१० बजे १० समाचार : सार्वजनिक ठाउँमा होली खेल्न प्रतिबन्धदेखि कार्कीलाई पदमुक्त गर्न अस्वीकारसम्म
काठमाडौँ । आज मिति २०८२ साल फागुन महिनाको १५ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–
१. रास्वपाको चुनावी सभा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले फागुन २१ मा हुने निर्वाचनमा प्रतिपक्षविहीन हुनेगरी मत दिन आग्रह गरे । शुक्रबार चितवनको गेस्ट हाउस चौरमा आयोजना गरेको ‘परिवर्तन उद्घोष’मा उनले पुराना पार्टीलाई सडकमा पुर्याउने गरी रास्वपालाई मत दिन आग्रह गरेका हुन् ।
‘यो पटक अन्य पार्टीले एक सिट पनि जित्नु हुँदैन । यता पनि रास्वपा, उता पनि रास्वपा । पूर्वाग्रह राखेर भनेको होइन, उहाँहरूले इतिहासमा गरेका योगदानको कदरस्वरुप पाँच वर्ष सडकको प्रतिपक्ष बनाउनुपर्छ’, उनले भने ।
२. कांग्रेसको चुनावी सभा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टीले सरकार बनाएर निवर्तमान सभापति शेरबहादुर देउवाको सम्पत्ति सबैभन्दा पहिले छानविन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । शुक्रवार पोखरामा आयोजित चुनावी सभामा बोल्दै उनले आफ्नो पार्टीले सरकार बनाए सबैभन्दा पहिला प्रधानमन्त्री भएका देउवा र मन्त्री भईसकेको आफ्नो सम्पत्ति छानविन गर्ने बताएका हुन् ।
३. ओलीको बोली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको बताएका छन् । मुलुकको सार्वभौम संसद्लाई ध्वंसको माध्यमबाट बललफ्ती विघटन गरिए पछि देश सङ्कटतर्फ धकेलिएको उनको भनाइ छ ।
४. प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सामान्य निर्वाचनका रूपमा लिन नहुने बताएका छन् ।
शुक्रबार काठमाडौँमा भएको नेकपा नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मुलुकमा अहिले दुई किसिमका अतिवाद रहेको भन्दै त्यसका विरुद्ध लड्न नेपाली कम्युनिस्ट पार्टी खडा भएको पनि बताए ।
५. आयोगको तयारी
निर्वाचन आयोगले यस पटक मतपेटिका सङ्कलनको समय घटाउने र मतदानकै दिन अर्थात फागुन २१ गते साँझदेखि नै मतगणना शुरु गर्ने योजना बनाएको छ । मतदाताको प्रतीक्षाको समय छोट्याउन आयोगले यस्तो रणनीति लिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।
६. सर्वोच्चको आदेश
सर्वोच्च अदालतले २०८२ भदौमा २३ र २४ मा भएको ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न अस्वीकार गरेको छ ।
अदालतले रिट खारेज गरे पनि कार्कीले नियुक्ति पूर्व दिएका अभिव्यक्तिले उनको निष्पक्षतामा प्रश्न उठाएको भन्दै उक्त पदमा बस्ने वा नबस्ने विषय उनको ‘व्यक्तिगत नैतिकता’ को विषय भएको ठहर गरेको छ ।
७. चुनावी हारजित
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको १७ वर्षमा १५ वटा सरकार बन्यो, तर कुनै पनि सरकारले पूरा कार्यकाल काम गर्न पाएन । यस अवधिमा १३ वटा जननिर्वाचित र दुई वटा गैरराजनीतिक सरकार बन्यो । भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धन सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले फागुन २१ गते निर्वाचान सम्पन्न गरी जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने तयारीमा छ ।
८. सार्वजनिक ऋण
तिर्न बाँकी सरकारी ऋण साढे २८ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत माघ मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुुसार चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण रु २६ खर्ब ७४ अर्ब चार करोड रहेकामा माघ मसान्तसम्ममा रु एक खर्ब ८४ अर्ब ९३ करोड थप वृद्धि भई कुल सार्वजनिक ऋण दायित्व रु २८ खर्ब ५८ अर्ब ९७ करोड पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ४६ दशमलव ८१ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
९. पाकिस्तान–अपगानिस्तान तनाव
पाकिस्तानले अफगानिस्तानको राजधानी काबुल र अन्य सहरहरूमा बमबारी गर्दै दर्जनौँ अफगान तालिवान लडाकुहरू मारेको दाबी गरेको छ। योसँगै पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले इस्लामाबादले अब ‘खुला युद्ध’ छेड्ने घोषणा गरेका छन्।
१०. होलीबारे
होलीको दिन काठमाडौँमा सार्वजनिक स्थान र खुला सडकमा भेला भएर होली पर्व मनाउन निषेध गरेको छ । फागुन १८ मा नेपालीहरूले मनाउन लागेको रङहरूको पर्व फागु पूर्णिमा (होली) बारे सूचना प्रकाशन गर्दै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक ठाउँमा होली खेल्न प्रतिबन्ध लगाइएको जानकारी दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण