झ्याप्पै अँगालो हाल्दै बालेनलाई रविको बधाई !
सारांश
- रास्वपाका सभापति रवि लामिछानेले निर्वाचनमा प्रतिपक्षविहीन बनाउन मत मागे।
- उनले पुराना पार्टीलाई सडकमा पुर्याउने गरी रास्वपालाई मत दिन आग्रह गरे।
- बालेन शाह, डा. स्वर्णिम वाग्ले लगायतका नेताहरूले आगामी निर्वाचनमा परिवर्तनको कुरा गरे।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले फागुन २१ मा हुने निर्वाचनमा प्रतिपक्षविहीन हुनेगरी मत दिन आग्रह गरे । शुक्रबार चितवनको गेस्ट हाउस चौरमा आयोजना गरेको ‘परिवर्तन उद्घोष’मा उनले पुराना पार्टीलाई सडकमा पुर्याउने गरी रास्वपालाई मत दिन आग्रह गरेका हुन् ।
‘यो पटक अन्य पार्टीले एक सिट पनि जित्नु हुँदैन । यता पनि रास्वपा, उता पनि रास्वपा । पूर्वाग्रह राखेर भनेको होइन, उहाँहरूले इतिहासमा गरेका योगदानको कदरस्वरुप पाँच वर्ष सडकको प्रतिपक्ष बनाउनुपर्छ’, उनले भने ।
मौन अवधि सुरु हुन तीन दिन बाँकी रहँदा रास्वपाले रविको निर्वाचन क्षेत्र रहेको चितवन–२ मा शक्ति प्रदर्शन गरेको हो । कार्यक्रममा पार्टीले भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), उपसभापति डा. स्वर्णिम वाग्ले, चितवन–१ का उम्मेदवार तथा सचिवालय सदस्य हरि ढकाल, चितवन–३ की उम्मेदवार तथा सचिवालय सदस्य सोविता गौतमलाई सँगै राखेर आसन्न निर्वाचनमा निलो क्रान्ति हुने उनले उद्घोष गरे । ‘निलो चितवन निलो क्रान्ति’को उद्गम जिल्ला भएकाले अब देशैभर परिवर्तनको घण्टी बज्ने उनले जिकिर गरे ।
सहकारी ठगी मुद्दामा नेपाली कांग्रेसका सभापति गगन थापाले प्रमाण छ भनेको ६५८ दिन बितिसक्दा समेत प्रमाण देखाउन नसकेको रविले जिकिर गरे । यसैगरी सहकारी ठगी मुद्दामा पुर्पक्षमा पठाउने अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा एक प्रहरी अधिकृतले राति शयन कक्षमा पुगेर अन्तिम इच्छा सोधेकोप्रति रविले आक्रोश पोखे । त्यो अन्तिम इच्छा फागुन २१ गते मत मार्फत देखाइदिन आम मतदातासँग उनले आग्रह गरे ।

‘म विरुद्ध प्रमाण छ भनेको ६५८ दिन भएछ । अन्तिम इच्छा सोधिएको पनि धेरै दिन भएछ । तेरो अन्तिम इच्छिा के हो भनेर बेडरुममा सोधेको मैले जवाफ दिएको थिइनँ’, उनले भने, ‘मेरो अन्तिम इच्छा के हो ? फागुन २१ गते भोटबाट देखाइदिनुहोला । यो मागी खाने देश होइन । यो गरिखाने देश हो । हामी सुशासनको मानक बनाउन चाहन्छौँ ।’
जेनजी विद्रोहका क्रममा तत्कालीन राज्य पक्षमा रहेका राजनीतिक दलका नेताहरूले पहिला देश जलेको र त्यसपछि गोली चलेको भाष्यलाई रविले खारेज गरे । कलिला निहत्था बालबालिकामाथि गोली ठोक्ने र देश जलाउने कांग्रेस र एमाले नै रहेको आरोप लगाए ।
त्यसअघि छोटो भाषण गरेका वरिष्ठ नेता बालेन शाहले देश नेपाली कांग्रेसको वाई वाई चाउचाउ फ्याक्ट्री चलेको जस्तै चल्नुपर्ने व्यंग्य गरे । अहिले देशको अवस्था देश हेटौँडा सिमेन्ट कारखाना जस्तै अलपत्र भएको बताएका थिए ।
‘हाम्रो देश हेटौँडा सिमेन्ट कारखाना जस्तै भएको छ । सबै सामान छन्, तर चल्दैन । हामीलाई चलाउने जिम्मा दिनुस्, हामी चलाउँछौँ,’ बालेनले भने ।
उनले चुनावी प्रचारप्रसारका क्रममा देशभरका समस्या उस्तै रहेका आफूले पाएको र अब निर्वाचनपछि बन्ने सरकारले ती समस्याको सम्बोधन गर्ने स्पष्ट पारे । कार्यक्रममा आएका समर्थकहरूले बालेनको पक्षमा हुटिङ गर्न थालेपछि ‘आइ लभ यु भन्न पनि दिँदैन यार’ भनेर बिट मारेका थिए ।

बालेनलाई रविले चितवनमा स्वागत गरेका थिए । ‘निलो क्रान्तिको उद्गम स्थल चितवनमा स्वागत छ,’ रविले भनेका थिए । मञ्चबाटै झापा–५ का उम्मेदवार रहेका बालेनलाई रविले अग्रिम बधाई दिएका थिए ।
‘चितवनबाट म झापा–५ का उम्मेदवारलाई बधाई दिन चाहन्छु । आउने दिनको परिकल्पना गर्दै बालेनजीलाई झ्याप्पै अंगालो हाल्छु । तपाईं झ्याप्पै घण्टीमा भोट हाल्छु’, रविले भने ।
कार्यक्रममा उपसभापति डा. स्वर्णिम वाग्लेले लामो समयदेखि कब्जा जमाएर बसेको भ्रष्ट नेतृत्व विस्थापन गर्न अहिलेको निर्वाचन जबर्जस्त जनमत भएको बताए ।
‘लामो समयदेखि कब्जा जमाएर बसेका भ्रष्ट नेतृत्व विस्थापन गर्न जबर्जस्त जनमत हो । यो पुस्ता अनैतिक राजनीतिले देशलाई कस्तो अवस्थामा पुर्याउन सक्छ भन्ने देखेको भोगेको र चेतेको पुस्ता हो । दलीय संयन्त्रलाई भातृ संगठनको नाममा राज्य दोहन गर्न लगाइयो’, उनले भने, ‘विश्वविद्यालय कब्जा गरियो । अस्पताल कब्जा गरियो । संघसंस्था कब्जा गरियो । राज्यको हरेक निकाय निकम्मा दलीय छायामा छ । आज म स्पष्ट भन्न चाहन्छु । यो लुटको खेती अब बन्द हुनेछ, बन्द हुनैपर्छ । दलीय सेन्डिकेट अब खारेज हुनैपर्छ ।’
वाग्लेले पुराना दलहरू फेरि त्यही संरचना बोकेर आएकाले परजीवीहरूको रजगज बन्द गर्दा साथ देशका आधा समस्या तुरुन्तै समाधान भएर जाने स्पष्ट पारे ।
कार्यक्रममा चितवन–१ का उम्मेदवार हरि ढकालले आसन्न निर्वाचन जनमत संग्रह भएको बताए । यो निर्वाचनमा १५१ सिट जितेर कानुन संशोधन गर्ने बताए ।
‘आसन्न निर्वाचन निर्वाचन मात्र होइन । यो जनमत संग्रह हो । यो ३५ वर्षको यथास्थितिको राजनीतिको जरो उखालिदिने जनमत संग्रह हो । ३५ वर्षमा ३१ वटा सरकार । ९/९ महिनामा सरकार बनाइराख्ने । तीन पटक, पाँच पटक एकै जना प्रधानमन्त्री बनिरहने । २०औँ पटक मन्त्री बनिरहने यथास्थिति शैलीलाई खारेज गरिदिने जनमत संग्रह हो’, उनले भने, ‘३५ वर्ष सदनमा सिर्जनात्मक बहस गर्नै नदिने, गाली गलौजको थलो बनाउने, सदन प्रधानमन्त्री बनाउने थलो खारेज गरिदिने जनमत संग्रह हो । त्यो सदन अब १५१ जनाले थाँती रहेको कानुन बनाउने छ । संशोधन गर्नुपर्ने धेरै कानुन निर्माण गर्नेछ ।’
यसैगरी चितवन–३ की उम्मेदवार सोविता गौतमले निर्वाचन लोकतन्त्रको सुन्दर अभ्यास भएको बताइन् । निर्वाचनले सही नेतृत्व छान्न नसके देशले दुःख पाउने गौतमले स्पष्ट पारिन् ।
‘निर्वाचन लोकतन्त्रको सुन्दर अभ्यास हो । यो निर्वाचनमा नागरिकले योग्न नेतृत्व छान्नुभयो भने देशले एउटा दिशा प्राप्त गर्छ । यदि सही नेतृत्व छनोट गर्न सकिएन भने देशले दिशा प्राप्ति होइन, दशा प्राप्त गर्छ । गएको धेरै निर्वाचनले नेपालीलाई कुन दशामा राखेका छ, त्यो भनिराख्न परेन’, उनले भनिन् ।
देशको भविष्य लेख्न रास्वपा आएको जिकिर गर्दै उनले फागुन २१ पछि एक युगको राजनीति अन्त्य हुने बताइन् ।
‘फागुन २१ गते एक राजनीतिक युगको अन्त्य गरेर अर्को राजनीतिक युगमा प्रवेश गर्ने निर्वाचन हो । भ्रष्टचारले लिप्त भएको समाजको अन्त्य गरी सुशासनयुक्त समाज निर्माण गर्ने निर्वाचन हो’, उनले भनिन्, ‘उज्यालो र अँध्यारो सँगै उभिन सक्दैन । भ्रष्टचारयुक्त नेतृत्वको अन्त्य गर्न युवा बालेनको नेतृत्वमा सरकार बन्छ । बल्ल यो देशको भविष्य हामीले लेख्नेछौँ । यो देशको भाग्य लेख्नेछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण