शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

अस्पताल स्थापनाको ३३ वर्षसम्म ४३ लाख नागरिकलाई सेवा

मङ्गलबार, १९ फागुन २०८२, ०५ : ३४
मङ्गलबार, १९ फागुन २०८२

सारांश

  • नेपाल नेत्रज्योति सङ्घको हिमालय आँखा अस्पतालले ३३ वर्षमा ४३ लाख नागरिकलाई सेवा दियो।
  • अस्पतालका अनुसार २०२५ मा २ लाख ४७ हजार भन्दा बढीले सेवा लिए, १५ हजार शल्यक्रिया भए।
  • अस्पतालले गण्डकी र कर्णालीमा २७ उपचार केन्द्र र २ सहायक अस्पतालबाट सेवा दिइरहेको छ।

गण्डकी । पोखरा महानगरपालिका–१७ घारीपाटनस्थित नेपाल नेत्रज्योति सङ्घ, हिमालय आँखा अस्पतालले आफ्नो स्थापनाको ३३औँ वर्षमा आइपुग्दा ४३ लाख नागरिकलाई सेवा प्रदान गरेको जनाएको छ ।

अस्पतालको ३३औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा बबिता गुरुङले २०४९ सालमा स्थापित अस्पतालले हालसम्म ४३ लाख नागरिकको जीवनमा उज्यालो छरेको जानकारी दिइन् । उनका अनुसार अस्पतालमा सन् २०२५ मा मात्रै दुई लाख ४७ हजार ५८५ जनाले सेवा लिएका छन् भने १५ हजार ८४१ जनाको शल्यक्रिया गरिएको छ ।

अस्पताल व्यवस्थापन समिति अध्यक्ष वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले ३९ कर्मचारीबाट सुरु भएको अस्पतालमा हाल १२५ जना नेपाली दक्ष जनशक्ति कार्यरत रहेका जानकारी दिए । उनका अनुसार अस्पतालले हाल गण्डकी र कर्णालीमा २७ वटा उपचार केन्द्र र दुई वटा सहायक अस्पतालमार्फत सेवा दिइरहेको छ ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अस्पतालको भौतिक विकासमा महानगरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै यसलाई स्वास्थ्य पर्यटनसँग जोड्नुपर्ने बताए ।

नेत्रज्योति सङ्घका केन्द्रीय अध्यक्ष प्रा डा चेतराज पन्तले पूर्वाधार विकासमा सरकारको सहयोग आवश्यक भएको बताए । सङ्घका उपाध्यक्ष प्रा डा दिलबहादुर क्षेत्री, महासचिव भरतबहादुर चन्दलगायतले अस्पतालको सेवा विस्तारलगायतका विषयमा जानकारी गराए ।

कार्यक्रममा उत्कृष्ट कर्मचारीका रूपमा डा अनिल पराजुली, अनुप सुवेदी, उमा सुनुवार र विकल श्रेष्ठलाई सम्मान गरिएको थियो । त्यस्तै विभागतर्फ जनरल ओपिडी भिजन एण्ड रिफ्र्याक्सन युनिटलाई पुरस्कृत गरिएको थियो ।

अस्पतालमा लामो समय योगदान दिने कर्मचारी गोविन्दनाथ योगी, मन्जु आचार्य, गोविन्दराज बडू, विजय पौडेल, शशिकमला लामिछाने, तेजबहादुर गुरुङ, रीना गुरुङ, धर्मेन्द्रकुमार घोडासैनी, रुपसिंह बोहोरा, दीप गुरुङ, तस्बिरन मियाँ, दीपिका गुरुङ र दीपा शाहीलाई पनि सम्मान गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप