शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

शिशिर भन्छन्, ‘विजय र्‍याली र सिन्दुर जात्रा गर्दिनँ, अब काममा लाग्ने हो’

शनिबार, २३ फागुन २०८२, १३ : ०७
शनिबार, २३ फागुन २०८२

सारांश

  • काठमाडौं निर्वाचन क्षेत्र नं. ६ मा रास्वपाका शिशिर खनाल भारी मतान्तरले विजयी भए।
  • खनालले विजय उत्सव, र्‍याली र सिन्दुर जात्रा नगर्ने घोषणा गर्दै देशको रुपान्तरणमा लाग्ने बताए।
  • उनले मतदातालाई धन्यवाद दिँदै सुशासन र समृद्धिका लागि काम गर्ने प्रतिबद्धता जनाए।

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल भारी मतान्तरसहित विजयी भएका छन्। उनले नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई ठूलो अन्तरले पछि पार्दै सानदार जित निकालेका हुन्। 

अन्तिम मतपरिणाम अनुसार खनालले २७ हजार ७१९ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सबुज बानियाँले ६ हजार ६४७ मत पाए भने एमालेका अमन मास्केले ४ हजार ३७३ मतमै चित्त बुझाए।

अभूतपूर्व र ऐतिहासिक जित निकालेपछि भिडियो सन्देशमार्फत मतदातालाई धन्यवाद दिँदै शिशिरले कुनै पनि विजय उत्सव, र्‍याली र सिन्दुर जात्रा नगर्ने घोषणा गरेका छन्। देश विशेष परिस्थितिमा रहेको भन्दै उनले अब उत्सव मनाउने भन्दा पनि काममा लाग्नुपर्ने बेला आएको बताए। 

रास्वपाका सभापति रवि लामिछाने र बालेन्द्र शाहको स्पष्ट निर्देशनअनुसार देशको रुपान्तरण, सुशासन र समृद्धिका लागि एक दिन पनि खेर नफाली काम गर्नुपर्ने भएकाले अबिर जात्रा र विजय र्‍याली नगर्ने उनले प्रष्ट पारेका छन्।

विजय र्‍याली नगरे पनि आफूलाई निर्वाचित गराउने मतदाताको घरदैलो र टोलटोलमा भने उनी पुग्नेछन्। तर, घरदैलोमा जाँदा आफूलाई खादा, माला र टिका नलगाइदिन उनले अनुरोध गरेका छन्। एकदमै सामान्य ढंगले जनताको माझमा पुगेर उनीहरूका गुनासो र समस्या संकलन गर्ने उनको योजना छ।

विगतमा सुशासन र भ्रष्टाचारको विरोधमा उत्रिँदा ज्यान गुमाउने युवाहरूलाई स्मरण गर्दै उनले यो निर्वाचन परिणामलाई परिवर्तनको पक्षमा युवाहरूले गरेको हस्तक्षेपका रुपमा अर्थ्याएका छन्। 

आफूहरूसँग समय धेरै नभएको र छोटो समयमै नतिजा दिनुपर्ने चुनौती रहेको भन्दै उनले देशको अर्थतन्त्र विकास गर्ने र विदेशिएका युवालाई नेपाल फर्काउने आम चाहनालाई साकार पार्न रातदिन खटिने प्रतिबद्धतासमेत जनाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप