बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

रवि, बालेन र गगनको घोचपेच : डोरीले बाँध्ने कि कानुनले ?

शुक्रबार, १५ फागुन २०८२, १८ : ००
शुक्रबार, १५ फागुन २०८२

सारांश

  • निर्वाचन नजिकिँदै गर्दा, दलहरू मतदाता आकर्षित गर्न 'नयाँ र पुराना' को भाष्यमा केन्द्रित छन्।
  • रास्वपा र कांग्रेसका नेताहरूबीच आरोप प्रत्यारोप चलिरहेको छ, बालेन र गगन थापाको अभिव्यक्तिलाई लिएर।
  • एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावलाई देश बनाउने र जलाउने बीचको महासंग्रामको रूपमा व्याख्या गरेका छन्।

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सँघारमा छ । विशेष परिस्थितिमा हुन लागेको यो चुनावको नतिजा आफ्नो पक्षमा पार्न नयाँ–पुराना सबैजसो राजनीतिक दल र उम्मेदवारले प्रचार–प्रसार तीव्र तुल्याएका छन् ।

यो निर्वाचनमा जनतासँग मत माग्दा खासगरी प्रमुख राजनीतिक दलका नेताहरू मुलुकको राष्ट्रिय मुद्दामा केन्द्रित हुनुको साटो ‘नयाँ र पुराना’को भाष्य खडा गरेर मतदाता आकर्षित र विभाजित गर्ने होडबाजीमा लागेका छन् ।

जनतामाझ पुग्दा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेताहरू नयाँ भनिएका रास्वपा र तिनका नेताहरूलाई ‘पपुलिष्ट र चटके’को संज्ञा दिइरहेका छन् भने रास्वपाका नेताहरू पुरानालाई भ्रष्ट र असक्षम भन्दै ‘उनीहरूले देश विगारे हामीमात्र बनाउँछौँ’ भनेर दाबी गरिरहेका छन् ।

देशका विभिन्न स्थानमा भएका चुनावी भाषणमा नेताहरूले यस्तो भाष्य खडा गर्दा नेताहरूबिच घोचपेच र छेडखानी चलेको देखिन्छ । पछिल्लो एक सातामा यस्तो घोचपेचमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा–५ का उम्मेदवार बालेन्द्र शाह (बालेन), सोही पार्टीका सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा संलग्न देखिएका छन् ।

फागुन ७ गते रास्वपाले धनगढीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता बालेन्द्र शाहले पुराना पार्टीका सरकारले विकास निर्माणका काममा ढिलासुस्ती गर्ने गरेको भन्दै काम छिटो गर्नका लागि आफूहरूलाई मत दिन आग्रह गरे । उनले अब बन्ने आफ्नो नेतृत्वको सरकारले काम नगर्नेहरूलाई रुखमा बाँधेर वा खोरमा थुनेर भए पनि तीव्र विकास गर्ने आशयको अभिव्यक्ति दिएका थिए ।

रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेनको उक्त अभिव्यक्तिप्रति निर्माण व्यवसायीहरूले पत्रकार सम्मेलन गरेरै आपत्ति जनाएका बेला कांग्रेस सभापति गगन थापाले पनि बालेनलाई लगातारजसो जबाफ दिइरहेका छन् । थापाले काम छिटो गर्न कसैलाई बाँध्ने र थुन्ने उपयुक्त बाटो नभएको भन्दै कानुन फेर्न जरुरी रहेको स्मरण गराएका छन् ।

शुक्रबारमात्र रुपन्देहीमा भएको कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले नयाँका नारामा फस्दा ०६४ सालको परिणति हुन सक्ने चेतावनी पनि दिए । नयाँ नेपालको नाराकै भरमा तत्कालीन माओवादी २०६४ मा संसदको ठुलो दल बने पनि देशको पाँच वर्ष त्यसै खेर गएको टिप्पणी गर्दै थापाले अहिलेको रास्वपालाई तत्कालीन माओवादीसँग तुलना गरे ।

यसपटक पनि चुनावअघिको वातावरण त्यस्तै (नयाँ र पुराना) नाराबाट प्रभावित भएको थापाको भनाइ छ । ‘अहिले त्यस्तै भएको छ । पुराना र नयाँको नारा लागेको छ । पुरानाले बिगारे, हामी बनाउँछौँ भनेको छ,’ सभापति थापाले बालेनको अभिव्यक्तिलाई लक्षित गर्दै भने, ‘सडक बनेन, बाँधेर हुन्छ कि ठिंगुरा ठोकेर हुन्छ, टाइममा बनाउँछु भनेको सुनिन्छ ।’

थापाले समस्या पहिचान नगरी कसैलाई ठिंगुरा ठोक्दैमा काम हुन नसक्ने दाबी पनि गरे । ‘भैरहवामा प्लेन झरेन भने कसैलाई ठिंगुरा ठोकेर हुँदैन, नझर्ने कारणको खोजी गर्नुपर्छ, समस्याको निवारण गर्न सक्नुपर्छ’ थापाले भने, ‘भौतिक पूर्वाधार विकासको गति बढाउन ४१ वटा कानुन संशोधन गर्न जरुरी छ । कसैले भन्छ– ठेकदारलाई थुनेर भए पनि समयमा काम गराउँछु । व्यक्तिका कारण काम रोकिएका छैनन् । सिस्टममा सुधार नगरी विकासले गति लिने अवस्था छैन ।’

थापाले यसअघि पनि बालेको उक्त अभिव्यक्तिको प्रतिवाद गरेका थिए । थापाले प्रतिवाद गरेपछि रास्वपा सभापति रवि लामिछानेले बालेनको बचाउ गर्दै थापालाई कटाक्ष गरेका थिए ।

गत फागुन १२ सुनसरीको इटहरीमा रास्वपा कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले २० वर्ष सांसद भएको मान्छेलाई बल्ल कानुन फेर्ने ज्ञान पलाएको भनेर कटाक्ष गर्दै मुलुकमा अब विकास निर्माणको युग सुरु भइसकेको दाबी गरे ।

‘२०–२० वर्ष सांसद र मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउन १२–१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो तपाईंहरूलाई ? बल्ल ज्ञान आयो ? तपाईंको ज्ञान तपाईंसँगै राख्नुहोला,’ लामिछानेको भनाइ थियो ।

लामिछानेले निर्माण व्यवसायीहरूले जनाएको आपत्तिलाई सामान्यीकरण गर्दै भने, ‘निर्माण व्यवसायीहरू आत्तिनु पर्दैन । अब देश विकास निर्माणको बाटोमा अगाडि बढ्यो । बाँध्ने भनेको कानुनले बाँध्ने भनेको हो, डोरीले बाँध्ने भनेको होइन । कानुनअनुसार काम गरे कसैले केही गर्दैन ।’

रवि, बालेन र गगनमात्र होइन, चुनावको सँघारमा एमाले पनि यस्तो घोचपेच र आरोप–प्रत्यारोपमा कम देखिएको छैन । एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ को चुनावलाई देश जलाउने र देश बनाउनेबिचको महासङ्ग्राम भएको बताउँदै आएका छन् । सभा–सम्मेलन होस् वा घरदैलोमा पुगेर मत माग्ने क्रममा नै किन नहोस्, ओलीले प्रायजसो भन्ने गरेका छन्– ‘यसपटक जलाउने र बनाउनेहरू बिचको चुनाव हो । देश बनाउने, बचाउने कि देश जलाउनेका बिचको चुनाव हो । हामीले जलाउने खालकालाई, बिगार्ने खालकालाई भोट दिनुहुन्न ।’

जिम्मेवार नेताहरूका अभिव्यक्ति सुन्दा नेपाली राजनीतिक वृत्तमा एजेन्डा र विकासका मुद्दाभन्दा पनि धेरै ‘प्रतिशोध’ को भाषा र झल्को हावी हुन थालेको प्रस्टै बुझ्न सकिन्छ । दशकौँदेखि सत्ता राजनीतिमा रजगज गरेका पुराना दल र नयाँ वैकल्पिक शक्तिका रूपमा उदाएका भनिएका दलहरूबिचको यस्तो प्रतिस्पर्धा स्वस्थ राजनीतिक बहसभन्दा पनि ‘अस्तित्वको लडाइँ’का लागिमात्र भइरहेको बुझ्न सकिन्छ ।

चुनाव अघिसम्म यस्ता घोचपेच र छेडखानीलाई सामान्य रूपमा लिन सकिए पनि चुनावपछि पनि राजनीतिक प्रतिशोधको यस्तो शृङ्खला नरोकिए नेपाल र नेपालीको भविष्य थप अन्धकारतर्फ धकेलिने त होइन भन्ने गम्भीर चिन्ता र चासो बढ्न पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप