बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

दावा लामालाई प्रश्न– सुरेन्द्र पाण्डेले नपाएको टिकट तपाईंले पाउनुभयो, कसरी जित्नुहुन्छ ?

शनिबार, १६ फागुन २०८२, १४ : ४८
शनिबार, १६ फागुन २०८२

सारांश

  • चितवन क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार दावा लामा तामाङले चुनावी अभियान सुरु गरेका छन्।
  • उनले घरदैलो कार्यक्रमलाई तीव्रता दिँदै मतदाताहरूसँग भेटघाट र आफ्ना प्रतिबद्धताहरू प्रस्तुत गरिरहेका छन्।
  • उनले विकास निर्माण, कानुन निर्माण र पर्यटन प्रवर्द्धनका योजनाहरू अघि सारेका छन् र जित सुनिश्चित रहेको दाबी गरेका छन्।

प्रतिनिधि सभा निर्वाचनमा एउटा चासोको क्षेत्र हो– चितवन क्षेत्र नम्बर १ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्रका रूपमा चिनिएको यहाँ यसपटक पाण्डेले टिकट पाएनन् । उनको सट्टा दावा लामा तामाङलाई एमालेले चुनावी मैदानमा उतारेको छ ।

उनीसँग चुनावी अभियान, विकासका एजेन्डा, मतदाताको मनोविज्ञान र सुरेन्द्र पाण्डेसँगको सम्बन्धका बारेमा संक्षिप्त कुराकानी गरेका छौँ ।

  • तपाईं अहिले चुनावी क्याम्पियनको दौडधुपमा हुनुहुन्छ । चितवन क्षेत्र नम्बर १ मा नेकपा एमालेको तर्फबाट उम्मेदवार भइरहँदा चुनावी अभियान कसरी अघि बढिरहेको छ ?

अहिले हामी पूर्ण रूपमा चुनावी अभियानमा होमिएका छौँ । मुख्यगरी घरदैलो कार्यक्रमलाई तीव्रता दिइरहेका छौँ । मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गर्ने, उहाँहरूको गुनासो सुन्ने र आफ्ना प्रतिबद्धताहरू राख्ने काममा नै म अहिले व्यस्त छु । समय छोटो छ, तर हाम्रो उत्साह उच्च छ ।

  • कहाँ–कहाँ पुग्नुभयो, मतदाताको कस्तो प्रतिक्रिया पाउनुभयो ?

हो, यो क्षेत्र निकै ठुलो छ । अहिलेसम्म धेरैजसो वडामा घरदैलो गरिसकेको छु, तर यथार्थ के हो भने सबै वडाको हरेक घरमा पुग्न सकिएको छैन । त्यसैले हामीले रणनीतिक रूपमा पनि केही परिवर्तन गरेका छौँ । घर–घरमै पुग्न नसकिएका ठाउँहरूमा टोल–टोलमा भेला बोलाउने, सामूहिक छलफल गर्ने र उहाँहरूको गुनासो सुन्ने अनि आफ्ना कुरा राख्ने योजना बनाएका छौँ । सकेसम्म धेरै मतदातासँग प्रत्यक्ष संवाद गर्ने मेरो प्रयास रहिरहनेछ ।

  • अहिले देशव्यापी रूपमा हेर्दा सामाजिक सञ्जालमा पुराना दल र विशेषगरी एमालेप्रति केही आक्रोश वा आलोचना देखिन्छ, तर तपाईं फिल्डमै हुनुहुन्छ, मतदाताहरूको वास्तविक प्रतिक्रियाचाहिँ कस्तो पाउनुभएको छ ?

सामाजिक सञ्जाल र धरातलीय यथार्थमा धेरै फरक छ । सामाजिक सञ्जालमा एकथरी मानिसहरू योजनाबद्ध रूपमै फेक न्युज फैलाउने र भ्रम सिर्जना गर्ने काममा सक्रिय छन् । उनीहरूले एमाले र हाम्रा उम्मेदवारहरूप्रति नकारात्मक भाष्य निर्माण गर्न खोजेका छन्, तर यसले जमिनमा रहेका वास्तविक मतदातालाई असर गरेको छैन । जनताले भ्रम र यथार्थ राम्रोसँग बुझेका छन् ।

म जति जनताको बिचमा गएको छु, त्यति नै उत्साहित भएको छु । मतदाताहरूको प्रतिक्रिया सुन्दा उहाँहरूको नेकपा एमाले र मप्रति गहिरो विश्वास र आत्मीयता रहेको पाएको छु । उहाँहरूको भनाइ स्पष्ट छ– हामी तपाईंलाई चिन्छौँ, तपाईं हाम्रै घरदैलोको मान्छे हो, भोट तपाईंलाई नै दिने हो ।

तर, उहाँहरूको एउटा खबरदारी पनि छ । उहाँहरू भन्नुहुन्छ, ‘जितेर गएपछि फर्केर गाउँ नआउने प्रवृत्ति नहोस् । हिजोका दिनमा जस्तो काठमाडौँमात्रै बस्ने काम नहोस् ।’

उहाँहरूको यो सुझावलाई मैले शिरोपर गरेको छु । मतदाताले विकास निर्माणमा भएका ढिलासुस्ती र आफ्ना स्थानीय समस्याहरू जस्तैः बाटो पिच, खानेपानी, कल्भर्ट आदिबारे खुलेर कुरा राख्नुभएको छ । यी गुनासा स्वाभाविक हुन् र यसलाई सम्बोधन गर्ने प्रतिबद्धता मैले जनाएको छु ।

  • प्रतिनिधि सभा सदस्यको मुख्य काम कानुन निर्माण हो, तर तपाईंहरू विकास निर्माणका आश्वासन बढी बाँडिरहनुभएको छ भन्ने आरोप पनि लाग्छ । कानुन निर्माण र विकास निर्माणबिचको तालमेललाई कसरी हेर्नुहुन्छ ?

यो एकदमै महत्त्वपूर्ण प्रश्न हो । सैद्धान्तिक रूपमा सांसदको मुख्य काम नीति तथा कानुन निर्माण नै हो । सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र जनपक्षीय ऐनहरू बनाउन सांसदको भूमिका अहम हुन्छ । तर, नेपालको सन्दर्भमा जनताका आधारभूत आवश्यकताहरू अझै पूरा भएका छैनन् । त्यसैले जनप्रतिनिधिले विकास निर्माणबाट भाग्न मिल्दैन ।

कानुन निर्माण गर्दा पनि हामीले तल्लो वर्ग, उत्पीडित समुदाय र गरिब जनताको हित हुने गरी नीति बनाउनुपर्छ । स्वदेशमै रोजगारी सिर्जना गर्ने, राष्ट्रिय पुँजीको संरक्षण गर्ने र युवाहरूलाई विदेश पलायन हुनबाट रोक्ने खालका नीति आवश्यक छन् । सँगसँगै, म जनताको बिचमा जाँदा उहाँहरूले आफ्नो टोलको बाटो, सिँचाइ, तटबन्ध जस्ता प्रत्यक्ष सरोकारका विषय उठाउनुहुन्छ । ती समस्या समाधान गर्न पहल गर्नु मेरो दायित्व हो । त्यसैले मैले नीति निर्माण र विकास निर्माणलाई सँगसँगै लैजाने छु । कानुन निर्माण गरेर प्रणाली सुधार गर्ने र विकास निर्माणमार्फत जनताको जीवनस्तर उकास्ने मेरो योजना हो ।

  • पूर्वी चितवनमा बाढी र वन्यजन्तुको समस्या पुरानो हो । विगतमा तपाईंले गरेका काम र अबका योजना के छन् ?

चितवनको यो क्षेत्रले विगतमा ठुला प्राकृतिक विपत्तिहरू भोगेको छ । २०५० र २०५९ सालको बाढी होस् वा २०७२ को भूकम्प, हरेक विपत्तिमा एमाले र हामी जनप्रतिनिधिहरू जनताको साथमा छौँ । विगतमा बाढीको उच्च जोखिममा रहेको यो क्षेत्रमा मेरो र पार्टीको पहलमा लोथरदेखि सौराहासम्म तटबन्ध निर्माण गरियो । त्यसले गर्दा आज यहाँका जनता सुरक्षित महसुस गरेर कृषि, पशुपालन र व्यवसायमा लाग्न सक्नुभएको छ ।

तर, अहिलेको मुख्य समस्या भनेको मानव–वन्यजन्तु द्वन्द्व हो । निकुञ्जसँग जोडिएको बस्ती भएकाले यहाँ गैंडा, हात्ती, बँदेल, चित्तलजस्ता जनावरले बालीनाली नष्ट गर्ने र जनधनको क्षति पु¥याउने गरेका छन् । किसानले दुःख गरेर फलाएको बाली भित्र्याउने बेला जनावरले खाइदिने समस्या विकराल छ । यसको समाधानका लागि मैले २०७४ सालमै कंक्रिट वालको अवधारणा अघि सारेको थिएँ । अहिले लोथरदेखि बद्रिनीसम्मको धेरै भागमा पर्खाल निर्माण भइसकेको छ र बाँकी ठाउँमा पनि यो काम सम्पन्न गर्ने मेरो प्राथमिकता छ । जनतालाई सुरक्षित महसुस गराउनु मेरो पहिलो कर्तव्य हुनेछ ।

  • यो क्षेत्रलाई राष्ट्रिय राजनीतिमा सुरेन्द्र पाण्डेको क्षेत्र भनेर चिनिन्थ्यो । अहिले उहाँ उम्मेदवार हुनुहुन्न । उहाँलाई पेलिएको र पार्टीभित्र अन्तर्घात हुने सम्भावनाबारे समेत चर्चा छ नि ?

यो विषयमा बजारमा धेरै गलत भाष्य निर्माण गर्न खोजिएको छ, जुन सत्य होइन । सुरेन्द्र पाण्डे हाम्रो पार्टीको उपाध्यक्ष र सम्मानित नेता हुनुहुन्छ । उहाँले यहाँ अर्थमन्त्री र सांसद भएर धेरै ठुला कामहरू गर्नुभएको छ । उहाँको योगदानलाई हामी कदर गर्छौं ।

उम्मेदवारी चयनको प्रक्रिया चलिरहँदा मैले उहाँलाई फोन गरेरै ‘कमरेड, तपाईं नै उठ्नुपर्छ’ भनेर आग्रह गरेको थिएँ । तर उहाँले नै ‘अहिले म उठ्दिनँ, म पार्टीको काममा नेपालगन्जमा छु । अहिलेको परिस्थितिमा जो लोकप्रिय छ र जसले चुनाव जित्न सक्छ, उसैलाई सिफारिस गर्नुस्’ भनेर स्पष्ट निर्देशन दिनुभयो ।

उहाँले स्वेच्छिक रूपमा नै विश्राम लिनुभएको हो । अहिले उहाँ मेरो चुनावी कमान्डर हुनुहुन्छ । उहाँले ठाउँ–ठाउँमा फोन गरेर कार्यकर्ता परिचालन गरिरहनुभएको छ । उहाँको पूर्ण साथ र समर्थन मलाई छ । हिजो हामी उहाँलाई बोकेर हिँड्थ्यौँ, आज उहाँले मलाई बोकेर हिँड्नुभएको छ । त्यसैले एमाले भित्र कुनै विवाद छैन, हामी एकढिक्का छौँ ।

  • यहाँको भावी योजना, विशेषगरी पर्यटन र समृद्धिका विषयमा के सोच्नुभएको छ ?

म २०५४ सालमा जिविस सदस्य हुँदाखेरी नै हामीले चितवनको गुरुयोजना बनाएका थियौँ । अबको मेरो योजना भनेको चितवनलाई देशकै प्रमुख पर्यटकीय गन्तव्य बनाउने हो । अहिले सौराहामात्र पर्यटकीय केन्द्र छ । अब यसलाई विस्तार गरेर रत्ननगर, खैरहनी र राप्तीसहित पहाडी भूभागलाई पनि पर्यटनसँग जोड्नुपर्छ । पहाडका डाँडाहरूमा रिसोर्ट र हिल स्टेसनहरू बनाउने, कृषिलाई आधुनिकीकरण गर्ने र उत्पादनलाई पर्यटनसँग जोड्ने मेरो योजना छ । समृद्ध र सुखी चितवन निर्माणका लागि मसँग स्पष्ट खाका छ ।

  • तपाईंको मुख्य प्रतिस्पर्धी को हो र जित्ने आधार के देख्नुहुन्छ ?

इमानदारीपूर्वक भन्नुपर्दा, म नेकपा एमालेसँग कसैको मुख्य प्रतिस्पर्धा देख्दिनँ । एमाले यहाँको पहिलो र सबैभन्दा बलियो शक्ति हो । हाम्रो संगठन, विगतका काम र जनताको विश्वास नै हाम्रो जितको आधार हो । हामी पहिलो हुन्छौँ र फराकिलो मतान्तरले जित्छौँ ।

प्रतिस्पर्धा त दोस्रो स्थानका लागि मात्र हुनेछ । दोस्रो हुनका लागि नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी वा अन्य दलहरूबिच कडा टक्कर हुन सक्छ । तर, एमालेको जित सुनिश्चित छ । सूर्य चिह्नमा मतदान गर्न जनता आतुर हुनुहुन्छ । मतदाताको त्यो विश्वासलाई म कहिल्यै टुट्न दिने छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप