शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
प्रतिनिधि सभा निर्वाचन

चुनावका लागि गाउँ फर्किनेको लर्को, कस्तो छ सडकको अवस्था ?

सोमबार, १८ फागुन २०८२, ११ : ४८
सोमबार, १८ फागुन २०८२

सारांश

  • काठमाडौं उपत्यकाबाट होली र निर्वाचनका लागि करिब ८ लाख मानिस गाउँ फर्किने अनुमान गरिएको छ ।
  • यातायात व्यवस्था विभागले सडक यातायात चुस्त बनाउन सेना र स्कुलका बस प्रयोग गर्ने जनाएको छ ।
  • निर्वाचनको समयमा सडक मर्मत र खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ, तर यात्रुहरूले जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ।

काठमाडौँ । काठमाडौँ उपत्यकामा अस्थायी बसोबास गर्ने करिब ८ लाख मानिस होली पर्व र बिहीबारको निर्वाचनका लागि गाउँ फर्किने अनुमान गरिएको छ । जसअनुसार केही दिनयता गाउँ फर्किनेको लर्को लाग्न थालिसकेको छ । 

यस चापलाई मध्यनजर गर्दै यातायात व्यवस्था विभागले सडक यातायात चुस्त–दुरुस्त पार्ने र आवश्यक परेको खण्डमा नेपाली सेना तथा स्कुल, कलेजका बससमेत सञ्चालन गर्ने जनाएको छ । 

यद्यपि, प्रमुख राजमार्गहरू निर्माणाधीन अवस्थामै रहेका कारण यात्रुहरूले कतिपय स्थानमा धुलो र जोखिमपूर्ण यात्राको सामना गर्नुपर्ने अवस्था छ । सडक विभागले भने आफ्ना मातहतका सडकहरूमा मर्मत सम्भार तीव्र पारिएको बताएको छ ।

निर्वाचनको समयमा सडकमा सवारी साधन र यात्रुहरूको चाप बढ्ने भएकाले यातायात व्यवसायीले सडकको अवस्था सुधार्न गत माघमै आग्रह गरेका थिए । सोहीबेला सडक विभागले सडक यातायात सहज बनाउन भन्दै एक महिना अघि नै सडकका खाल्डाखुल्डी पुर्न तथा मर्मत सम्भार गर्न विभाग मातहत देशभरका कार्यालयमा सर्कुलर जारी गरेको थियो । 

  • ‘विभाग मातहतका सडक खाल्डाखुल्डीरहित छन्’

विभागका सूचना अधिकारी श्यामबहादुर खड्काले विभागअन्तर्गतका राजमार्ग, सहायक मार्ग तथा सबै सडक मर्मत सम्भार गरी चुस्त–दुरुस्त पारेको बताए । 

‘जहाँ–जहाँ खाल्डाखुल्डी छन्, त्यहाँ हाम्रो नियमित कार्यतालिका अनुसार नै मर्मत सम्भार भइरहेको छ,’ खड्काले भने । निर्वाचनलाई केन्द्रित गरी मानिसहरू गाउँ जाने क्रम बढेकाले यसपटक मर्मत कार्यलाई थप प्रभावकारी बनाएको उनको भनाइ छ ।

‘हाम्रो कार्यक्षेत्रभित्र पर्ने सडकहरूमा हामीले निरन्तर मेन्टेनेन्सको काम गरिरहेका छौँ, तर कतिपय गाउँ–गाउँ जोड्ने सडकहरू हाम्रो क्षेत्राधिकार भन्दा बाहिर हुने भएकाले ती सडकको मर्मतमा हाम्रो संलग्नता रहँदैन,’ उनले थपे ।

यातायात व्यवसायीहरूले भने निर्वाचनको समयमा सडकका खाल्डाखुल्डीका कारण यात्रा जोखिमपूर्ण हुने भन्दै सरकारलाई चाँडो मर्मत सक्न दबाब दिँदै आएका थिए । विभागले भने आफ्ना मातहतका सडकहरूमा काम भइरहेको र यात्रुहरूलाई सहजता प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

  • कुन सडकको अवस्था कस्तो छ ? 

देशका अधिकांश प्रमुख राजमार्ग मर्मत, विस्तार तथा स्तरोन्नतिको प्रक्रियामा छन् । बीपी राजमार्ग, कान्ति राजमार्ग, पूर्वपश्चिम राजमार्ग, उत्तरदक्षिण जोड्ने देशभरका राजमार्गमा मर्मत, विस्तार तथा स्तरोन्नतिको काम भइरहेको छ ।

सरकारले समयमा सडक निर्माण सम्पन्न गर्न नसक्नु र समयमा मर्मत सम्भार नगर्नुलाई सडक दुर्घटनाको प्रमुख कारक समेत मान्ने गरिएको छ ।

काठमाडौँदेखि पूर्वी पहाडी तथा मध्य हिमाली जिल्ला जोड्ने प्रमुख राजमार्ग अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल खण्ड यतिबेला विस्तारका क्रममा छ । यो राजमार्ग अन्तर्गतको सूर्यविनायक–धुलिखेल सडक विस्तारका क्रममा रहेकाले यात्रुले धुलोको सास्ती भोग्नु परेको छ । 

१६ किलोमिटर लामो खण्डलाई दुई भागमा विभाजन गरेर विस्तार भइरहेको छ । निर्धारित समयमा निर्माण सम्पन्न नभएपछि यसको म्याद थपिएको छ । सूर्यविनायक–साँगा खण्डको प्रगति ४८ प्रतिशत पुगेको छ । साँगा–धुलिखेल खण्डको प्रगति ६५ प्रतिशत पुगेको छ ।

यस्तै पूर्वी पहाडी जिल्लालाई काठमाडौँसँग जोड्ने बीपी राजमार्ग २०८१ को असोजमा अविरल वर्षाले क्षतिग्रस्त भएको थियो । हाल अस्थायी डाइभर्सन बनाएर सञ्चालनमा आएको यो राजमार्गबाट पनि यात्रुहरूले सास्तीपूर्वक यात्रा गर्नुपर्ने अवस्था छ । बाढीले क्षतिग्रस्त २९ किलोमिटर खण्डमध्ये जाइकाले ३.२२ किलोमिटर पुनर्निर्माण गर्नेछ भने बाँकी खण्डमा ठेक्का लागेर पुनर्निर्माण कार्य अघि बढिसकेको छ । यस सडकको भौतिक प्रगति हालसम्म करिब २४ प्रतिशत भएको छ ।

काठमाडौँलाई तराईसँग जोड्ने कान्ति लोकपथ पनि अघिल्लो वर्षको असोजमा आएको बाढीले क्षतिग्रस्त भएपछि पुनर्निर्माण सुरु भएको छ । 

नागढुंगा–मुग्लिन सडकलाई काठमाडौँको लाइफलाइन मानिन्छ । विभिन्न खण्डमा विभाजन गरी यो सडक पनि विस्तार भइरहेको छ । यसका केही खण्डको काम अन्तिम चरणमा पुगेको छ भने केहीमा आधा काम सम्पन्न भएको छ । 

नागढुंगा–नौबिसे खण्ड अन्तिम चरणमा पुगेको आयोजना प्रमुख केशवप्रसाद ओझाले जानकारी दिए । यस्तै यो खण्डमा पर्ने झ्याप्ले खोलाको पहिरो नियन्त्रणको काम अन्तिम चरणमा पुगेको छ । दोस्रो तहको कालोपत्र सकिएको र तेस्रो तहको कालोपत्र गर्ने क्रममा रहेको जनाइएको छ । चुनावपछि मात्र यो खण्डमा तेस्रो तहको कालोपत्र सम्पन्न हुने भएको छ ।

यसैगरी नौबिसे–मलेखु र मलेखु–मुग्लिन खण्ड पनि विस्तारका क्रममा छ । सडक विस्तारका क्रममा रहे पनि चुनावलाई लक्षित गरेर मर्मत सम्भार गर्ने, खाल्डाखुल्डी पुर्ने कार्य भने सबै खण्डको सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । 

यस खण्डमा यातायात सञ्चालनका लागि कुनै अवरोध नरहेको आयोजनाले जनाएको छ । 

मुग्लिन–पोखरा र मुग्लिन–नारायणगढ सडक पनि लामो समयदेखि विस्तारको क्रममा छन् । यी दुवै सडकमा यातायात सहज बनाउन खाल्डाखुल्डी पुर्ने र मर्मत गर्ने कार्य सकिएको सडक विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप