणका लागि आफ्नो उम्मेदवारी अपरिहार्य रहेको जिकिर गर्दै मतदाताहरूलाई विकासको पक्षमा एकजुट हुन आग्रह गरे ।
रुकुमलाई आर्थिक रूपमा सम्पन्न र सामाजिक रूपमा न्यायपूर्ण बनाउने आफ्नो एजेण्डा नै जितको मुख्य आधार रहेको उनको ठहर छ । उनले भने, ‘मैले रुकुमलाई देशकै एउटा मोडल जिल्ला बनाउने दृष्टिकोण राखेको छु । हाम्रो लडाइँ गरिबी र बेरोजगारी विरुद्ध हो । सुशासन र सामाजिक न्याय सुनिश्चित गर्दै रुकुमको भविष्य उज्ज्वल बनाउनु नै मेरो मुख्य लक्ष्य हो । रुकुमको विकास र सामाजिक न्यायलाई जिताउनका लागि आगामी निर्वाचनमा ‘आँखा’ चिन्हमा मतदान गर्न म सम्पूर्ण मतदाता महानुभावहरूमा हार्दिक आह्वान गर्दछु ।’
यता, उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवार रहेका नरेन्द्र केसीले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मालाई समर्थन गर्ने घोषणा गरे । केसीले मतदाताहरुको सुझाव र रुकुमको वृहत्तर हितका लागि आफूले यो निर्णय लिएको बताए । केसीले रुकुमलाई समृद्ध बनाउने एजेण्डाहरु कुनै व्यक्ति विशेषको नभई साझा भएको स्पष्ट पारे । उनले अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरुलाई पनि शर्माको पक्षमा उभिन आह्वान गरे ।
उनले भने, ‘भोटरहरुले मेरो पार्टी र नेतृत्व ठिक भए पनि अहिलेको मतभारका कारण एजेण्डा कार्यान्वयन गर्न गाह्रो हुनसक्ने सुझाव दिनुभयो । उहाँहरुले एजेण्डा मिल्नेहरुसँग सहकार्य गर्न आग्रह गर्नुभयो । रुकुम पश्चिमको अहिलेका सबै उम्मेदवारहरुमा जनार्दन शर्मा सबैभन्दा बलियो, स्थापित र अनुभवी नेता हुनुहुन्छ । उहाँलाई साझा समर्थन गरेर सघाउनु नै अहिलेको आवश्यकता हो ।’
केसीले शर्मालाई ‘साझा नेतृत्व’ को रुपमा स्वीकार गर्दै रुकुमको विकासका लागि सबै शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण